कूटनीति

तिब्बती क्याम्पमा अमेरिकी उपविदेशमन्त्री

दलाई लामाको जन्मदिन समेत मनाउन नपाएका तिब्बतीले गतिविधि गर्न पाउलान् ?

इकागज |
जेठ ७, २०७९ शनिवार १५:३५ बजे

काठमाडौँ– नेपालमा चीनको प्रभाव बढ्दै गएपछि यहाँ बसोबास गरिरहेका तिब्बती शरणार्थीलाई सरकारले निर्वासित धर्मगुरु दलाई लामाको जन्मदिन मनाउन समेत प्रतिबन्ध गर्‍यो । पहिले स्वयम्भू, बौद्ध तथा जाउलाखेल लगायतका क्षेत्रमा बसोबास गरिरहेका तिब्बती शरणार्थीहरू एकै ठाउँमा जम्मा भएर दलाई लामाको जन्मदिन मनाउँथे । 

नेपालमा रहेका तिब्बती शरणार्थीले आफूहरूलाई दलाई लामाको जन्मदिन मनाउन दिनुपर्ने भन्दै आएका छन् । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले सरकारको जानकारी बेगर आज जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छिन् । आज जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले त्यहाँ रहेका शरणार्थीहरूको जीवनयापनको अवलोकनका साथै उनीहरूको गुनासो सुनेकी छिन् । 


अमेरिकी सरकारको तर्फबाट तिब्बत विशेष मामिला संयोजक उनी अमेरिकी दूतावासका प्रतिनिधिहरू सहित आज त्यहाँ पुगेकी थिइन् । परराष्ट्र मन्त्रालयले भने जेयाले तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो । 

जेयाले प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री नारायण खड्कासँगको भेटमा तिब्बती शरणार्थीको मानव अधिकार र सुरक्षाका सम्बन्धमा समेत कुराकानी गर्ने बुझिएको छ । तीन दिने नेपाल भ्रमणमा आउनुअघि उनले भारतको हिमाञ्चलस्थित शिविरमा पुगेर तिब्बती धर्मगुरु दलाई लामासँग भेटेकी थिइन् । 

नेपालमा जेयाको भ्रमणलाई लिएर चीन असन्तुष्ट बनेको बुझिएको छ । केही महिनाअघि नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा हुने भूराजनीतिक खेल चीनलाई सह्य नहुने बताएका थिए । 


Author

थप समाचार
x