प्रजातन्त्र खोसिएको दिन

सन्दर्भ पुस १

बीपीका साथी जो बने महेन्द्रका सत्तासारथि

महेन्द्र क्लासमा रोल नं. १, २ र ३ भए बीपीका महामन्त्री तुलसी, विश्वबन्धु र हृषीकेश

विनोद सिजापती |
पुस १, २०७७ १०:४४ बजे

‘तिमीले थाहा पायौ ?’

२०१७ पुस १ को एकाबिहानै एउटी परिचित अमेरिकी महिला पत्रकारले टेलिफोन गरेर समाचार सुनाइन्, ‘तिम्रो मुलुकमा त राजाले सत्ता आफ्नो हातमा लिएछन् नि ?’


जतिबेला संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधि मण्डलमा सामेल हुँदै अमेरिकामा थिए, विश्वबन्धु थापा । यता राजा महेन्द्रले संसदीय व्यवस्था र निर्वाचित सरकार विघटन गरेका थिए । उनी विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक थिए । अमेरिकामा रहँदै उनी विघटित प्रतिनिधिसभाका पूर्वप्रमुख सचेतकमा रूपान्तरित भइसकेका थिए ।

उनलाई ती महिलाको सूचनामूलक प्रश्नले झस्कायो । मुलुकमा भइरहेको यति ठूलो राजनीतिक घटनाका विषयमा कसैलाई अत्तोपत्तो थिएन । न्युयोर्कबाट काठमाडौंमा सम्पर्क कायम गर्न कठिन थियो । नेपालको राजनीतिक घटना जान्ने व्यग्रता थियो । तर जतिसुकै अभिरुचि राखे पनि ताजा समाचार पाइरहन सम्भव थिएन ।

उनले होटल व्यवस्थापनसँग त्यो दिनका अखबार संकलन गर्न अनुरोध गरे । होटलले संकलन गरेका अमेरिकी दैनिक अखबारहरूबाट ती महिलाले दिएको समाचार सही रहेछ भन्ने स्पष्ट भयो । सबैजसो अखबारमा राजा महेन्द्रले उठाएको कदमको समाचार छापिएको थियो ।

केही दिनअघि उनलाई संयुक्त राष्ट्रसंघका स्थायी नेपाली प्रतिनिधि तथा अमेरिकाका निमित्त नेपाली राजदूत हृषीकेश शाहले आफूले पेरिसमा महाराजाधिराजसँग दर्शन भेट गरेको बताएका थिए । तर, राजाले उठाउन सक्ने कदमका विषयमा कुनै जानकारी दिएका थिएनन् ।

त्यसो त, विश्वबन्धु थापाले अवसर नपाएका अरू साथीहरूलाई पठाउन सिफारिस गरेका थिए । तर उनको प्रस्तावको कुनै सुनुवाइ भएन । खासमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले थापालाई अमेरिका पठाउनु मक्सद थियो, ‘राजा महेन्द्रसँग बढ्दै गएको हिमचिम छुटाउनु थियो ।’ त्यो तथ्य थापाले पछि मात्रै थाहा पाए ।

गृहमन्त्री सूर्यप्रसाद उपाध्यायको सल्लाहमा प्रधानमन्त्रीले यो निर्णय लिएका थिए । अमेरिका जानुपूर्व सूर्यप्रसादलाई विश्वबन्धुले भनेका थिए, ‘मलाई पठाएर ठीक गर्नु भएन । म फर्किंदा यहाँ अर्कै अवस्था भएको हुन सक्छ ।’ उनको अभिव्यक्तिमा नेपालको राजनीतिमा आउन लागेको भुइँचालोको संकेत थियो । तर, कांग्रेस नेतृत्वले यसमा खास ध्यान दिएनन्, जसका कारण नेपालको राजनीतिले अर्कै बाटो लियो ।

अमेरिका प्रस्थान गर्नुपूर्व उनले राजासँग दर्शन भेट गरे । राष्ट्रसंघको महाधिवेशनमा भाग लिन जाने टोलीमा छनोट भइसकेपछि श्री ५ महेन्द्रबाट भनेका थिए, ‘नजानू ।’

