कूटनीति

राष्ट्रपतिको खोप कूटनीति

शक्तिशालीले पत्र प्राप्त भएको जानकारी पठाए, खोपकाे पत्तो छैन

कोभिसिल्ड खोप ‘एक्सपायर’ हुन लागेपछि सर्वसाधारणलाई लगाउन थालियो

चन्द्रशेखर अधिकारी |
असार ८, २०७८ मंगलबार १६:१५ बजे

काठमाडौँ : सरकारले शक्तिशाली व्यक्तिहरूलाई लगाउन लुकाइराखेको कोभिसिल्ड खोप ‘एक्सपायर’ नजिक पुगेपछि अहिले सर्वसाधारणलाई लगाउन थालेको छ । खोप उत्पादन भएको मितिले ६ महिनापछि यसको प्रभावकारिता शून्य प्राय: हुन्छ ।

नेपालमा खोप ल्याएको करिब पाँच महिना भइसकेको छ । खोप महाशाखा प्रमुख डा. झलक शर्माले नेपालमा ल्याइएको खोप प्रभावकारिता (एक्सपायर)  नसकिएको बताए । 'सामान्यतया ६ महिना खोपको प्रभावकारिता रहन्छ त्यही अनुरुप हामीले खोपको प्रयोग गरिरहेका  छौँ,'  उनले भने । पहिलो खेप खोप माघको पहिलो साता ल्याएको हो भने अर्को खोप त्यसको एक महिनापछि ल्याइएको हो ।


खोप आउँदा नागरिकमा खोप लगाउन पाउने भन्दै उत्साह बढेको थियो । तर अहिले सरकारले विदेशबाट खरिद गरेर आवश्यक पर्ने संख्यामा खोप ल्याउन सकेको छैन । कोभिड महामारीको दोस्रो लहरसँगै खोपका लागि दबाब बढिरहँदा सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि बढाएर खोप खरिदका लागि पहल गरेको थियो । त्यो पहल फितलो बनेको छ । यसले नै कूटनीतिमा सरकारको असक्षमता पुष्टि गरिसकेको छ ।

राष्ट्रपति भण्डारीले विभिन्‍न मुलुकका समकक्षीलाई खोप सहयोगको आग्रह गर्दै गरेको पत्राचारको जवाफ अझै आएको छैन । त्यहाँ रहेको दूतावासले पनि पत्रको सोधीखोजी गरे/गरेनन् स्पष्ट छैन । उनको अग्रसरतामा भएको खोप पत्राचारको जानकारी नआउनु वा नदिइनु मुलुकको कूटनीतिक दुर्भाग्य हो । राष्ट्रपति कार्यालयले पत्र यहाँबाट कूटनीतिक च्यानल हुँदै गएकाले त्यही च्यानलबाट नै जवाफ आउने जनाएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले राष्ट्रपति कार्यालयमा जवाफ आइनसकेको बताए । ‘यहाँ जवाफ आएको छैन । परराष्ट्र मन्त्रालय वा दूतावासमा जानकारी भएको होला,’ प्रवक्ता भट्टराईले भने, ‘हामीले कूटनीतिक च्यानलमार्फत नै पत्राचार गरेका हुन्छौँ ।’ 

प्रवक्ता भट्टराईका अनुसार समकक्षीहरूलाई शिष्टाचारका आधारमा राष्ट्रपतिले सरकारकै चाहना बमोजिम आग्रह गरेको बताए । नेपालको संविधानले कार्यकारी अधिकार मन्त्रिपरिषद्‍मा निहित हुने व्यवस्था गरे पनि आम नागरिकको विषयमा राष्ट्रपतिले चासो राख्‍न मिल्ने तर्क उनको छ ।  

राष्ट्रपतिले गरेको पत्राचारलाई अस्वभाविक भन्दै त्यसमा जवाफ नआउनु राष्ट्रपतिकै अपमान भएको आम जन गुनासो छ । यसमा जवाफ नआउँदा राष्ट्रपतिको उरन्ठेउलो, अस्वाभाविक र अनावश्यक सक्रियता भन्‍नेहरू पनि छन् । सँगै खोप प्राप्तिका लागि राष्ट्रपतिबाट भएको पहलको प्रशंसा गर्नेहरू पनि छन् । 

