कूटनीति

खोप कूटनीति

सरकारको अस्पष्टता र दूतावासको निस्क्रियताले खोप खरिदमा असहजता

चीनबाट ४० लाख खोप ल्याउने प्रक्रिया अघि बढ्दै

चन्द्रशेखर अधिकारी |
असार २, २०७८ बुधबार १९:१२ बजे

काठमाडौँ : सरकारले राष्ट्र प्रमुखकै तहबाट कूटनीतिक लविङ गर्दै विभिन्‍न मुलुकबाट खोप खरिद गर्ने भने पनि पत्रको 'रेस्‍पोन्स' चीनबाट मात्र आएपछि निराश बनेको छ । अर्को छिमेकी भारतले जेठ १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पाएको जानकारी दिए पनि अझै खोप दिने/नदिने स्पष्ट पार्न सकेको छैन ।

सरकारको निर्णय बमोजिम राष्ट्रपतिस्तरबाट पत्राचार भएको तर अन्यबाट पनि ‘रेसपोन्स’ आउनेमा सरकार ढुक्क रहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । उनले भने, ‘हाम्रो दूतावासस्तरबाट खासै लविङ हुन सकेको छैन । परराष्ट्रमार्फत् भन्‍न लगाएका छौँ । बेलायत होस या अमेरिका दुवैतिरका राजदूतले खासै काम गर्न सकेका छैनन् ।’


अमेरिकाका राजदूत त पासपाेर्ट बाड्न अवैतनिक दूत भेट्न हिँडिरहेका छन् भने बेलायतका राजदूत सरकारी सेवामा थाकेकाले दूतावासबाट बाहिर निस्कन खासै सकेका छैनन् । 

भारतमा रहेका राजदूत पनि मुस्किलले दूतावास कम्पाउण्डमा रहेको निवासबाट कार्यालयमा झरेर १०-०५ गरेकै छन् । त्यस्तै अवस्था छ, यूराेपका अन्य मुलुकमा रहेका नेपाली राजदूतको पनि । उनीहरूको तुलनामा बेइजिङस्थित नेपाली दुतावास सक्रिय छ । हुन त, यतिबेला सुझाव नै आएको छ- अन्तराष्ट्रियस्तरबाट स्वतन्त्र रूपमा खोप खरिद गर्न छोडिदिएमा निजी क्षेत्रले नै खोप ल्याएर लगाइसक्ने भन्दै त्यसतर्फ ध्यान दिन पर्ने देखिन्छ ।

सरकारले खाेप खरिद नै गर्न नसकेपछि अहिले जसरी पीसीआर परिक्षण गरिएको छ । त्यही मोडलमा सरकारले त्यहाँ खोप पनि खुला गरिदिएको भए अधिक नेपालीले खोप लगाइसक्ने थिए । याे धारणा सरकारी अधिकारीको नै हो ।

अधिकतम खुद्रा मुल्य तोकेर नै सरकारले त्यसमा काम गर्न आवश्यक थियो, तर त्यो नगर्दा समस्या आएको दातृ निकायका अधिकारीहरूको छ । खोप चाहिने बेलामा स्वास्थ्य सामाग्री आइरहेको छ भन्दै एक अधिकारी भन्छन, ‘सरकारको यो हदैसम्मको लापरबाही हो । तत्काल खोपको लागि सरकार लागि पर्नुपर्नेमा बिचौलियाको खेलमा सरकार परेको हो ।’ 

बिचौलियाको चर्को चलखेलको मारमा भारतबाट ल्याउने खोप नै समयमा आउन पाएन । पछि भारतले पनि आफ्नो अदालतको फैसला भन्दै खोप उपलब्ध गराउन आनकानी गरेपछि पहिलो डोज खोप लगाएर दोस्रो डोज लगाउन नपाएकाहरूको संख्या उल्लेख्य छ । भारतले खोप समेत उपलब्ध नगराएको भन्दै भारत विरोधी भावना थप बढवा गर्न मद्दत गर्ने काम भरतीय सोचले नै गरेको अधिकारीहरूले बताए । 

चिनियाँ राष्ट्रपति सीले जेठ १३ मा सकमक्षी भण्डारीलाई टेलिफोन नै गरेर सक्दो सहयोग उपलब्ध गराउने बताएका थिए । चीनबाट त्यो स्तरको रेसपोन्स भएकाले पनि त्यहीबाट खोप ल्याउने तयारी भएको हो । चीनले कतिमा खोप दिन लाग्यो भन्‍ने बाहिर नआए पनि उसले श्रीलंका र बंगलादेशलाई  नै फरक-फरक मूल्यमा खोप बेचेका समाचार बाहिर आइरहेको छ ।