तर, प्रतिनिधिमण्डलको सदस्यमा मनोनीत गरिसकेको हुनाले जान्नँ भन्न मिल्दैन थियो । त्यसकारण उनले राजाको आज्ञापालन गर्न कठिन भएको जाहेर गरे । राजासामु उनले बिन्ती गरे, ‘आपैंm फर्केर नआएसम्म सरकार विघटन वा त्यस्त अन्य राजनीतिक जोखिमयुक्त कदम नचाल्न ।’ प्रत्युत्तरमा राजाले आश्वासन दिएका थिए, ‘यदि कुनै बाध्यात्मक परिस्थिति आई नै प¥यो भने तिमीलाई पूर्वसूचना दिनेछु ।’

२०१७ असोज अन्तिम साता राजा महेन्द्रको संयुक्त अधिराज्यको राजकीय भ्रमण भएको थियो । यात्राकै क्रममा हृषीकेश शाहलाई पेरिसमा बोलावट भएको थियो । त्यस अवसरमा पनि यदि कुनै कदम उठाउने निश्चित भयो भने हृषीकेश शाहमार्फत विश्वबन्धु थापालाई अग्रीम सूचना दिने आश्वासन राजाबाट प्राप्त भएको थियो ।

राजा महेन्द्रले कुनै न कुनै बेला बीपीको मन्त्रिपरिषद् विघटन गर्नेछन् भन्ने कुरा राजासँगको पटकपटकका भेटका क्रममा विश्वबन्धु थापालाई प्रस्ट थियो । महेन्द्रलाई बीपीको व्यक्तित्वले आफ्नो व्यक्तित्व ओझेलमा पर्दै गएको छ भन्ने लाग्न थालेको थियो । आफ्नो भूमिका कहीँ कसैबाट गौण बन्ने अवस्था राजा महेन्द्रका लागि सह्य थिएन । उनलाई राष्ट्रवादी देखिन सजिलो थियो, साथै प्रजातन्त्र विरोधी देखिने चाहना पनि थिएन । उनमा आफ्नो निर्देशनमा नै मुलुक सञ्चालन होस् भन्ने प्रबल चाहना थियो ।

बीपी प्रधानमन्त्री रहुन्जेल आफ्नो चाहना पूरा हुन सम्भव छैन भन्ने निष्कर्षमा राजा महेन्द्र पुगिसकेका थिए । उनी बीपीलाई हटाउने विकल्प खोजीमा लागिपरेको विश्वबन्धुलाई राम्रैसँग जानकारी थियो । तर बीपीलाई हटाउने प्रक्रियाका सवालमा भने राजा प्रस्ट थिएनन् । बीपीसँग महेन्द्रको व्यक्तिगत सम्बन्ध नराम्रो चाहिँ थिएन । केवल दुईवटा सिंह एउटै खोरमा बस्नु परेको अवस्था थियो ।

विश्वबन्धु थापा भने बीपीविरुध्द कुनै ठूलो कदम नउठाइकन समस्याको समाधान हुने उपाय निकाल्न सकिन्छ भन्ने विश्वास राजालाई दिलाउने प्रयत्न थियो । विकल्पमा उनले उपप्रधानमन्त्री सुवर्णशमशेरलाई बीपीको विकल्पमा अघि सार्दै थिए । सुवर्ण राजालाई पनि स्वीकार्य थियो । विश्वबन्धुले सुवर्णलाई प्रधानमन्त्री बनाएर समस्याको समाधान गर्न सकिन्छ भन्ने विश्वास राजालाई दिलाउन थालेका थिए । राजा महेन्द्रले बेलायतको राजकीय भ्रमणमा सुवर्णलाई लिएर जाने कार्यक्रम तय गरेका थिए । त्यस अवसरमा राजाबाट सुवर्णलाई बीपीविरुध्द विद्रोह गराउन उक्साइने अभिप्राय प्रस्ट थियो ।

विश्वबन्धु थापा एकातिर राजाले बीपीलाई जसरी भए पनि हटाउने निश्चय गरिसकेको उनलाई अवगत गराउन चाहन्थे । अर्कातर्फ बीपीबाटै सुवर्णमा सत्ताको हस्तान्तरण गराएर प्रजातन्त्रलाई राजाको कब्जामा पर्नबाट जोगाउने योजना पनि उनको थियो । बीपीले आफ्नै अग्रसरतामा सुवर्णलाई सत्ता हस्तान्तरण गर्दा राजाबाट प्रजातन्त्रको खिलाफमा कुनै कार्य नहुने प्रायः निश्चित थियो । यदि बीपीले सूर्यप्रसादको सल्लाह मानेर आफूलाई अमेरिका पठाउने काम नगरेको भए मुलुकको इतिहासले अर्कै कोल्टे फेर्ने अमिट विश्वास विश्वबन्धुमा आजसम्मै रहिरहेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि बीपीले एक वर्षपछि सुवर्णलाई प्रधानमन्त्री बनाएर आफू प्रजातन्त्रको स्थायित्वका लागि समर्पित रहने वचन आफ्नी धर्मपत्नी सुशीलालाई दिए । अमेरिका जानुअघि कार्यसमितिको बैठकबाट यसबारे निर्णय लिन थापाले सभापति बीपीलाई आग्रह पनि गरेका थिए । सूर्यप्रसाद उपाध्यायको घरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा यो विषयमा उनले नै छलफल प्रारम्भ गरियो ।

महेन्द्रको तीव्र इच्छा सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउने थियो । तर नेपाली कांग्रेस बीपीलाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो । र, त्यही भयो । प्रधानमन्त्री भएर पनि बीपीलाई सभापति पद छाड्न चाहेनन् । २०१७ मा लक्ष्मी निवासमा महाधिवेशनमा बीपी सभापतिमा उम्मेदवारी दिँदा भूदेव राईले विरोध गरेका थिए ।

बीपी प्रधानमन्त्री भएको १४ महिनापछि सूर्यबाबुको घरमा बसेको कार्यसमितिको बैठक बसेको थियो । विश्वबन्धु थापाले बीपीसँग भनेका थिए, ‘सान्दाजु ! चाँडो गर्नुस् । सुवर्णजीलाई प्रधानमन्त्री बनाउनुस् । उहाँ तपाईंको भरपर्दो मित्र हुनुहुन्छ । पार्टीको सभापति तपाईंबाहेक अरू हुनै सक्तैन ।’

थापाले त्यो प्रस्ताव राख्दा सबै सदस्य पाँच मिनेटसम्म मौन बसेका थिए । त्यो मौनता गिरिजाप्रसाद कोइराला र सरोज कोइरालाले तोडे । त्यही मौकामा गिरिजाप्रसाद कोइरालाले प्रतिरक्षा गरे, ‘बीपीले छाड्ने समय भएको छैन ।’ अनि त्यो महत्वपूर्ण विषयमा केही निर्णय हुन सकेन । प्रधानमन्त्री परिवर्तनको कुरा सेलायो । विश्वबन्धु आज विश्वासपूर्वक भन्छन्, ‘सुवर्णशमशेर प्रधानमन्त्री भएको भए २०१७ पुस १ को घटना टर्ने थियो ।’

दुवै कोइराला बन्धुहरूले बीपीको प्रशंसा मात्र गरेनन् कि अनिवार्यताको सिध्दान्त प्रस्तुत गरे । त्यसपछि सबै सदस्यबाट त्यस्तै राय आए । थापा एक्लै परेँ । तर पनि उनलाई कार्य समिति र चिफ ह्विपबाट हटाइएन । उल्टै भोलिपल्ट बीपीले थापासँग भने, ‘सुवर्णजी प्रधानमन्त्री भएमा तँ मन्त्री हुन्छस् भनी सूर्यबाबु भन्नुहुन्छ ।’

बीपीको जनप्रियता बढ्दो थियो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र चिनियाँ प्रधानमन्त्री चाउएनलाईसँग व्यक्तिगत सम्बन्धले बीपी उचाइमा चढ्दै थिए । इजरायलबाट हतियार आएको थियो । नेपाल आर्मीमा उनको इज्जत थियो । यस्ता दृश्यहरूले श्री ५ महेन्द्र जस्ता महत्वाकांक्षी राजाका निम्ति सशंकित बन्ने आधार थियो । जनप्रियता र अन्तर्राष्ट्रिय स्वीकृति बढ्दै जानु राजा महेन्द्रका निम्ति सम्भवतः चिन्ताको विषय बन्दै थियो ।

महेन्द्रलाई सुवर्णशमशेर जस्तो विश्वासिलो र भरपर्दो प्रधानमन्त्री चाहिएको थियो । बीपीले समयचक्रलाई बुझ्नु भएन । उता कांग्रेसमा गणेशमान सिंह र सुवर्णशमशेरबीच पनि बीपीको उत्तराधिकारी को हुने भन्ने प्रतिस्पर्धा जारी थियो । सुवर्णशमेशर प्रधानमन्त्री बन्न दिने पक्षमा सिंह थिएनन् । किनभने सिंह सुवर्णशमशेरलाई राणा शासनकै ‘निरन्तरता’ ठान्थे ।

राजा महेन्द्रले कांग्रेस सरकारविरुध्द निकै आक्रोश पोखे, तर आफ्नो सरकारमा त्यही सरकारमा रहेका व्यक्तिहरूलाई सामेल गरे ।

सुुवर्णशमशेर कहिल्यै पनि बीपीसँग प्रतिस्पर्धा गरी पद लिन चाहँदैनन् थिए । त्यतिमात्र होइन, बीपी कोइरालाको चित्त पनि दुखाउन नचाहने नीति लिएका थिए । विश्वबन्धु थापाका शब्दमा, ‘सुवर्ण बीपीका मित्र थिए, प्रतिद्वन्द्वी कहिल्यै भएनन् । महेन्द्रले त्यही बुझेपछि सुवर्णशमशेर काम नलाग्ने देखेपछि कलकत्ता पठाइदिए । नेपालको इतिहासमा २०१७ पुस १ सधैं अंकित हुने काम भयो ।’

काठमाडौं उत्रेपछि पक्राउ

संसदीय व्यवस्था र प्रजातन्त्र अपहरणमा परेको सात दिनपछि अर्थात् पुस ७ मा विश्वबन्धु थापा न्युयोर्कबाट काठमाडौं आइपुगे । उनीसँगै गएका नेपाली प्रतिनिधिमण्डलका अर्का सदस्य अच्युतराज रेग्मी भने काठमाडौं नआईकन कलकत्तातर्फ लागे । थापा गौचरन हवाई अड्डा (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा उत्रेर आगमन कक्षमा पुग्दा परिवारका सदस्यहरू उनको प्रतीक्षामा थिए ।

त्यही समय जर्नेल भक्तनरसिंह राणा आइपुगे । उनले आदेश सुनाए, ‘तपाईंलाई देखेपछि समात्नू भन्ने अर्डर छ ।’ त्यो सुनेपछि थापाको प्रश्न गरे, ‘मलाई समात्ने आदेश दरबारले दिएको हो ?’ राणाको जवाफ रह्यो, ‘हामीलाई यस्तै आदेश दिइएको छ ।’ त्यसअतिरिक्त तिनले २१ जनाको नामावली देखाए, जसमा थापाको नाम पनि थियो ।

वास्तवमा जर्नेल राणा आफ्नी छोरीलाई पु¥याउन एयरपोर्ट पुगेका रहेछन् । पक्राउ गर्ने भनिएका नेताहरूको नामावली उनलाई पनि दिइएको हुनाले सोही अनुरूप उनले आफ्नो कर्तव्य पालना गर्न खोजेका रहेछन् । राणाको मोटरमा विश्वबन्धु थापालाई अमेरिकाबाट ल्याएको झिटीगुन्टासहित सिंहदरबार पु¥याइयो । उनले बारम्बार भने, ‘जरसाहेब, कम से कम एक पटक मलाई समात्ने आदेशका विषयमा दरबारसँग सोध्नुहोस्, म यहाँ पक्राउ पर्न आएको होइन ।’

सिंहदरबार ब्यारेकमा पुगेपछि उनले अलि पर एउटा सानो घरको कोठामा थुप्रै मानिसहरूलाई राखेको देखे । त्यसबेला बिहानको बाक्लो कुहिरो लागेकाले उनले अरूलाई त चिन्न सकेनन् । तर पूर्वमन्त्री प्रेमराज आङदम्बेलाई ठम्याए । उनले जर्नेलसँग को–को छन् भनी सोधे । तिनले त्यो कोठामा बीपीलगायत सबै नेताहरू राखिएको जानकारी दिए । त्यसपछि उनले जर्नेललाई भने, ‘तपाईंलाई दरबारमा सोध्नुहोस् भनेको सुन्नुभएन, तर यदि मलाई त्यो कोठामा लगियो भने त्यहाँ पुगेपछि म पुनः फर्कनेवाला छैन । त्यसको जिम्मा चाहिँ तपाईंले लिनुपर्नेछ ।’

