कूटनीति

राजदूत पाण्डेले आठ महिनापछि राष्ट्रपति सीलाई बुझाए ओहोदाको प्रमाणपत्र

अजय अलौकिक |
बैशाख १, २०७८ बुधवार १८:९ बजे

बेइजिङ : चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले जन गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ समक्ष नेपालको नयाँ वर्षको पहिलो दिन आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । २०७७ सालमा कोभिड-१९ महामारीकाबीच आफ्नो कार्यभार सम्हालेका पाण्डेले प्रमाणपत्र भने बुधबार मात्रै बुझाएका हुन् ।

नेपालसहित २९ मुलुकका राजदूतहरूले राष्ट्रपति सी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । यसैबीच ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै चीनका राष्ट्रपति सीले राजदूत पाण्डेलाई चीनमा स्वागत गर्दै दुई मुलुकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने वाचा गरे । साथै उनले नेपाली नयाँ वर्षको शुभकामना दिँदै नेपालको विकासमा चीन सहयोग गर्न सदा तत्पर रहेको सीलाई उल्लेख गर्दै दूतावासका एक अधिकारीले बताए ।


राष्ट्रपति सीले चीनमा आयोजना हुने सन् २०२२ को हिउँदे ओलम्पिकमा नेपालको सहयोगको अपेक्षा गरेको पनि बताए । सो क्रममा राजदूत पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश प्रस्तुत गरेका थिए । कोभिड-१९ महामारीका कारण ओहोदाको प्रमाणपत्र बुझाउनअघि त्याउ यू थाई अतिथि गृहमा राजदूतको न्यूक्लिक एसिड परीक्षण गरिएको थियो । त्यसको तीन घण्टापछि जन बृहत् सभाभवनमा ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रमको आयोजना गरिएको हो । कोभिड-१९ का कारण सुरक्षित ढंगले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

पूर्व परराष्ट्र मन्त्री पाण्डेलाई वि.स. २०७६ फागुन १८ मा बसेको मन्त्रिपरिषद बैठकबाट चीनका लागि राजदूतमा सिफारिस गरिएको थियो । २०७७ (२०२० जुलाई) मा कोभिड-१९ महामारीबीच आफ्नो कार्यभार सम्हाल्न चीन आए तापनि उनले ओहोदाको प्रमाणपत्र भने बुझाउन पाएका थिएनन् । कूटनीतिक सम्बन्धमा ओहोदाको प्रमाणपत्र बुझाउनु एउटा महत्वपूर्ण कार्यक्रम रहँदैआएको छ ।

यसबीच सन् २०२० जुलाई २८ मा चीनको परराष्ट्र मन्त्रालयबाट प्रमाणपत्र स्वीकार गरेपछि आधिकारिक रूपमा पाण्डेले चीनका लागि राजदूतको पद सम्हालेका थिए । राजदूत पाण्डेले आफ्नो कार्यभार सम्हालेपछि ६,७ वटा प्रान्तहरूको भ्रमण गरिसकेका छन् । साथै चीन नेपाल सम्बन्धित कार्यक्रम तथा विविध कूटनीतिक कार्यक्रम तथा समारोहमा उनको सहभागिता रहँदैआएको छ । गत वर्ष प्रधानमन्त्री ली खछ्याङद्वारा आयोजित एक रात्रीभोजमा पनि राजदूत पाण्डे सरिक भएका थिए ।

यसका साथै चीनका लागि आवासीय राजदूतले चीनबाहेक प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मङ्गोलियाका लागि गैरआवासीय राजदूतको पद पनि सम्हाल्नु पर्दछ । सन् १९५५ मा नेपाल चीनबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९६१ मा मात्र बेइजिङमा राजदूतावास स्थापना भएको हो । सन् १९५६ देखि १९६१ सम्म भारतका लागि नेपाली राजदूत नै चीनका लागि गैरआवासीय राजदूत रहने गरेका थिए । राजदूत पाण्डे चीनका लागि १६ औँ राजदूत हुन् ।


Author

थप समाचार
x