कूटनीति

सार्क शिखर सम्मेलन गराउन सधै तयार छौँ : पाकिस्तानी विदेशमन्त्री

इकागज |
जेठ २७, २०७८ बिहीबार १८:२ बजे

काठमाडौँ : पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले सबै मित्र मुलुकहरू तयार भएमा पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन गर्न तयार रहेको बताएका छन् । कोभिडकै समयमा पनि प्राेटाेकल तय गरेर शिखर सम्मेलन गर्ने उर्जा पाकिस्तानको रहेको उनले बताएकाे पाकिस्तानी सञ्‍चार माध्‍यमहरूले जनाएका छन् । उनले शिखर सम्मेलनको तयारीको अन्तिम समयमा अन्य सदस्य मुलुकका कारण स्थगन भएको स्मरण गराउँदै पाकिस्तान सार्क शिखर सम्मेलनको लागि सधै तयार रहेको बताएका हुन् । 

सार्कमा आएको अड्चनलाई खुलाएर शिखर सम्मेलन गर्दै यसलाई चलायमान बनाउन उनले जोड दिएको पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताए । उनी पाकिस्तानको राजदूत भएर गएको ६ महिनापछि परराष्ट्रमन्त्री भेट्न पाएका हुन् । नेपालमा भने ओहोदाको प्रमाणपत्र बुझाएपछि सिधै परराष्ट्र मन्त्रालय आएर परराष्ट्र अधिकारी र मन्त्रीलाई भेट्छन् । 


उनले ओहोदाको प्रमणपत्र पनि गएको दुई महिनापछि बुझाएका थिए भने ओहोदाको प्रमणपत्र बुझाएको साढे चार महिनापछि विदेशमन्त्रीलाई भेटेका हुन्। भेटको अधिकांश समय सार्क शिखिर सम्मेलनमा केन्द्रित भए । सिमित मुलुकको अड्चन नआए पाकिस्तानमा शिखर सम्मेलन गर्न कुनै समस्या नभएको कुरैशीले बताए । उनले तत्काल सार्क शिखर सम्मेलनको प्रयास गर्न नेपाललाई पनि आग्रह गरे । सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपालले निर्वाह गरेको भूमिकाबारे राजदूत अधिकारीले विदेशमन्त्रीलाई जानकारी गराएका थिए । 

उनले सार्कको प्रशंग सकिएपछि नेपाल र पाकिस्तानबीचको सम्बन्धबारे छलफल गरेका थिए । कोभिड-१९ को कारण आमजनता असहजतामा रेहेको विषयमा पनि छलफल भएको थियो । पाकिस्तानले अहिले चीनको सहयोगमा आफ्नै मुलुकमा भ्याक्सिन उत्पादन थालेको छ । अहिले पाकिस्तानले आफ्ना एक करोड नागरिकलाई र अन्यलाई पनि विस्तारै खोप उपलब्ध गराउने नीति लिएको छ । 

उनले नेपालमा पनि सरकारले खोपको लागि गरेको पहलबारे छलफल गरेका थिए । नेपाल र पाकिस्तानबीचको सुमधुर सम्बन्धको महत्त्वलाई दोहोर्‍याउँदै आपसी हितका सबै क्षेत्रमा सहयोग बढाउन जोड दिएको राजदूत अधिकारीले बताए । द्विपक्षीय सम्बन्धको सम्पूर्ण  आयामहरूबारे छलफल भएको पनि बताइएको छ । पाकिस्तानका विदेशमन्त्री भेट्न सहज छैन । तर पनि नेपाललाई समय दिएको भन्दै नेपालले सार्क शिखर सम्मेलन गराउन भूमिका निर्वाह गर्नपर्ने धारणा उनीहरूको छ ।  

विदेशमन्त्री कुरेशीले कोभिड १९ का कारण कयौं नेपालीले ज्यान गुमाएको भन्दै दुःख व्यक्त गरेका थिए । यस्तै उनले कोभिड नियन्त्रण गर्न नेपालले गरेका प्रभावकारी कदमहरूको सराहना गर्दै कोभिडविरुद्ध मिलेर लड्न पर्ने बताए । उनले पाकिस्तानमा कोभिड महामारीको सामना गर्ने प्रयासमा नेपालको साथ प्रति कृतज्ञ हुँदै भने, ‘हामी नेपाललाई पनि सक्दो सहयोग गर्नेछौँ । ’ 

नेपालमा रोकिएका पाकिस्तानी नागरिकहरूको सहज आवागमनको वातावरण नेपाल सरकारको मिलाइदिएको प्रति विदेशमन्त्री कुरेशी खुसी भएका थिए । उनले नेपालको मित्रभावको आफू सँधै प्रशंसक रहेको बताएको जानकारी राजदूतले दिए । 

राजदूत अधिकारीले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूले काम गर्न चाहेको इच्छा व्यक्त गरेका थिए । उनले कोभिड १९ सँग सम्बन्धित सहयोगका लागि पाकिस्तान सरकारलाई पनि धन्यवाद दिए ।


Author

थप समाचार
x