त्यसपछि जर्नेलले दरबारमा धेरै चोटि फोन गर्ने प्रयास गरे, तर सम्पर्क गर्न सकेनन् । विश्वबन्धुले तिनलाई कमान्डर इन चिफसँग सम्पर्क गर्ने सल्लाह दिए । उनीसँग सम्पर्क भएपछि जर्नेलले विश्वबन्धु थापाको नाम उल्लेख गर्दै ‘उनी कोठामा पुगेपछि पुनः फर्कनेवाला छैन भनेर घुर्की लाउनुहुन्छ ।’ कमान्डर इन चिफले उनलाई आदेश दिएछन्, ‘छोडिदिनू’ । त्यसपछि जर्नेलकै गाडीमा उनलाई आफ्नो निवाससम्म पु¥याइयो । उनी केही घण्टामात्रै हिरासतमा रहे ।

निवासमा पुगेका मात्र थिए, उनलाई डा.तुलसी गिरीको टेलिफोन आयो । डा. गिरी निवासमा त्यही साँझ भेट गर्न आए । उनले आफूलाई पनि पाँच दिनसम्म थुनामा राखेर मात्र छोडेको जानकारी दिए । गिरी पुस ५ मा बन्दीबाट छटकारा पाएका थिए । ‘गिरीलाई किन पक्राउ गरियो ?’ त्यो आश्चर्र्यजनक सवाल थियो ।

 उनले राजाबाट पुस १ को कदमका विषयमा जतिसुकै सोचविचार र योजना अघि बढेका हुन् र तर त्यसपछि के गर्ने भन्ने विषयमा भने खास कुनै कार्ययोजना तयार पारेको आभास आफूले नपाएको बताए । डा. गिरीले राजा, विश्वबन्धु थापाको आगमनको प्रतीक्षामा रहेको हुन सक्ने अड्कल काटेका थिए । उनले दरबारमा सम्पर्क गरेर राजासँग दर्शनभेटको प्रबन्ध मिलाउने जिम्मा लिए । बाहिर बजारमा भने डा. गिरी र विश्वबन्धुको राय–सल्लाहमा राजा महेन्द्रले पुस १ को कदम चालेका हुन् भन्ने ठूलो हल्ला व्यापक थियो । निवासबाट डा. गिरी बाहिरिनुअघि थापासँग भने, ‘राजालाई साथ दिनुबाहेक हामीहरूसँग अरू विकल्प छैन ।’

भोलिपल्ट बेलुका विश्वबन्धु थापाको निवासमा थुनामा नपरेका दुई कांग्रेसी नेताहरू सरोजप्रसाद कोइराला र श्रीभद्र शर्मा आए । दुवैको आग्रह थियो, ‘राजाको साथ दिनु हुन्न ।’

उनकी श्रीमती पनि राजाको साथ दिँदा बीपीलाई धोका दिएजस्तो हुन्छ । उनी भन्दै थिइन्, ‘राजाको साथ दिनुहुन्न, साथीहरूलाई धोका दिँदा राम्रो हुँदैन ।’ कोइराला परिवारका सदस्यहरूले पनि विश्वबन्धु थापालाई काठमाडौंबाट कलकत्ता जाने सल्लाह दिए । थापा जटिल राजनीतिक परिस्थितिमा बडो असमञ्जसमा परे । राजा महेन्द्रलाई साथ दिए पनि या नदिए पनि सबैले भन्नेछन्, ‘यिनी राजाका मान्छे ।’ त्यो दाग पखाल्न सक्ने अवस्था पनि उनीसँग थिएन । त्यसकारण उनले राजाको योजना बुभ्mने पक्षमा लागे ।

उता कांग्रेसभित्र दरबारिया तत्वहरूले खेलिरहेका थिए । दक्षिणकाली र गुह्येश्वरीमा हात चोपलेर षड्यन्त्र गर्नेको कमी थिएन । बीपीले यस्ता षड्यन्त्र गर्नेको आपसी पोल सुन्नुपथ्र्यो ।

महेन्द्रको योजना

अमेरिकाबाट तेस्रो दिन अर्थात् पुस ९ मा राजदरबारमा राजा महेन्द्रसँग दर्शन भेट भयो, उनको । भेटको प्रारम्भमै राजाले उनीसमक्ष प्रस्ताव राखे, ‘यो कदममा साथ दिनुपर्छ ।’

उनले महेन्द्रसामु सम्झना गराए, ‘सरकारबाट कुनै कदम चाल्नु अगावै हृषीकेश शाहमार्फत खबर पठाउँछु भन्ने हुकुम भएको थियो ।’ तर प्रत्युत्तरमा राजाले भने, ‘हृषीकेश मनमा कुरा राख्न नसक्ने भएकाले तिनलाई विश्वास गरेर यस्तो अति गोप्य योजना भन्न नसकेको हुँ ।’