सरकार प्रमुख होस या राष्ट्र प्रमुख जसबाट गरे पनि खोप आवश्यक हो तर सरकारले अझै खोप ल्याउन नसक्दा र भएको खोप नलगाएर एक्सपायर नजिक पुर्‍याउन खोज्‍नुको पछडिको दृष्य के हो भन्दै अधिकांशले प्रश्‍न गरेका छन् ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले राष्ट्रपतिको पत्र पाएको खबर आएको भए पनि खोप नै उपलब्ध गराउने विषयमा स्पष्ट खबर अझै आइनसकेको बताइन् । ‘खोपको बारेमा हाम्रा दूतावासले त्यहाँ सम्पर्क गरेर छलफल गरिरहेको छ,’ उनले भनिन,‘खोपमा नेपालालाई उनीहरूले प्राथमिकतामा राखेको सन्देश दूतावासमार्फत आइरहेको छ ।’ 

पछिल्लो समय सरकारलाई खोपको विषयमा चासो राख्‍ने कुनै मौका नै मिलेको छैन । आम जनताले खोप लगाउन या नलगाउन त्यसमा खासै चासो राखेको देखिदैन । किनकी छिमेकले सदासहायता राख्दै अनुदानमा दिएको र विश्‍व स्वास्थ्य संगठनले गाल टार्न दिएको खोपबाहेक अन्य खोप नेपालले ल्याउन सकेको छैन । भारतले पनि ११ लाख (१ लाख सेनासहित) डोज खोप अनुदानमा दियो । त्यहाँबाट १० लाख खरिद गरेर ल्याउने काम पनि भयो । 

चीनले नेपाललाई १८ लाख खोप अनुदानमा दियो । विश्‍व स्वास्थ्य संगठन कोभ्याक्स कार्यक्रमअन्तर्गत ३ लाख ४८ हजार खोप आएको छ । यही खोप अहिलेसम्म लगाएका हुन् । अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको हो । अन्य खोपसमेत आउने भनिए पनि सरकारले ल्याउन सकेको छैन । भारतबाट १० लाख र चीनबाट ४० लाख खोप तत्काल आउने भने पनि ढिलाई भइरहेको छ ।  

'सरकारले किन खोपलाई बढवा दिन सकेन, प्रश्‍न उब्जेको छ ? कैयन मुलुकले खोप खरिद गरेर स्टोर गरिरहेको अवस्थामा नेपाल पछि पर्नु र सर्वसाधारणले खोप लगाउन नपाउनु दुःखद हो,' ति अधिकारीले भने ।  कमिसनखोरहरूको बीचमा सरकार परेकाले यो अवस्था आएको प्रधानमन्त्रीका सहयोगीहरू नै बताउँछन् । ‘सबैतिर प्रधानमन्त्रीकै मानिस हुँ भन्दै के-के गरिरहेका हुन्छन,’ एक सहयोगीले सुनाए, ‘कैयन विचौलियाहरू गौडा कुरेर प्रधानमन्त्री भेट गर्न खोेजेका हुन्छन् । वा प्रधानमन्त्रीले कुरा खाने व्यक्ति भेट्न खोजेका हुन्छन् ।’ 

परराष्ट्र मन्त्रालयका अनुसार नै राष्ट्रपतिले चिनियाँ समकक्षीसँग प्रत्यक्ष संवाद गरेको र भारत, अमेरिका, ब्रिटेन र रुसका राष्ट्रप्रमुखहरूलाई पत्राचार गरेर नै खोप मगाइएको हो । ति मुलुकका राष्ट्रप्रमुखसँग पनि राष्ट्रपतिले प्रत्यक्ष वार्ता गर्ने इच्छा राखेको भए पनि त्यो पुरा हुन सकेको छैन । ‘राष्ट्रपतिले सम्बन्ध राम्रो भएका मुलुकहरूसँग व्यक्तिगत हिसाबले खोपका लागि जोड बल गर्नुभएको छ । कुरा गर्न पनि खोज्नु भएको छ,’ राष्ट्रपतिका एक सहयोगीले बताए । 
 
राष्ट्रपति प्रधानमन्त्री ओलीको बचाउमा लागेको र अनेकन विषय उठेका कारण विवादमा परिरहेकाले नागरिकको ध्यान मोड्न पत्राचार गरेको झै देखिएको छ । अन्यथा राष्ट्रपतिले पठाएको पत्रको जवाफ आउन पर्ने थियो । अझै आएको छैन । राजनीतिशास्त्री र कूटनीतिज्ञहरूले यो कार्यलाई ‘परिणाममुखी भन्दा प्रचारमुखी’ भनिरहेका छन् । 

हुनत उनले विश्‍वका शक्तिशालीलाई नै पत्रचार गरिन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडन, ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाली नियोगहरूमार्फत् पत्र पठाइन् । उनले कुराकानी गर्ने इच्छासमेत त्यसमा व्यक्त गरिन् । पत्र पाएको जानकारीबाहेक थप जानकारी उनीहरूले दिएका छैनन् । पत्र पठाएको पनि झण्डै एक महिना हुन लागिसकेको छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x