कूटनीति

प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारको भेट

इकागज |
जेठ १७, २०८० बुधवार १९:५४ बजे

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका छन् । चार दिने भ्रमणका क्रममा आज दिउँसो नयाँ दिल्ली पुगेका प्रचण्डलाई उनीहरूले प्रचण्ड बसेको होटेल मयुर्या पुगेर भेट गरेका हुन् । 

यस्तै प्रचण्डको सम्मानमा नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् । आज दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश राज्य मन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी हुन् ।


आजै साँझ भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

बिहीबार प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने छन् । दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन हुनेछ । भोलि (बिहीबार) नै मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने छन् । काठमाडौँ फर्कनुअघि प्रचण्डले मध्य प्रदेशको उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x