अनि राजा महेन्द्रबाट आग्रह आयो, ‘मेरो कदमलाई साथ दिनुपर्छ । म केही दिनभित्रै मेरै अध्यक्षताको मन्त्रिपरिषद् बनाउँछु । तिमी सामेल भइदेऊ ।’ त्यसबखत विश्वबन्धु थापाले जाहेर गरे, ‘आफ्ना नेता तथा साथीहरू सबै जेलमा परेका र पार्टी प्रतिबन्धित भएको हुँदा यस्तो अवस्थामा सरकारमा सामेल हुन नैतिकताका कारणले कठिन हुन्ुन्छ ।’

प्रत्युत्तरमा राजाले आश्वासन दिए, ‘मैले बाध्य भएर निर्णय गर्नुपरेको हो । यो केही समयका निमित्त मात्र हो । यदि सुवर्णशमशेरले मलाई साथ दिन तयार भए भने यथासमयमा राजनीति मिल्दै जानेछ ।’ विघटित सरकारका उपप्रधानमन्त्री सुवर्ण पुस १ को कदम चालिनु केही दिनअघि मात्रै कलकत्ता गएका थिए । उनलाई राजा महेन्द्रले कलकत्ता जाने मौका पनि दिएको आभास थापाले पाए ।

राजाले आश्वासन पनि दिए, ‘स्थिति काबुमा आउनासाथै म पार्टीमाथिको प्रतिबन्ध हटाउँछु ।’ त्यो आश्वासनपछि उनले साथ दिने वचन दिने प्रतिबध्दता जाहेर गर्न कुनै हिचकिचाहट भएन ।

२०१७ साल पुस १ मा राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी संसद्समेत भंग गरेपछि राज्यको सम्पूर्ण शक्ति र सार्वभौम अधिकार राजाको हातमा निहित हुन गयो । तर राजासँग मुलुक सञ्चालन गर्ने कार्यक्रम थिएनन् भने ११ दिनसम्म मन्त्रिपरिषद् पनि गठन हुन सकेको थिएन । दर्शन भेटमा राजाका धारणा सुनेपछि थापालाई राजा प्रजातन्त्रवादी हुन् र उनी मुलुकको उन्नतिका निमित्त कटिबध्द छन् भन्नेमा विश्वास भयो । उनलाई सधैं लाग्थ्यो, ‘हामी विश्वको जुनसुकै भागमा भए पनि नेपाली नै कहलाउँछौं, तर नेपाल रहेन भने यहाँ राजा हुने कुरा पनि रहँदैन ।’ उनले राजाको हातमा राष्ट्रको भविष्य सुरक्षित हुने निष्कर्ष निकालेका थिए ।

राजा महेन्द्रले फेरि कुनै दिन ‘संसदीय पध्दति’ नै ल्याउँछन् भन्ने विश्वास थापालाई भयो । उनी मन्त्रिपरिषद्मा सहजै समावेश भए । मन्त्रिपरिषद्मा राजापछि पहिलो र दोस्रो स्थानमा कांग्रेसकै पूर्व महामन्त्रीत्रयको नाम थियो, डा. तुलसी गिरी, विश्वबन्धु थापा, हृषीकेश शाह । वरियताक्रममा हृषीकेश तेस्रो र सूर्यबहादुर थापा चौथोमा परेका थिए । पहिलो मन्त्रिपरिषद्मा कांग्रेसकै पूर्वनेता नागेश्वरप्रसाद सिंहले पनि प्रवेश पाए ।

राजा महेन्द्रले पुस २२ मा तेस्रो भाषण ‘माथिल्ला तहका नेताहरू भ्रष्टाचारमा मुछिएको, समाजविरोधी भावनाद्वारा प्रेरित अन्तर्राष्ट्रिय तत्वहरूको बोलवाला बढ्न लागेको र डरलाग्दो स्थिति शासन लिनुपरेको’ तर्क राखेका थिए । राजा महेन्द्रले कांग्रेस सरकारविरुध्द निकै आक्रोश पोखेका थिए, तर सरकारमा त्यही सरकारमा रहेका व्यक्तिहरूलाई सामेल गरेका थिए ।

विनोद सिजापतीद्वारा लिखित ‘क्रान्तिदेखि–क्रान्तिसम्म : विश्वबन्धु थापा’ नामक पुस्तकबाट ।

०००


Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार
ad
x