कूटनीति

छरछिमेक सबैतिर परराष्ट्रमा विज्ञ नै विज्ञ, हामीकहाँ भने ‘सर्वज्ञ’

चन्द्रशेखर अधिकारी |
जेठ २६, २०७८ ७:११ बजे

काठमाडौँ : महाव्याधिबीच बंगलादेशले खोप खरिदमा यस्तो गर्‍यो, माल्दिभ्स यसो गर्दै छ, भुटानसमेत अब्बल देखिएको छ । भारतको त कुरै छाडौँ । हाम्रो कूटनीति कमजोर बन्यो । परराष्ट्र मन्त्रीले कुनै क्षमता नै प्रदर्शन गर्न सकेनन् ? कहीँ-कतै आफ्नो कुरा राख्‍न सकेनन् ।

यी सवाल यतिखेर हाम्रै कूटनीतिक वृत्तमा गफिने विषय बनेका छन् । अनि यस्तै चिन्ता र चिन्तन प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका होलान् त ? अनि समकालीन राजनीतिज्ञमा योजनाबद्ध सोच छ त ? उनका क्रियाकलाप हेर्दा निष्कर्षमा पुगिन्छ, ‘अवश्य छैन ।’ किनकि त्यसो हुन्थ्यो भने रत्ति पनि जानकारी नभएका व्यक्तिलाई पक्कै मन्त्री बनाइँदैनथ्यो, र त्यो निकायको हाकिम पनि ।


ADVERTISEMENT

अरु मन्त्रालयमा जे-जे भए पनि परराष्ट्र, अर्थ, जलस्रोत, गृह, रक्षाजस्ता मन्त्रालयमा त्यहीअनुरूपको विज्ञता, पृष्ठभूमि र क्षमता भएको कुशल व्यक्ति खोजिन्छ, पदमा आसीन गराएपछि सिक्दैमा समय खेर फाल्ने व्यक्ति होइन । तर, कामचलाउ ओली सरकारद्वारा नियुक्त पात्रको अनुहार सम्झनुहोस्, पृष्ठभूमि हेर्नुहोस् । सहजै निष्कर्षमा पुगिन्छ कि ओली मुलुकलाई ‘असफल राज्य’मा परिणत गर्न चाहन्छन् । त्यहीकारण त हरेक ठाउँमा क्षमताविहीन पात्र नियुक्त हुन्छन् ।

अनि पछिल्लो मन्त्रिपरिषद् पनि त्यसमा अछुतो रहने कुनै सवाल नै रहेन । अनौठो चाहिँ ओली आफैँले ‘अक्षम’ भनी फालिएकै व्यक्तिलाई डेढ वर्षमा नै बढुवासहित अर्थात् उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनाइन्छ । त्यो पनि परराष्ट्रको कुनै पृष्ठभूमि नै नभएका पात्र, रघुवीर महासेठलाई । त्यसो त, परराष्ट्रमा महासेठ मात्र होइन, हरेक पात्रलाई त्यसरी ‘टिपिएको’ र आश्चर्यजनक ‘अवसर’ दिइएको छ । तिनले ‘अवसर’ पाए होलान्, मुलुकले चाहिँ दुर्भाग्यपूर्ण नियति खेप्‍नुपरेको छ ।

अनि परराष्ट्रमन्त्री, धेरै टाढा जानुपर्दैन, दक्षिण एसियाली मुलुक मात्रै हेरे पुग्छ ? कस्ता परराष्ट्रमन्त्री बनेका छन् ? विकसित मुलुकमा होस् या विकासोन्मुख, जहाँ साँच्चै मुलकमा विकास चाहँदा र बाह्य जगत्सँग सहकार्य गर्न खोज्दा त्यही प्रकृतिका काबिल परराष्ट्रमन्त्री बनाइन्छ । अनि त्यत्तिकै काबिल व्यक्तिलाई राजदूत पनि । भर्खरै सेवा निवृत्त परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकै सिफारिसमा राजदूत नियुक्त पात्रहरूको ‘कूटनीति’मा ‘शून्य’ अनुभव । नियुक्ति पाएकाहरूले भनिसके, ‘राजदूत हुँदै त्यही मुलुकमा कूटनीति सिक्ने ?’

