धेरै शान्तिसेना पठाउने मुलुकको तेस्रो स्थानमा
कोभिड महामारीमा पनि विश्व शान्तिमा सेनाको सक्रियता
काठमाडौँ : राष्ट्रसंघको अग्रसरतामा विश्व शान्ति स्थापनार्थ नेपाल सधैँ अग्र स्थानमा रहने मुलुककाे सूचीमा पर्दै आएको छ । कोभिड-१९ को महामारीको समयमा पनि नेपाल विश्व शान्तिमा खटिने राष्ट्रमा तेस्रो स्थानमा परेको छ । नेपाल डेढ दशकदेखि विश्वका दश मुलुक भित्रकाे सूचीमा पर्दै आएको छ । यसपटक भने तेस्रो स्थानमा पुगेको नेपाली सेनाले जनाएको छ ।
शान्ति सैनिक खटाएर योगदान पुर्याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो स्थानमा पुगेको अवस्था मात्र छैन यतिबेला नेपालको तर्फबाट फोर्स कमाण्डर पनि गोलन हाइटमा छन् । सिरियामा तैनाथ अन्डोफ शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारीमा हालका रथी ईश्वर हमालले नेतृत्व गरिरहेका छन् । हुन त, यसअघि पनि नेपालबाट फाेर्स कमाण्डर भएका थिए । तर निकै कम संख्यामा त्यो अवसर आउने गरेको छ ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा ५ हजार १ सय ५४ संख्यामा नेपाली शान्ति सैनिक परिचालित छन् । हुन पनि विश्वका अधिक मुलुकले राष्ट्रसंघमा सैनिक पठाउने गरेका छन् । परम्परागत शक्ति मुलुकलहरूले नेतृत्व तहमा आफ्नो सेनालाई पठाउने गर्छ । नेपाल जस्तो मुलुकले नेतृत्व तहमा भने निकै संघर्ष गर्न परिरहेको हुन्छ । विश्वका १२२ राष्ट्रले राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् ।
महिला सैनिकहरूको संख्या शान्ति सेना बढ्दो
अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगो लगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १ सय ७६ पुगेको छ । अहिलेसम्म १ हजार ५ सय ५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान गरिसकेका छन् । कतिपय मुलुकले सैनिक पठाउन नसक्दा हाम्रो संख्या बढेको हो ।
नेपाल चौथोमा रहेको थियो रुवान्डाले कम संख्यामा पठाएपछि नेपाल तेस्रोमा उक्लिएको हो । नेपालले सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन थालेको हो । विश्व शान्ति स्थापना कार्यमा झण्डै साढे छ दशकको अवधिमा एक लाख ३५ हजार ३ सय ४३ सेनाको योगदान भएका छन् ।
यसमा कतिपय दोहोरिएका पनि होलान कतिपय प्राविधकहरू तेहरिएका पनि होलान् । तर, कुल संख्यामा नेपाल त्यसमा परेको हो । यतिबेला राेलक्रमका आधारमा सबै सैनिकले अवसर पाउने विधी तय गरिएको छ ।
अनुशासित, व्यावसायिक र साहसिक सैनिकका रूपमा स्थापित भएका कारण कतिपय मुलुकमा नेपाली सेना नै माग हुने गरेको छ । नेपाली सेनालाई राष्ट्रसंघमा ‘पिस च्याम्पियन’ भनिन्छ । नेपाली सेनासँग संसारका ४२ फरक-फरक शान्ति मिसनमा खटिएर काम गरेको अनुभव छ ।
नेपाली सेनाको माग बढेसँगै सरकारको स्वीकृतमा नेपाली सेनाले १० हजारसम्म सेना शान्ति मिसनमा पठाउन सक्नेछ । कुल संख्याको १० प्रतिशत सेना शान्ति मिसनमा पठाउन सकिने बताइएको छ । तर पनि नेपालले पर्यवेक्षक र कमाण्डर क्षेत्रमा नेपालले न्यून पद पाएका छन् । हुनत विश्व शान्तिका लागि यस अवधिमा ६८ नेपाली सैनिकको मृत्यु भइसकेको छ भने ६६ सैनिक गम्भीर घाइते भएको उदाहरण जंगी अड्डामा देख्न सकिन्छ ।
सैन्य कूटनीतिमा जाेड दिन आवश्यक : पाण्डे
नेपालले आफ्नो सैनिकको अनुपातमा अधिक उच्चस्तरको पद पाउन सकेको छैन । त्यसमा नेपालले कूटनीतिक 'लविङ' तीव्र पार्न आवश्यक छ । हुन त, यसअघि कृष्णनारायण थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजंग थापा, हालका प्रधान सेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हालेका थिए । अर्को दोब्बर संख्यामा सेक्टर कमाण्डर पाए पनि त्यो न्यून हो ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि उल्लेखनीय योगदान दिई विश्व समुदायबाट नेपाली सेनाले ठूलो इज्जत, प्रतिष्ठा र विश्वास आर्जन गरिरहेकोमा यो संख्या थप बढाउँदै लगेर अन्य उच्च पदका लागि कूटनीतिक लविङ गर्न पर्ने रक्षा सचिव रश्मीराज पाण्डेले बताए । रक्षा सचिव पाण्डे आजैदेखि सेवा निवृत्त हुँदैछन् ।
उनले रक्षा सचिवकाे तहमा रहेर नेपाली सेनाकाे व्यवसायिक क्षमता वृद्धि भएको र विश्व कूटनीतिमा पनि सेनालाई उपयोग गर्न पर्ने सुझाव उनको छ । दुई ठूला छिमेकीको बीचमा रहेको कारण सानो मुलुकको छवि बनाएको नेपालले विश्व शान्तिको लागि योगदान आफ्नै तवरले गरिरहेको र सम्वन्ध पनि विस्तार गरिरहेकाले नेपालको छवि उच्च रहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया