कूटनीति

देशमा डलर छैन, मन्त्रीका लावालस्कर विदेश सयरमा

पुष्पराज आचार्य |
जेठ ६, २०७९ शुक्रबार १४:५८ बजे

काठमाडौँ– मित्रराष्ट्र बंगलादेशले विदेशी मुद्रा सञ्चितिमा चाप पर्न सक्ने सम्भावित चापलाई मध्यनजर गरेर सरकारी अधिकारीहरूको अनावश्यक विदेश यात्रालाई प्रतिबन्ध लगाएको छ । पाकिस्तानले पनि अत्यावश्यक आपूर्तिबाहेक आयात प्रतिबन्ध लगाएको छ । 

नेपालमा पनि विदेशी मुद्रा सञ्चितिमा चापलाई मध्यनजर गर्दै ९२ थरी हार्मोनाइज्ड कोड भएका १० प्रकारका वस्तु आयात प्रतिबन्ध गर्नेगरी वैशाख १३ मा राजपत्रमा सूचना नै प्रकाशन गरेको छ । तर देशमा विद्यमान अप्ठ्यारो स्थितिलाई ख्याल नै नगरी मन्त्रीहरू भने लावालस्कर सहित विदेश यात्रामा निस्कदैं छन् । 


हालैमात्र वैशाख १४ देखि १९ सम्म श्रम मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठ मलेसियाको भ्रमणमा गएर आएका छन् । उनको मलेसिया भ्रमणको कुनै उपलब्धि भएको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उनी त्यहाँ श्रम बजारको आवश्यकता आँकलन र श्रमिकको सुरक्षाबारे मलेसियाका सम्बन्धित निकायसँग छलफलका लागि गएका हुन् । 

उनी पुनः जेठ ३० गते अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) गभर्निङ बडीको बैठकमा भाग लिन जेनेभा जाने तयारीमा छन् ।

कोभिड–१९ पछि कतिपय बैठकहरू भौतिक उपस्थिति र भर्चुअल दुवैको मिश्रित रूप (हाइब्रीड मोडल)मा सञ्चालन भैरहेका छन् । 'नेपालको विद्यमान अवस्थालाई हेरेर पनि सरकार मितव्ययी बन्नुपर्ने हो  र सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्नु अहिलेको अवस्थामा हितकर हुने देखिन्छ,'  अर्थशास्त्री केशव आचार्य भन्छन्, 'सरकार सकेसम्म मितव्ययी हुनुपर्छ । ' 

तर मन्त्री श्रेष्ठसहित अरु तीन जना मन्त्रीको टोली विदेश भ्रमणमा निस्कदैंछ । 

परराष्ट्र मन्त्री नारायण खड्का जुन १ (जेठ १८) देखि स्वीडेनको स्टकहोममा आयोजित वातावरण सम्बन्धी संस्मरणात्मक सम्मेलनमा भाग लिने तयारी छ । उनी १९ र २० मा त्यहाँ भाग लिनेछन् । स्टकहोममा युरोपमै पहिलो वातावरण सम्मेलन ५० वर्षअघि भएको थियो । त्यसैको संस्मरणात्मक सम्मेलन अहिले आयोजना गरिन लागेको छ, जसमा परराष्ट्र मन्त्री खड्का सहभागी हुनेछन् । 

त्यस्तै, स्वास्थ्यमन्त्री विरोध खतिवडा ‘युएन ग्लोबल रोड टु सेफ्टी’ (महामारीपछि सुरक्षित विश्वको मार्गमा) सम्बन्धी उच्च स्तरीय बैठकमा भाग लिन १६ र १७ असारमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहने कार्यक्रम तय भैसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यससम्बन्धी भर्चअल कार्यक्रम २८ अक्टोबर, २०२१ मा सम्पन्न भएको थियो । डब्लुएचओले सन् २०२१ देखि सन् २०३० सम्म सुरक्षित विश्वका लागि एक दशकका कार्ययोजना तयार गरिरहेको छ । मन्त्री खतिवडा यससम्बन्धी भर्चुअल कार्यक्रममा पनि सहभागी भैसकेका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु विश्व व्यापार संगठनको मुख्यालय जेनेभामा हुने मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन जेठको अन्तिम साता स्वीट्जरल्यान्ड जाँदैछन् । 

विदेश यात्रामा जानेहरूको हकमा रेमिट्यान्स पठाउने वैदेशिक रोजगारमा जाने श्रमिकलाई भने राष्ट्र बैंकले भीसा र टिकट प्रस्तुत गरेर २०० अमेरिकी डलर सटही पाउने व्यवस्था गरेको छ । अत्यावश्यक कामका लागि विदेश जाने नेपालीलाई १५०० अमेरिकी डलर (२०० नगद र बाँकी कार्डमा वा आवश्यकताअनुसार), सरकारी कर्मचारीको हकमा ट्राभल अर्डर अनुसार र विशिष्ठ तथा अति विशिष्ठ (भीआइपी र भीभीआइपी)को हकमा भने माग भए बमोजिम हुने व्यवस्था छ । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x