कूटनीति

नेपालमा कार्यरत जापानी स्वास्थ्य स्वयंसेविका सम्मानित

इकागज |
बैशाख १६, २०७८ बिहीबार १९:२५ बजे

काठमाडौँ : जापान सरकारले नेपालमा सन् १९८३ देखि कार्यरत जापानी स्वास्थ्य स्वयंसेविका यमाने मासाकोलाई सम्मान गरेको छ । उनलाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, सिल्भर रेज’ बाट सम्मानित गरेको हो । जापान सरकारले विदेशी नागरिकहरूलाई उपलब्ध गराउँदै आएको यो सम्मानका लागि यसै वर्षदेखि विदेशमा काम गर्ने जापानी स्वंयसेवकहरूलाई पनि सम्मान गर्न लागिएको हो । 

मासाकोको नेपालमा अद्वितिय स्वयंसेवाका लागि यो सम्मान दिइएको नेपालस्थित जापानी दूतावासले उल्लेख गरेको छ । उनले नेपालमा तीन दशक ग्रामीण स्वास्थ्य शिक्षा र सेवा केन्द्रसँग आवद्ध रहेर काम गरेकी थिइन् । सामाजिक र आर्थिक रूपमा विपन्न काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भागमा ग्रामीण र अर्ध सहरी क्षेत्रमा रहेर उनले काम गरेकी थिइन् । उक्त संस्थाको साख वृद्धि हुँदै देशभरबाट उपचारका लागि शोधपुछ हुन थालेको छ, यसले वार्षिक १५ हजार व्यक्तिलाई सेवा दिइरहेको छ । सन् २०१५ को महाभूकम्पपछि केन्द्रले चिकित्सक उपस्थित नहुने भूकम्प प्रभावित पहाडी क्षेत्रमा मोबाइल क्लिनिक सञ्चालन गरेको थियो । यसले ग्रामीण क्षेत्रमा मानिसहरूलाई आशा जगाउनुका साथै पीडाबाट मुक्ता गराएको थियो । 


जापान सरकारले मासाकोको योगदानलाई जापानका तर्फबाट नेपालमा महत्वपूर्ण सहयोगका रूपमा लिएको बताएको छ । यसअघि सन् २०१७ मा उनलाई राजदूतकोतर्फबाट प्रशंशा प्रदान गरिएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । 
 


Author

थप समाचार
x