दुई डोज खोपको १५ र १० अमेरिक डलरमा उसले बेचेको भनिएको छ। यद्यपि नेपललाई पनि मुल्य २० डलर राखेर सहुलियत भन्दै केही कममा खोप उपलब्ध गराउन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए । खोपका लागि राष्ट्रपति भण्डारीबाट गएको पत्रको जवाफ के कस्तो हुँदैछ भनेर परराष्ट्र मन्त्रालयले आफ्नो नियोगलाई भनिरहेको छ ।

विदेशस्थित नेपाली दूतावासमार्फत पछिल्लो अवस्थाबारे जानकारी लिने काम भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । ‘अहिलेसम्म ठूलो सकारात्मक कुनै प्रतिक्रिया प्राप्त भएका छैनन् शुक्रबारसम्म सुखद समाचार आउन सक्ला कि ?’ उनले भनिन, ‘हामी लगातार लागि परेका छौँ । उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पनि लगातार लाग्‍नु भएको छ। उहाँले राजदूतसँग भर्चुअल छलफल नै थाल्नु भएको छ ।’

चीनबाट ४० लाख खोप  ल्याईदै 

चिनियाँ राष्ट्रपति सीले खोप उपलब्ध गराउने भनेपछि सरकारले चीनबाट खोप किन्‍ने प्रक्रिया अघि बढाएको थियो । चिनियाँ राष्ट्रपति सीले नेपाललाई आवश्यक पर्ने जति खोप दिन चीन तयार रहेको बताएका थिए । त्यसको केही समयपछि चीनले नेपाललाई दिने भने अनुरुपकै खोप उपलब्ध गराएको छ । चीनले नेपाललाई १८ लाख खोप अनुदानमा उपलब्ध गराएको छ । सरकारले चीनको सिनोफर्माबाट ४० लाख खोप खरिद गर्न लागेको हो । 

स्वास्थ्य मन्त्रालयअन्तर्गत खोप परिवार कल्याण महाशाखाका डा. तारानाथ पोखरेलले वार्ता र छलफल भइरहेको तर कहाँबाट कति र कुन  खोप आउने अझै टुंगो नभएको भन्दै निराशा व्यक्त गरेका छन्  ।

मन्त्रिपरिषद्ले निर्णय गरेको भन्‍ने त कता कता सुनिएको छ तर त्यो आधिकारी नआएसम्म कसरी भन्‍नु भन्दै उनले भने, ‘हामी लगातार खोप बनाउने कम्पनीको सम्पर्कमा छौँ तर भारतको सिरमबाहेक अन्य कम्पनीलाई रकम भुक्तानी पनि गरेका छैनौँ ।’  

सरकारले भारतको सिरम कम्पनीलाई १० लाख डोजको खोप अग्रिम भुक्तानी गरेको भए पनि खोप आउन सकेको छैन । उताबाट खोप आउने भन्दै त्यतिबेला सरकारले सबै खोप पहिलो डोजमा नै खर्चेपछि दोस्रो डोज लगाउन पाउने अवस्था छैन । यो विषयमा सरकारको ध्यान अझै जान नसकेको हो या जे गरेपनि हुन्छ भन्‍ने सोचेको भन्दै नागरिक आक्रोसित भइरहेका छन् ।  

यद्यपि सोमबारको मन्त्रिपरिषद् बैठकले ४० लाख डोज खोप चीनबाट खरिद गर्ने निर्णय लिएको बाहिर आइसकेको छ । त्यो निर्णय अनुरुप अन्यबाट पनि खोप किन्‍न एउटा प्रावधान तय भएको छ ।

एक साता भित्र सम्झौता हुने र अर्को साता त्यो खोप काठमाडौँ आउने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले भने ,'सरकारले स्वास्थ्य मन्त्रालयलाई ४० लाख डोज खोप किन्‍न अनुमति दिएको छ । मूल्य र ढुवानीको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय लिनेछ ।' 

सरकारी अधिकारीहरूका अनुसार खोप किन्दा सहमति बाहिर नखुलाउने शर्तमा खरिद हुन लागेको हो । मुलुक पिच्चे फरक रकममा खोप उपलब्ध गराउने निधो गरेको चीनले मूल्य बाहिर नल्याउन आग्रह गरेको हो । चीनले त्यसो भने पनि हाम्रो खरिद ऐन पारदर्शी छ । मन्त्रिपरिषद्ले निर्णय लिए पनि त्यसको आधार खरिद एैन नै हो । 

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा‍. रोशन पोखरेलका अनुसार आगामी एक साता खोपको सबै प्रक्रिया पूरा हुनेछ । चीनसँग मात्र होइन अन्यसँग पनि खोप खरिदको तयारी भइरहेको छ। 

नेपालले खरिद र अनुदानबाट गरी ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । जसमध्ये १० लाख डोज भारतले दिएको,  १० लाख भारतसँग किनेको र १८ लाख डोज  चीनले दिएको हो । त्यस्तै डब्लुएचओको कोभ्याक्स कार्यक्रममार्फत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई भारतबाट १ लाख डोज खोप प्राप्त भएको छ ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x