अक्सिजन सिलिण्डर ल्याउन वाइडबडी जहाज चीन जाँदै
काठमाडौँ : चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए ३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइडबडी जहाज बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको हो ।
वाइडबडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइडबडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।
'चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामीले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ', उनले भने । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया