कूटनीति

परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

इकागज |
बैशाख ३१, २०८० आइतबार १८:२ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बंगलादेशको राजधानी ढाकामा उनीहरूबीच आइतबार भेटवार्ता भएको हो । 

भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलका क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ ।


उनी ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन शुक्रबार ढाका गएका थिए । ढाकामा रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । जयशंकरसँगको भेटघाटमा समग्र दुई पक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताएका थिए । 

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन भएको थियो ।

परराष्ट्रमन्त्री साउद आइतबार बेलुकी स्वदेश फर्किंदै छन् । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उनी बंगलादेश गएका थिए ।


Author

थप समाचार
x