बिम्स्टेक मन्त्रीस्तरीय बैठक : म्यानमार नरसंहारको विषय उठ्ला ?
तस्बिर : परराष्ट्र मन्त्रालय
काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रीस्तरीय बैठकमा म्यानमार नरसंहारबारे विषय उठ्नेमा आशंका उत्पन्न भएको छ । बुधबार सम्पन्न परराष्ट्र सचिवस्तरीय बैठकमा यो विषय नउठेपछि बिहीबार दिउसो हुने मन्त्रीस्तरीय छलफलमासमेत यो विषय उठ्नेमा आशंका व्यक्त गरिएको हो ।
श्रीलंकाको अध्यक्षतामा बुधबार परराष्ट्र सचिवस्तरीय भर्चुअल बैठकमा म्यानमारको घटनामा प्रश्न नउठेपछि बैठकको आलोचना भइरहेको छ । गत फेब्रुअरी १ मा म्यानमार सैनिकले निर्वाचित सरकारबाट शासन आफ्नो हातमा लिएको हो । त्यो सैनिक 'कू' यता पाँच सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सैनिक शासनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने निर्दोष जनतालाई बल प्रयोग गरेर दिनहुँ मारिरहेको छ ।
कैयन मुलुकमा रहेका म्यानमार दूतावास अगाडि प्रदर्शन भइरहेका छन् । काठमाडौँमा पनि यसको प्रदर्शन भइरहेको छ तर पनि किन यस्ता बैठकमा सरकार बोल्दैनन्, आश्चर्यपूर्ण छ । विमस्टेक १७ औं परराष्ट्र मन्त्रीस्तरीय भर्चुअल बैठक बिहीबार तीन बजेलाई तय गरिएको छ । बैठकमा म्यानमारको विषय नउठेमा यो क्षेत्रका राजनीतिक नेतृत्व शासकमा परिणत हुने परराष्ट्र अधिकारीहरूको धारणा छ ।
पूर्वनिर्धारित कार्यक्रम भए पनि एक सदस्य मुलुकका आम नागरिकको विषयमा अन्य सदस्य मुलुकले आवाज उठाउन आवश्यक रहन्छ । बिम्स्टेकको वर्तमान अध्यक्ष श्रीलंका हो । नेपालमा पछिल्लो अर्थात् चौँथो शिखरसम्मेलन झण्डै तीन वर्षअघि भएको थियो । त्यसअघि नेपाल यसको अध्यक्ष थियो ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) र पूर्व एसियाली राष्ट्रहरुको संघठन (आसियान) का केही सदस्य राष्ट्र मिलेर बनेको बिम्स्टेकलाई पछिल्लो समय सार्कको विकल्पको रुपमा हेरिए पनि यो खासै प्रभावकारी संगठन बन्न सकेको छैन । नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याड र भुटान सदस्य रहेको उक्त संगठनको सचिवालय ढाकामा छ ।
म्यानमारको आन्तरिक मामिला भनिए पनि आम नागरिक हताहत भएका कारण नेपाल चुप रहन मिल्दैन । वा भारत यसमा के भन्छ त्यसपछि बोलौँला भनेर बस्न पनि मिल्दैन ।
बिम्स्टेक सदस्य मुलुकहरूले नै म्यानमारमा भएको घटनालाई स्मरण नगरेपछि त्यहाँका जनताले यो संगठनलाई कुन रूपमा लिने र त्यहाँका जनताप्रति सद्भाव राख्ने मुलुकले पनि कसरी आफूलाई प्रस्तुत गर्छन हेर्न बाँकी छ ।
बुधबारको बैठकमा नेपालबाट परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्व गरेका थिए भने विहीबारको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधित्व गर्नेछन् । बैठक पूर्वनिर्धारित विषयहरुमा छलफल भए पनि बीचमा कुनै मुलुकले पनि म्यानमारको घटना उल्लेख नगरेको एक सहभागीले बताए ।
नेपालले म्यानमारको घटनामा खासै चासो देखाएको पनि छैन भन्दै ती अधिकारीले भने, ‘म्यानमारको आन्तरिक मामिला भनिए पनि आम नागरिक हताहत भएको र चरम नरसंहारविरूद्ध नेपाल चुप रहन मिल्दैन । वा भारत यसमा के भन्छ त्यसपछि बोलौँला भनेर बस्न पनि मिल्दैन ।’
अधिकांश विषयमा नेपालले छिमेकको निर्णय पर्खेको हुन्छ । छलफलमा झण्डै तीन वर्ष अघि नेपालमा आयोजना भएको चौथो बिम्स्टेक शिखर सम्मेलनपछिका बैठकहरु र निर्णयहरु बारे समीक्षा भएको थियो । बिम्स्टेक क्षेत्रका जनताको प्रगति र समृद्धिका लागि सदस्य राष्ट्रबीच गहिरो सहकार्यका प्रभावकारी बनाउने भनिए पनि एक सदस्य मुलुकमा भएको घटना प्रति परराष्ट्र सचिव स्तरीय बैठकमा समेत छलफल हुँदैन भने कसरी सहकार्य हुन्छ भन्दै एक अधिकारीले असन्तुष्टि व्यक्त गरे ।
बजेट कार्यावन्यन र सहकार्यको बारेमा छलफल गरेका भए पनि जनताबीच सहकार्यको विषयमा खासै छलफल भएन । यस्त बैठक एउटा कुनै एजेण्डा वा कुनै फरमुलामा बसेर छलफल गरेर के गर्नु भन्दै जनस्तरको विषयमा ध्यान दिन जरुरी रहेको अधिकारीहरू बताउँछन् । 'बैठकमा विभिन्न मामिलामा छलफल गर्दै कुनै सदस्य मुलुकभित्र भइरहेको घटनलाई चटक्कै भुलेको देखियो', ती अधिकारीले बताए ।
बिमस्टेकको कानुनी साधनहरू, कागजातका साथै चार्टर्ड, हवाइ र सडक सञ्जालका लागि बृहत योजना, बजेटमा संशोधन र सन् २०२१ को लागि बजेटको आंकलन गरेको विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया