कूटनीति

भारतीय विदेश सचिव आउँदै

कूटनीतिक च्यानलबाटै सम्बन्ध अघि बढाउँदै

इकागज |
मंसिर ८, २०७७ सोमबार १७:२५ बजे

काठमाडौं : नेपाल र भारतबीचको औपचारिक वार्ता कूटनीतिक च्यानलबाट अघि बढ्ने भएको छ । दुवै मुलुकको सबै विषयमा छलफल र समिक्षा हुने आधिकारिक च्यानल भनेको नै परराष्ट्र सचिवस्तरको वार्ता हो । त्यो वार्ता आगामी विहिबार काठमाडौंमा हुने भएको छ । दुवै मुलुकका परराष्ट्र सचिव नेतृत्वको टोलीले नेपाल र भारतका विविध विषयमा मन्थन गर्नेछन् ।

उनीहरुको वार्ता हुने विषय दुवै मुलुकको परराष्ट्र मन्त्रालयले सोमबार औपचारिक रुपमा बाहिर ल्याएका हुन । यस विषयलाई उनीहरूले पहिले नै पुष्टि गरेको भएपनि तिथि भने दुवै पक्षले सोमबार एकै समयमा सर्वाजनिक गरेका छन्  । प्रायः यस्ता भ्रमणका विषयमा दुवै मुलुकले एकै पटक तिथि सार्वजनिक गर्छन् । 
 
दुवै पक्षको विज्ञप्ती अनुसार भारतीय विदेश सचिव हर्षवर्दन श्रृंगला विहिबार काठमाडौं आएर दुईपक्षीय वर्ता अघि बढाउने छन् । उनी दुई दिने औपचारिक भ्रमणको लागि काठमाडौं आउन लागेका हुन् । उनले एक रात काठमाडौंमा बिताउने छन् । 


पराराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनी परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणमा लागि ११ गते काठमाडौँ आउन लागेको उल्लेख छ । मन्त्रालयले भ्रमणलाई दुई मुलुकबीचमा उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भनेको छ । 

भ्रमणको पहिलो दिन दुई मुलुकका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरूमा वार्ता गर्नेछन् । सोही दिन श्रृंगलाले राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय भएको छ । 

‘भ्रमणको दौरानमा उनले नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरूसँग भेटघाट गर्नेछन् । भेटमा दुई पक्षीय सहकार्यका विभिन्न क्षेत्रहरूको बारेमा कुराकानी हुने छ,’ भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै भनेको छ । नेपाल र भारतबीच सीमाको विषयले चिसिएको सम्बन्ध अघि बढाउन यो भ्रमण उपयोगी हुने परराष्ट्रका अधिकारीहरूले बताएका छन् । 

नेपाली भाषामा नै कुराकानी गर्न सक्ने श्रृंगलाले गर्ने राजनीतिक भेटघाट पनि निकै अर्थपूर्ण हुनसक्छ । उनी आउनु अघि नै भारतीय रिसर्च एण्ड एनालिसिस विङ (रअ) का प्रमुख सामान्त कुमार गोयल, स्थल सेनापति मनोज मुकुन्द रनवणेको भ्रमणले नै नेपाल भारतको सम्वन्ध सुचारु हुन लागेको भन्ने सन्देश दिएको थियो । तर, धेरैलाई सम्बन्ध अर्कै ढंगले अघि बढ्न सक्ने आशंका भइरहेको अवस्थामा परराष्ट्रस्तरबाट हुने सहकार्यले फरक राजनीतिक सन्देश दिनेछ । 

हुनपनि भारतीय विदेश मन्त्रालयले यो भ्रमणलाई परम्परादेखि उच्च तहमा हुँदै आएको दुई पक्षीय भ्रमणको आदान प्रदान भनेको छ । यससँगै भारतले नेपालसँगको उच्च सम्बन्धको निरन्तरता पनि भनेको छ । ‘नेपाल र भारतबीच ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । पछिल्लो समयमा दुई पक्षीय सम्बन्ध सुदृढ भएको छ । भारतको सहयोगमा धेरै पूर्वाधार र सीमापार परियोजनाहरु संचालन भइरहेको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ, ‘भारत र नेपालबीच रहेको ध्दिपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ ।’ 

नेपाल र भारतको सम्वन्धको चर्चासँगै नेपालले चीनसँगको सहकार्य पनि उत्तिकै महत्वपूर्ण बनाएको छ । सृंगला फर्केको पर्सिपल्ट चीनबाट रक्षामन्त्री वेई फेङ्हे पनि नेपाल भ्रमणमा आउने भएका छन् । यसबाट नेपालको औचित्य बढ्दो र भूराजनीतिक राडरको बीचमा रहको स्पष्ट सन्देश दिएको छ । नेपालको खास महत्व नरहेको भन्दै आएकाहरूले यस्ता भ्रमणलाई मात्र होइन ति मुलुकहरुले नेपाललाई दिएको महत्वको बारेमा अध्ययन गर्न जरुरी रहेको परराष्ट्र अधिकारीहरू नै सुझाउँछन् । 
 


Author

थप समाचार
x