अब, तपाईंहरू स्वयं अनुमान लगाउन सक्नुहुन्छ, सेवा निवृत्त परराष्ट्रमन्त्री ज्ञवाली र निर्णयकर्ता केपी शर्मा ओलीको शैली । परराष्ट्र मन्त्री र राजदूत हुन कुन स्तरको काबिल ‘धातु’ चाहिन्छ भन्‍ने चेतनास्तर न्यून ।

परराष्ट्र मन्त्री र राजदूत नियुक्ति त यस्तो छ, राज्य संयन्त्रमा अरु कस्ता पात्र नियुक्त भए होलान् ? तपाईं निकाय हेर्नुस्, नियुक्त पात्रहरूबीच ‘तालमेल’ खोज्‍नुस् । दुर्भाग्य चाहिँ जतिसुकै नालायक पात्र भए पनि तिनको सुविधाका निम्ति नागरिकको कर खुवाउनुपर्छ, अनि तिनकै कारणले मुलुकले अधोगति खेप्‍नुपर्छ ।

हामीकहाँ ओभरसियर मुस्किलले पास गरेका, ठेक्कापट्टामा रमेका, राजनीतिमा लागेर अध्ययन गर्न पाइनँ भन्‍ने व्यक्तिलाई परराष्ट्रमन्त्री, राजदूत बनाउनुको कारण के होला ? विदेशमा विशिष्ट श्रेणीको व्यक्तिले भेटघाट गर्नुपर्ने अवस्था आएमा बायोडाटा माग्ने र त्यो हेरेका आधारमा भेट दिने चलन छ ।

हाम्रा मन्त्रीले अन्य विश्वको कुरै छाडौँ, दुई छिमेकी र यो क्षेत्रका कस्ता मन्त्रीसँग वार्ता गर्नुपर्छ ? ती देशका विदेशमन्त्रीले हाम्रालाई कति भाउ देलान् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव भइसकेका डा. एस जयशंकरलाई विदेश मन्त्री बनाइरहँदा नेपालमा ज्ञवाली परराष्ट्रमन्त्री थिए । अनि सम्झन्थे, ‘विदेश सचिव हुँदा नेपाल आउँदा भएका राजनीतिक भेटघाट र उनले मिडियासँग गर्ने अन्तरक्रिया ।’ अनि झन् सम्झे, ‘नेपाल-भारत संयुक्त आयोगको बैठकमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले डा. एस जयशंकरलाई झण्डै दुई घण्टा होटलमा कुरेको ।’

उनी ‘करिअर डिप्लोम्याट’ हुन् । त्यो पनि भारत जस्तो मुलुकमा सेवा आयोग लड्दै अघि बढेका । त्यसपछि आफ्नो ब्याचबाट माथि उठ्दै विदेश सचिव भए । उनी अमेरिका, चीन, सिंगापुर र चेक रिपब्लिकमा राजदूत हुँदै काम गरेका व्यक्ति । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । उनको त्यही ज्ञान र कूटनीतिक अभ्यासका कारण मोदीले उनलाई रोजे । मोदीले आफू बृहत् अध्ययन नगरेको भए पनि उनले हरेक ठाउँमा ‘पूर्ण अध्ययन’ गरेका व्यक्ति नियुक्त गरे । अनि अघि बढे ।

अर्को छिमेकी चीनतिर हेर्नुस्, वाङ यी विदेश मन्त्री छन् । उनी पनि अर्थशास्त्रमा स्नातकोत्तर र अन्य भाषामा दखल राख्‍ने व्यक्ति हुन् । उनी ‘करिअर’ कूटनीतिज्ञका रूपमा पार्टी भित्रबाट आएका व्यक्ति हुन् । इन्टेलिजेन्स, एसिया मामिला प्रमुख, जापानको राजदूत भइसकेका खारिएका कूटनीतिज्ञ हुन् । अनि न उनलाई ‘स्टेट काउन्सिलर’सहित मन्त्रीका रूपमा सी चिनफिङले चयन गरे ।

यहाँझैँ यसलाई मन्त्री देऊ न भनी बनाइएको होइन । उसलाई ल्याउँदा के होला ? कूटनीतिमा कहाँ, कसरी फड्को मार्न सक्छन् ? रौँ-केस्रा हिसाब गरी जिम्मेवारी दिन्छन् । अनि हामीकहाँ कस्तो हिसाब गरिएको छ, यो पढिरहनुभएका पाठकहरूले देख्‍नुभएकै छ ।

