कूटनीति

भारतमा दलाई लामासँग भेटेकी अमेरिकी उप–विदेश मन्त्री उजरा जेया नेपालको तीन दिने भ्रमणमा

इकागज |
जेठ ६, २०७९ शुक्रबार १८:२६ बजे

काठमाडौँ– भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामालाई भेटेकी अमेरिकी नागरिक अधिकार, लोकतन्त्र र मानवअधिकार हेर्ने उप–विदेशमन्त्री उजरा जेया तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ ओर्लेकी छिन् । नयाँ दिल्लीबाट अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेकी उनलाई शिष्टाचार महापाल तथा अमेरिकी राजदूतले स्वागत गरेका थिए ।

उनी अमेरिकी सरकारको तर्फबाट तिब्बती मामिला विशेष संयोजक हुन् र भारतमा दलाई लामालाई भेटेर तीन दिने भ्रमणका लागि नेपाल आएपछि उनको भ्रमणलाई लिएर सार्वजनिक वृत्तमा ठूलो चासो प्रकट भएको छ । 


परराष्ट्र मन्त्रालयले भने जेया नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउने क्रममा नेपाल आएको बताएको छ । ‘यो वर्षभरी हामी कूटनीतिक सम्बन्धको ७५औं वर्ष मनाउँदैछौं, यो क्रममा द्विपक्षीय रूपमै उच्चस्तरीय भ्रमणको तयारी भैरहेको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् । 

जेया अमेरिकी सरकारको तर्फबाट तिब्बत मामिला विशेष संयोजक भएपनि यहाँ उनले तिब्बतीहरूसँग भेट गर्ने लगायतका गतिविधिबारे परराष्ट्र मन्त्रालयले जानकारी नभएको भनेको छ । ‘दूतावासले आयोजना गरेका विभिन्न कार्यक्रम होलान्, नेपाल–अमेरिका मैत्री समाजका कार्यक्रममा सहभागी हुनुहोला । यसबारे हामीलाई जानकारी छैन,’ परराष्ट्र मन्त्रालयले भनेको छ । 

जियाले परराष्ट्र मन्त्री नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगायतलाई भेट्ने बुझिएको छ । 

तिब्बती मामिलालाई लिएर नेपालले आफ्नो भूमिमा कुनै गतिविधि हुन नदिने र आफू एक चीन नीतिप्रति आफ्नो प्रतिवद्धता दोहोर्‍याउँदै आएको छ । ‘तिब्बती मामिला विशेष संयोजक हुँदैमा उनले यहाँ त्यही सम्बन्धित गतिविधिका लागि आइन् भनेर व्याख्या गर्नुहुँदैन,’ एकजना पूर्व परराष्ट्र मन्त्रीले भने, ‘नेपाल र अमेरिकाबीच बहुआयमिक सम्बन्धका बृहत्तर विषयहरू छन् । भेटघाटलाई त्यही भित्र सीमित गर्नुपर्छ ।’ 

उनले नेपालले यहाँ चीन विरोधी गतिविधिमा आँखा चिम्लने भन्ने कल्पना गर्न पनि नसकिने बताए । ‘चीनलाई ‘एन्टागोनाइज’ (चिढ्याउने) गर्ने काम गर्नुहुँदैन,’ उनले भने, ‘यो हाम्रा लागि घातक हुन्छ ।’

नेपालका हरेक देशसँग आ–आफ्नो किसिमको सम्बन्ध राखेको र सम्बन्ध सन्तुलित साथै नेपालको प्राथमिकता अनुसार हुनुपर्ने उनको भनाइ छ । 

यद्यपि अमेरिकाले नेपालमा तिब्बती शरणार्थीमाथि चासो राख्दै आएको भने ‘ओपन–सेक्रेट’ जस्तै छ । अमेरिकी सिनेटर रोबर्ट मेनेन्डेजले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र नै लेखेर चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समयमा चीनसँग सुपुर्दगी सन्धि गरेको खण्डमा त्यसले नेपालको साख र प्रतिष्ठामा नकारात्मक असर पर्ने भन्दै नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा नै आँच आउने भनेर घुमाउरो ढंगले धम्की दिएका थिए । 

ती सिनेटरले पत्रमा ओली सरकारले विगतका सरकारले झै निर्वासित जीवन बिताइरहेका तिब्बती तथा शरणार्थीहरूलाई बसोबास तथा सुरक्षाको प्रबन्ध गर्ने प्रतिवद्धताको तारिफ गर्दै तिब्बतीहरूको मुद्दामा अमेरिकाको ठूलो चासो रहेको उल्लेख गरेका छन् । 


Author

थप समाचार
x