कूटनीति

फर्किए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

इकागज |
भदौ ३०, २०७९ बिहीबार ९:५३ बजे

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट बिहीबार बिहानै फिर्ता भएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले बिदाइ गरे ।  विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसमेत उपस्थित थिए । उनी सोमबार विशेष विमानबाट काठमाडौँ आएका थिए । चार दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय विभिन्न भेटवार्ता गरेका थिए।


राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेका थिए । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए। सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए। 

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए । परराष्टमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।


Author

थप समाचार
x