कूटनीति

चिनियाँ राजदूत साेङको सक्रियता : दुई सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता

इकागज |
माघ १७, २०७९ मंगलबार १५:१४ बजे

फाइल तस्बिर

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन् साेङले दुई सातामा आठ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । गत पुस २४ (८ जनवरी)मा पदभार ग्रहणका लागि काठमाडौं आएका उनले गत २९ पुस (१३ जनवरी)मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । 

यसपछि उनले उच्चस्तरीय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । राजदूतको कार्यभार सम्हाल्न आएको एक सातापछि २ माघ (१६ जनवरी)मा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका थिए । 


यसपछि उनले ४ माघ ( १८ जनवरी)मा प्रमुख सत्तासाझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरे । सो भेटमा दुई देश तथा पार्टीबीचको सम्बन्धमा विषयमा कुराकानी भएको चिनियाँ दूतावासले जनाएको छ । 

एमाले अध्यक्ष ओलीलाई भेटेको दुई दिनपछि ६ माघ (२० जनवरी)मा राजदूत सोङले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई एकैदिन भेटेका थिए । उक्त भेटमा द्विपक्षीय सम्बन्धबारेमा विषयमा कुराकानी भएको जानकारी दिइएको थियो । 

देउवा, पौडेल र राईसँगको भेटेको एक सातापछि १५ माघ (२९ जनवरी)मा राजदूत सोङले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका थिए । यसपछि १७ माघ (३१ जनवरी) राजदूत सोङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेका छन् । 

मंगलबार भएको सो भेटमा मन्त्री भण्डारीले ताक्लाकोट, तिंकरलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा राजदूतको ध्यानाकर्षण गराएका छन् । 

जवाफमा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको बताए । 
कार्यभार सम्हालेसँगै भएको राजदूत सोङको भेटवार्तालाई शिष्टाचार भनिएको छ ।


Author

थप समाचार
x