कूटनीति

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

इकागज |
असोज ४, २०७९ मंगलबार १७:४१ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत्, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेसियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गरेका छन् । 

आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् ।


'प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेसियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेसियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गर्नुभयो,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । 

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेसियाको सरकारलाई आग्रह पनि गरे । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोनेसियाली जनतालाई आग्रह गरेको ढकालले जानकारी दिए । 

उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेसियाली सरकारसमक्ष पुर्‍याउने बताए । 

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए । आगामी अक्टोबरमा इन्डोनेसियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवर्द्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताए । 


Author

थप समाचार
x