कूटनीति

आप्रवासी श्रमिकको ‘मानव अधिकार संरक्षण’ सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

इकागज |
जेठ २६, २०८० शुक्रबार १४:२७ बजे

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच आप्रवासी कामदारको मानव अधिकार संरक्षण सम्बन्धी  समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय मानव अधिकार समिति, कतारका उपाध्यक्ष डा. मोहम्मद सैफ अल कुवारीबीच बिहीबार काठमाडौँमा भएको एक समारोहमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारीपत्रको अवधि तीन वर्षका लागि हुने बताइएको छ ।


समझदारीपत्रमा आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणका लागि गुनासो तथा उजुरीहरूको सम्बोधनमा सहयोग गर्ने, दुवै पक्षले एक अर्काको देशमा रहेका नागरिकहरूको मानव अधिकार र स्वतन्त्रताको उल्लङ्घनका घटनाहरूबारे पारस्परिक जानकारी र सहयोग गर्ने, सूचना आदानप्रदान, श्रमिक, रोजगारदाता र प्रबन्धक, श्रमिक संघ र कूटनीतिक नियोगहरूलाई आप्रवासी श्रमिकको अधिकारका सवाल, विद्यमान कानुन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू र आइएलओ श्रम महासन्धिबारे प्रशिक्षण सञ्चालन गर्ने एवं आप्रवासी श्रमिकहरूलाई कानुनी सहयोगलगायतका विषयहरू रहेका छन् । 

समझदारी पत्रमा उल्लिखित उद्देश्यहरूको कार्यान्वयनका चरणहरूको अनुगमन र मूल्याङ्कन गर्न र आवश्यकता अनुसार सहयोगका क्षेत्रहरूको पहिचान गर्न दुवै पक्षका प्रतिनिधिहरूबीच प्रत्येक ६ महिनामा नियमित बैठक बस्ने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बताए ।  

हस्ताक्षर समारोहमा बोल्दै आयोगका अध्यक्षले मानव अधिकारसम्बन्धी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कानुन, संयन्त्र, र नीति तथा योजनाहरू हुँदा समेत आप्रवासी श्रमिकहरूले विभिन्न प्रकारका समस्या भोग्नुपरिरहेको बताए ।

सोही अवसरमा राष्ट्रिय मानव अधिकार समिति कतारका उपाध्यक्ष कुवारीले कतारमा हाल चार लाख भन्दा बढी नेपाली आप्रवासी श्रमिकहरू रहेको बताउँदै

समझदारी पत्रमा भएको हस्ताक्षरबाट उनीहरूको अधिकारका सम्बन्धमा सूचना आदानप्रदान गर्न र मानव अधिकारका सवालहरूको सम्बोधनमा सहयोग पुग्ने भनाई राखे ।  

हस्ताक्षर कार्यक्रममा विभिन्न विषय गत आयोगका अध्यक्ष, आयोगका सदस्य, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोग, आप्रवासी कामदारका अधिकारको क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, आयोगका कर्मचारीहरूको सहभागिता रहेको थियो । 


Author

थप समाचार
x