नेपालमा बेला-बेलामा बंगलादेशले कूटनीतिमा फड्को मार्‍यो, कूटनीतिमा लगानी गरेको छ भनिन्छ । त्यो बंगलादेशले कसरी यस्तो काम सफल बनायो ? उसको आफ्नै संघर्ष र सफलताको कथा छ । उसले कूटनीतिक सेवामा के गर्‍यो, राजदूतलाई कस्तो जिम्मेवारी तोकेर के-के तार्गेट दिएर पठायो । त्यो अर्को कुनै लेखमा लेखौँला ।

यद्यपि बंगलादेशमा परराष्ट्र मन्त्री जो छन्, उनको हैसियत हेर्ने हो भने स्पष्ट हुन्छ, ‘उनी भिजिटिङ प्रोफेसर’ हुन् । उनले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका हुन् । अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर, विकास अर्थशास्त्रमा एमए र अर्थशास्त्रमा नै पीएचडी गरेका छन् । उनीसँगै काम गर्ने विदेश राज्यमन्त्रीको शैक्षिक योग्यता पनि कम छैन ।  

हामी भुटानसँग हारेको कूटनीतिको व्याख्या गर्छौँ । तर, हामीले कस्ता पात्रलाई परराष्ट्र मन्त्री बनायौँ ? अनि भुटानमा कस्ता व्यक्ति बनेका छन् भन्‍ने चाहिँ कहिल्यै बहस नै गर्दैनौँ । अहिले अनुभवी नभएको भनिएको भुटानको परराष्ट्र मन्त्री नै हेरौँ अनि भारतका कारण भुटानले हामीलाई टेरेन भनौँ । वास्तविकता फरक छ  । भुटानी विदेश मन्त्रीले नै हाम्रालाई दुईपक्षीय बैठकमै ‘सिनित्तै’ पारिदिन्छन्, उच्चस्तरको योग्यताका कारण ।

भुटानी विदेशमन्त्री डा. टान्डी दोर्जी पेसाले एमडी गरेका वरिष्ठ चिकित्सक हुन् । उनले बंगलादेशबाट एमबीबीएस र भारतबाट एमडी गरिरहेका छन् । उनले चिकित्सा सेवासँगै अन्तर्राष्ट्रिय पब्लिक हेल्थमा अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयबाट स्नातकोत्तर र अन्तर्राष्ट्रिय कानुन तथा व्यापारमा क्यानबेरा विश्वविद्यालयबाट पनि स्नातकोत्तर एवं एमफिल गरेका छन् ।

यतिबेला विश्वमा माल्दिभ्सको कूटनीतिको पनि उत्तिकै कुरा हुन्छ । त्यो मुलुकको परराष्ट्रमन्त्री अब्दुल साहिद आफैँमा ‘करिअर डिप्लोम्याट’बाट राजनीतिमा आएका राष्ट्रसंघ नै हल्लाएका व्यक्ति हुन् । उनको अध्ययनको दायरा पनि फराकिलो छ । उनी अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर हुन । उनले राजनीतिशास्त्रको अध्ययन गरेका छन् । त्यो पनि अस्ट्रेलियाको क्यानबेरा विश्वविद्यालयबाट ।

उनी आफू मन्त्री भएपछि आफूअन्तर्गत समूह नै बनाएर विविध विषयमा बहस गर्ने र निर्णयमा पुग्ने गर्छन् । सार्कका पूर्वमहासचिव अहमद सलिमसमेत उक्त टिममा छन् । यसरी उनीहरू कूटनीतिको क्षेत्रमा निकै मेहनत गरेर सानो पनि गल्ती हुनै नदिने गरी काम गरिरहेका हुन्छन् ।

पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरेसी पनि योजना आयोगको नेतृत्व अनि अनेक पटक मन्त्री हुँदै विदेश मन्त्रीका रूपमा छन् । उनले पनि बेलायतमा अध्ययन गरेका हुन् । उनले कानुनका साथै विकास अर्थतन्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै उनी राजनीतिशास्त्र र इतिहासमा क्याम्ब्रिजबाट पनि स्नातकोत्तर हुन् ।

त्यस्तै श्रीलंकाका विदेश मन्त्रीको प्रसंग पनि यस क्षेत्रमा चल्छ । उनको अध्ययनको दायरा पनि फराकिलो छ । लामो अनुभवी राजनीतिज्ञ हुन्, दिनेश गुनवार्दने । सन् १९७३ देखि राजनीतिमा सक्रिय छन् । उनी नेदरल्यान्डबाट बिजनेसमा स्नातक गरेका व्यक्ति हुन् । राजनीतिक घरानाका उनले अमेरिकाबाट स्नातकोत्तर गरेका छन् । स्नाकोत्तरसम्मको अध्ययन सकेर उनी राजनीतिमा आएका हुन् । उनले अन्तर्राष्ट्रिय ट्रान्सपोर्ट र सहकार्यमा समेत स्नातकोत्तर गरेका छन् ।

यस क्षेत्रमा हामीले अफगानिस्तानको विदेश मन्त्रीको अवस्था पनि छुट्याउन हुँदैन । मोहम्मद हनिफ अत्मार अफगानिस्तानको विदेश मन्त्री हुन् । सार्कको कान्छो सदस्य मुलुक अफगानिस्तानको विदेश मन्त्रीको दौडधूप कूटनीतिमा अन्य मुलुकको भन्दा बढी नै हुन्छ । त्यहाँको समस्या र अमेरिकी फौज फिर्ता शान्ति प्रक्रिया चानचुने छैन ।

त्यसमा कस्ता व्यक्ति चाहिन्छ ? त्यहाँको नेतृत्वले चयन गरेअनुरूप पछिल्लो समय उनी परेका हुन् । उनले पब्लिक पोलिसी र पोस्ट वार डेभलपमेन्टमा बेलायतबाट स्नातकोत्तर गरेका छन् । उनले आफ्नो मुलुकको विकास कसरी गराउन सकिन्छ भनेर लागेका समाचार आइरहेका हुन्छन् । उनका अधिक रिसर्च आर्टिकल प्रकाशित छन् ।

यी उदाहरण काफी छैनन् र ? अरु मुलुकमा कस्ता व्यक्तिलाई परराष्ट्र मन्त्री बनाइन्छ ? हामीकहाँ अनुहार सम्झिनुस्, अनि पृष्ठभूमि हेर्नोस् ।

अध्ययन र पृष्ठभूमिको महत्व हुन्छ भन्‍ने तत्वबोध हाम्रा प्रधानमन्त्री ओलीलाई छैन । त्यहीकारण ‘आसेपासे’ केन्द्रित चाकडीदार मात्रै खोज्छन् । पढेलेखेका पात्रलाई त उनी ‘कोट काट्ने मुसा’को संज्ञा दिन्छन् । इकागजसँगैको वार्तामा समाजशास्त्री चैतन्य मिश्रले भनेकै छन्, ‘यहाँ विज्ञताको खिल्ली उडाउनु उडाइयो ।’ प्रधानमन्त्रीमा आफू नै जान्‍नेसुन्‍ने हुँ, अंग्रेजी पनि बोलिहाल्छु भन्‍ने चर्को घमण्ड छ । यसर्थ उनी पढेलेखेका विज्ञबाट भन्दा आफूजस्तै मुखाले र मैँमत्त सर्वज्ञहरूबाट घेरिन रुचाउँछन् । भगवान कोइरालालाई चिकित्सा र केदारभक्त माथेमालाई शिक्षानीतिबारे लेक्चर दिन पनि रुचाउँछन्, ओली । उनको कार्यकालभरि कतै कोही विज्ञ नियुक्त भएका छन् भने त्यसलाई ‘अपवाद’ ठान्‍नुपर्छ । नत्र, अरु...। तिनकै सामाजिक सञ्जाल हेरे हुन्छ, कुन हदका चाकडीदार हुन् भन्‍ने तपाईं आफैँ खुट्याउन सक्नुहुन्छ ।

अनि कूटनीतिक क्षेत्र मात्र अछुतो रहन सक्ने सवाल रहेन, र भएन पनि । कोही स्वअध्ययनले कूटनीतिज्ञ बन्‍ने ? कोही कूटनीतिक नियुक्ति पाएपछि अनुभव हासिल गर्ने ? अनि कसरी कूटनीति बलियो हुन्छ ? 



Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार