कूटनीति

परराष्ट्रबाट पर पुगेको कूटनीतिलाई भरतको भर

चन्द्रशेखर अधिकारी |
मंसिर ८, २०७७ सोमबार १४:३८ बजे

काठमाडौं :‘पूर्वी नेपालमा शरणार्थी जीवन बिताउन बाध्य भुटानीलाई विनासर्त स्वदेश फिर्ता गर्न आवश्यक छ,’ शरणार्थी मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) मा सम्भवतः कूटनीतिक तवरबाट पहिलोपटक भुटानी शरणार्थी मामिला स्पष्ट राख्दै भुटानले तत्काल फिर्ता लिनुपर्छ भन्ने व्यक्ति हुन्, भरतराज पौड्याल । उनी जेनेभामा कार्यवाहक राजदूत रहँदा सन् २०१० को आरम्भमा त्यस्तो बताएको स्मरण गर्छन्, यूएनएचसीआरकै उच्च अधिकारी । दुई दशकदेखि शरणार्थी जीवन बिताउन बाध्य भुटानीहरू नेपालको फितलो कूटनीतिक प्रदर्शनीले सन् २००८ देखि स्वदेश होइन, तेस्रो मुलुक पुनःस्थापना कार्यक्रमअन्तर्गत जान थालिसकेका थिए ।

जटिल विषयमा उनलाई त्यतिबेला नेपाल सरकार मात्र होइन, कुनै छिमेकी वा शक्ति राष्ट्र डराउँछन् भन्ने नै लागेन । उनले सिधै भुटानी शरणार्थी समस्याको समाधानको पाटोमा राष्ट्रसंघमा मुलुकको वास्तविक धारणा राखिदिए । साँध जोडिएको मुलुकमा नभई अर्को मुलुकमा थोपरिदिएको समस्यालाई राष्ट्रसंघले के हेरेको छ भन्दै उनले राष्ट्रहितलाई ध्यानमा राखेर उनले त्यस्तो धारणा व्यक्त गरेका थिए । त्यो बोली र अडानले मुलुकलाई फाइदा गर्‍यो, तर उनको ‘करिअर’मा भने केही हदसम्म असर गरेको थियो, यद्यपि उनले त्यसमा गुनासो गरेनन् । उनको त्यही धारणापछि शरणार्थी समस्याले फरक मोड लिँदै समाधान उन्मुख हुँदै अहिले थोरै संख्यामा पूर्वी नेपालमा छन् । र, पहिले जस्तो दैनिक समाचार भुटानी शरणार्थीको बनेको पनि छैन ।


भारतीय कूटनीतिज्ञ र अन्य अन्तर्राष्ट्रिय समुदायसँग शरणार्थीको विषयमा बहस गर्ने उनै व्यक्ति गत असोज २३ देखि मुलुकको पहिलो कूटनीतिज्ञ (फस्ट डिप्लोम्याट) अर्थात् परराष्ट्र सचिव बनेका छन् । परराष्ट्र सचिव शंकरदास बैरागी मुख्यसचिव बनेपछि उनले त्यो कमाण्ड पाएका हुन् । बैरागीले झैँ सात वर्ष काम गर्न नपाए पनि पौड्यालले करिब तीन वर्ष त्यहाँ काम गर्नेछन् । तीन वर्ष पनि काम गर्नेका लागि पर्याप्त समय हो । उनको कार्यकालमा बढी कूटनीतिक अनुभव हासिल गरेका सारथि परराष्ट्र मन्त्रालयमा छन् । यो संयोग परराष्ट्र मन्त्रालयमा अहिलेसम्मकै पहिलो हो । मन्त्रालयको दरबन्दीमा कुनै कमी छैन । मिसनहरू धेरै खाली भएर रोइकराई गर्नुपर्ने र भर्खर प्रवेश गरेका कनिष्ठले सम्हाल्नुपर्ने स्थिति पनि छैन ।

राजदूतको कार्यकाल सकी फर्किएका र फर्कन लागेका पुरानामध्येका लोकबहादुर थापा (बेल्जियम/ईयू), दुर्गाबहादुर सुवेदी (बेलायत), प्रकाश सुवेदी (अस्ट्रिया), ताराप्रसाद पोखरेल (ब्राजिल), कालीप्रसाद पोखरेल (क्यानडा), यज्ञबहादुर हमाल (कुवेत) र सेवा लम्साल (पाकिस्तान) लगायतले महाशाखाको नेतृत्व गरिरहेका/गर्दैछन् । उनीहरूको अनुभव उपयोग गरेर मन्त्रालयललाई थप बलियो र अब्बल बनाउने अवसर पौड्यालसामु छ । उनीहरूमध्ये कालीप्रसाद पोखरेल र यज्ञराज हमाल केही महिनामा सेवानिवृत्त हुने भए पनि अन्यको हकमा समय छ ।

कुनै-कुनै मुलुकमा परराष्ट्र मन्त्रीलाई पहिलो कूटनीतिज्ञ भनिए पनि वास्तवमा कर्मचारी (स्थायी सरकार) बाट आउनेहरूलाई पहिलो कूटनीतिज्ञ मानिन्छ । पौड्याल राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संगठन महाशाखा प्रमुखमा रहेर उनी अन्तर्राष्ट्रिय कार्यक्रममा सकेसम्म आफैँ जाऊँ र बोलूँ भन्थे । त्यहीकारण उनलाई ‘भ्रमणप्रेमी’ समेत भनियो ।

घुम्नभन्दा पनि उनी त्यस्तो ‘कन्फरेन्स’ मा डटेर मुलुकका कुरा राख्न स्वयं जाने गरेको उनी साथीमाझ खुलाउँथे । कानुन अध्ययन गरेका उनी काउन्टर जवाफ दिन माहिर कूटनीतिज्ञका रूपमा चित्रित छन् । लामो बहस र नेपाल सरकारको धारणा स्पष्ट राख्न सक्ने उनी पाकिस्तानका लागि नेपालका राजदूत भएर काम गर्दा इराक र अफगानिस्तानमा फसे/समस्यामा परेका नेपालीको उध्दार स्वागतयोग्य थियो । त्यतिबेला उनले सबैबाट वाहवाही पाएका थिए ।

उनी आफ्ना ब्याचका एक्ला व्यक्ति भएका कारण परराष्ट्र मन्त्रालयमा उनको कुनै गुट/उपगुट छैन ।

परराष्ट्र सचिवको रोलमा रहेका कारणले नै होला, उनले अर्को जिम्मेवारी नलिइकन राष्ट्रसंघ महाशाखा र प्रवक्ताका रूपमा परराष्ट्रमा रहेर काम गरे । उनका लागि यो पर्खाइ लामोझैँ लागे पनि सुखद रह्यो । उनले सोेचेकै पद पाए । यूएनएचसीआरका पूर्वआर्थिक सल्लाकार विनोद सिजापतीले पौड्याल परराष्ट्र सचिव हुनेबित्तिकै इकागजसँग भनेका थिए, ‘मैले जेनेभामा बसेर धेरै राजनीतिज्ञ, कूटनीतिज्ञ, कर्मचारी भेटेको छु । तर पौड्याल पहिलेदेखि फरक लाग्थ्यो । राष्ट्रियताका कुरामा अडिग कूटनीतिज्ञ हुन् उनी ।

भुटानी शरणार्थीलाई देखाएर कैँयन् नेताहरू जेनेभा गए । तर कसैले भुटानी शरणार्थीबारे यथार्थ बोल्न सकेनन् । छिमेकी वा शक्ति मुलुक रिसाउला भन्ने पर्‍यो ।’ खरो तर यथार्थ लेख्ने सिजापतीले सरकारको राम्रो साथ रहेमा भरतजीले परराष्ट्रमा केही परिवर्तन गर्नसक्ने क्षमता राख्ने बताए । उनै भरत चार वर्षभन्दा बढी समयदेखि सचिवको निकट रहेर काम गरेको थिए नि भन्दा उनले भने, ‘पहिलो कूटनीतिज्ञ हुनु र सारथि हुनुमा फरक छ । उहाँले सुझाउन सक्नुहुन्थ्यो होला, तर निर्णय लिन सक्नु हुन्थेन, सायद ।’

ठूला कूटनीतिज्ञ भन्नेहरू पनि त्यस्ता कुरा नराखी शक्ति राष्ट्र रिझाउन लागे, तर पौड्यालले त्यो बाटो नरोजेकाले उनलाई सकारात्मक दृष्टिले हेर्छन्, सिजापती । नेपाल र भुटानबीच विभिन्न चरणमा वार्ताहरू चलिरहेको थियो । युएनएचसीआरकै सहयोगमा भुटानीहरूको बस्ने खाने व्यवस्था भएको थियो । तर मुलुकको यथार्थ अवस्था भने उच्चायुक्तको कार्यालयमा औपचारिक रूपमा राखेको पौड्यालले नै हो, सिजापतीले दाबी गरे । नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानीहरू सन् २००८ देखि नै तेस्रो मुलुकमा पुनर्वास सुरु भइसकेको थियो । तर, त्यति बेलासम्म पनि अन्तर्राष्ट्रिय फोरममा भुटानले गरेको ‘बदमासी’ र भारतले नेपाल भित्र्याइदिएको विषय औपचारिक रूपमा दस्तावेजीकरण हुन सकेको थिएन । सबै नेता वा कर्मचारी बाहिर बोल्थे/भाषण गर्थे तर वास्तविक फोरममा उठाएका थिएनन् । सबै रिझाउने कूटनीतिमा थिए सायद ।

त्यही समयपछि तेस्रो मुलुक पुनःस्थापनासँगै बाँकी रहेकालाई भुटानले लिने विषय टड्कारो रूपमा अघि बढ्यो । तर, बाँकी रहेका शरणार्थी फर्काउनुपर्ने जिम्मेवारी अब उनै पौड्यालको शिरमा छ । भर्खरै मात्र उनीहरूको पुनःगणना सुरु भएको छ । थोरै संख्यामा मात्र भुटानी शरणार्थी बाँकी छन् । उनीहरू तेस्रो मुलुक जान अस्वीकार गरेर आफ्नो घर फर्कने अडानसहित रहेका हुन् । हुलाकमा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका पौड्याल १८ वर्षअघि परराष्ट्र मन्त्रालयमा प्रतिस्पर्धामा उपसचिव भएर आएका हुन् । उनी आफ्ना ब्याचका एक्ला व्यक्ति भएका कारण परराष्ट्र मन्त्रालयमा उनको कुनै गुट/उपगुट छैन । कम अध्ययन गर्ने, लेखपढमा भन्दा गफ र मन्त्री सचिवको अघि-पछि लाग्नेलाई उनी खासै रुचाउँदैनन् । आफूभन्दा जुनियरलाई बाबु-नानी भन्न रुचाउने उनी आफ्नो समूहमा एक्ला भए पनि उनीसामु जथाभावी बोल्ने र बकुम्फुसे गफ गर्ने आँट मन्त्रालयका कर्मचारीहरूले पहिलेदेखि गर्दैनन् ।

उनको कमजोरी भनेको उनी झट्ट रिसाउँछन् र छिनमै सेलाउँछन् पनि । कसैले कुरा लाइहालेमा निकै विश्वास गरेकामाथि आशंका राख्छन् । उनी निकै फर्मल (औपचारिक) हुन्छन् । कतिपय स्थानमा अनौपचारिक बन्नुपर्ने भनिए पनि उनी त्यसलाई वास्ता गर्दैनन् । पौड्यालले अन्यले झैँ यो गर्छु र त्यो गर्छु भनेका छैनन् । पौड्याल भन्छन्, ‘मन्त्रालयलाई थप बलियो, चुस्त र सबल बनाउने प्रयासमा साथीहरूसँगै उभिएर यात्रा गर्नेछु । यहाँहरूको साथ सहयोगको अपेक्षा पनि राख्छु । मुलुक बलियो बनाउन सबैको सहकार्य आवश्यक छ ।’

विश्वमा नै खासगरी रक्षा, अर्थ, गृह र परराष्ट्रको ओज बढी हुन्छ । त्यसमा पनि रक्षा र परराष्ट्रलाई महत्व दिइन्छ । तर हामीकहाँ परराष्ट्र मन्त्रालय राजनीतिज्ञको पहिलो रोजाइमा पर्दैन । अन्यत्र नपाए परराष्ट्र भए पनि हुन्छ भनिन्छ । तर कर्मचारीले भने यो सेवालाई पृथक् ठान्छन् ।

कूटनीतिबाट कुनै पनि उपलब्धी आजको भोलि हासिल हुँदैन । यो प्रक्रियागत कार्य हो । 

हुन पनि कूटनीतिक सेवामा प्रवेश गर्नेहरूको रहरमा राजदूत अनि परराष्ट्र सचिव बन्ने नै हुन्छ । त्यसका लागि कोही क्रमशः बढुवा हुँदै अघि बढ्छन् भने कोही बीच-बीचमा प्रतिस्पर्धा गर्दै सहसचिवसम्म पुग्छन् । त्यही सहसचिवमध्येबाट एक जना सचिव हुन्छन् । यतिखेर प्रतिस्पर्धामा तीन जना थिए । पौड्यालले वरिष्ठताका आधारमा बाजी मारेका हुन् । उनी सहसचिव भएको र मन्त्रालय प्रवेश दुवै पाटोबाट उनी माथि रहेका छन् । उनले सबै महाशाखाको ब्रिफिङ सकेर आफ्नो धारणा सुनाउने बताएका छन् ।

विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरू सचिवकै प्रत्यक्ष निगरानीमा सञ्चालन हुन्छन् । उनले कूटनीतिक आचार-संहिता पालनादेखि छिमेकी र शक्ति मुलुकसँग दुईपक्षीय सहकार्यका कँैयन् बैठक अघि बढाउनुपर्ने हुन्छ । भारत र चीनको चेपसँगै अमेरिकी र युरोपेली राप/तापलाई मिलाउनुपर्ने हुन्छ ।

नेताहरूले जथाभावी बोलेर बिगारेका सम्बन्ध सुधार गर्ने जिम्मेवारी पनि परराष्ट्रकै हो । त्यसमा उनी चनाखो बन्नैपर्छ । परराष्ट्रका सबै महाशाखा सचिवअन्तर्गत हुन्छन् । महाशाखा प्रमुख सहसचिव हुन्छन् भने उनीअन्तर्गत उपसचिव, शाखा अधिकृत, नायब सुब्बा पद रहन्छन् । हाम्रो ३० मुलुकमा दूतावास, तीन राष्ट्रसंघीय स्थायी नियोग र ६ सहरमा महावाणिज्य दूतावासहरू छन् । त्यो स्वाभाविक पदबाहेक जथाभावी अवैतनिक दूत (राजनीतिक स्वार्थ र नेताले गएर खाना खाएको आधारमा) जथाभावी नियुक्त गरेर कूटनीतिलाई मजाक बनाएको विषयलाई पनि उनले ध्यान दिन सक्नुपर्ने छ ।

विशेष गरी राजपत्रांकित अधिकृतमा सेवा प्रवेश गरी महाशाखामा काम गर्दै राजदूत भएर काम गरिसकेकाहरू सचिव हुँदाको ओज फरक हुन्छ । अहिले त्यो ओज देखिएको छ । परराष्ट्र सेवा सुरक्षा संयन्त्र जस्तै संवेदनशील सेवा पनि हो । विभिन्न देशका थरीथरीका कूटनीतिज्ञसँग पौँठेजोरी खेल्दै काम गर्नुपर्ने हुन्छ । हामीकहाँ अझै क्षेत्रगत विज्ञ र ‘गुड नेगोसियटर’ भनेर चिनिने कूटनीतिज्ञको अभाव छ, त्यसमा पौड्यालले जोड दिनुपर्ने हुन्छ । 

बेलाबेलामा चर्चामा आएर सेलाउने भाषागत विज्ञतालाई परराष्ट्रले जोड दिनुपर्ने देखिएको छ । सिके पनि हुने, नसिके पनि हुने तवरले कामचलाउ होइन । उनी प्रवक्ता हुँदा पनि झेलेको विषय हो, नियमित पत्रकार सम्मेलन । परराष्ट्रले पत्रकार पनि मुलुक हितमा नै काम गर्ने कूटनीतिको एक माध्यम हुन् भन्ने बुझ्न आवश्यक छ । यस अलवा मन्त्रालयले सामाजिक सञ्जालमार्फत कूटनीतिक काम-कारबाहीलाई बाहिर ल्याउन नियमित काम गर्न सक्नुपर्छ । 

कूटनीतिबाट कुनै पनि उपलब्धी आजको भोलि हासिल हुँदैन । यो प्रक्रियागत कार्य हो । यस्ता विषयलाई ध्यान दिँदै उनले कुनै गुटको चंगुलमा नपरी कसैलाई लाखापाखा र सीमित स्वार्थ नहेरी काम गरेमा परराष्ट्र सेवाले उचाइ लिन सक्नेछ भने सुदृढ र अब्बल मात्र होइन, असल कूटनीतिज्ञ उत्पादन गरिने केन्द्रका रूपमा यो सेवा अघि बढ्न सक्छ ।

एक दशकअघि देखि निकै राम्रा र अब्बल ब्यक्ति सेवामा प्रवेश भएका भए पनि उनीहरूलाई पुरानै शैलीमा लैजानुभन्दा नयाँ ढंगले मुलुक हितमा उपयोग गर्दै पोस्टिङ मानसिकताबाट बाहिर ल्याउन र राजनीतिक दलको कार्यकर्ताबाट टाढा राख्न पौड्याललाई सहज भने छैन ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x