नियोगहरूलाई 'खोप कूटनीति' बलियो पार्दै खरिदको वातावरण तय गर्न ताकेता
घुमघाममा मस्त डा. खतिवडा दबाबमा पर्दै
काठमाडौँ : अमेरिकी खोप उत्पादक कम्पनीले तत्काल खोप आपूर्ति गर्न कठिन हुने बताएपछि सरकारले ताकेता गर्न वासिङ्टनस्थित नेपाली दूतावासलाई पुनः निर्देशन दिएको छ । सबै खालको कूटनीतिक कला प्रयोग गरेर जतिसक्दो छिटो खोप खरिदको व्यवस्था मिलाउन राजदूत डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । अहिले परराष्ट्र मन्त्रालय पनि आफैसँग राखेका छन् ।
राष्ट्रपति कार्यालयले पनि परराष्ट्र मन्त्रालयमार्फत आफूले पठाएको पत्रको अवस्था बुझ्न सबै राजदूतलाई खबर गरेको छ । वासिङ्टनस्थित नेपाली नियोगका अधिकारीहरूका अनुसार जोन्सन एन्ड जोन्सन र मोर्डनालगायतका कम्पनीले खोप तत्काल उपलब्ध गराउन गाह्रो हुने बताएसँगै सरकारले ताकेता गरको हो ।
सरकारले जोन्सन एन्ड जोन्सनबाट ५० लाख र मोर्डनाबाट २० लाख डोज खोप खरिदको प्रयास गरेको थियो । दुई साताअघि जोन्सन एन्ड जोन्सन र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल संवादसमेत भएको थियो । खोप खरिदबारे भएको छलफल सकारात्मक थिएन । त्यतिबेला पनि जोन्सन एण्ड जोन्सनले कम्तीमा पनि सात महिनाअघि खोप उपलब्ध गराउन गाह्रो हुने बताएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
विश्वव्यापी आपूर्तिका कारण प्राथमिकताअनुसार त्यति समय लाग्ने स्पष्टता पहिले नै पारेको थियो । तर, सरकारले तत्काल अमेरिकाबाट खोप आउने भन्दै भाषण गरेपछि अहिले दबाबमा परेको हो । अलोकप्रिय अर्थमन्त्रीमा दरिएर पनि प्रधानमन्त्रीको आशिर्वादमा राजदूत बनेका खतिवडाले त्यहाँ कुनै ठूलो कूटनीतिक पहल गर्ने हाँगा नभेट्दा पनि यो समस्या आएको परराष्ट्र अधिकारीको बुझाइ छ ।
'कुनै पनि मानिसले धेरै पदको जिम्मेवारी सम्हाल्दैमा कूटनीतिक पहल गर्न सक्छन् भन्ने होइन,' परराष्ट्र अधिकारीले भने, 'कूटनीतिक पहल गर्न पर्ने समयमा उनी पासपोर्ट बाड्ने निहुँ पारेर अमेरिकी राज्यको भ्रमणमा निस्के ।' राजदूतले राजधानी छोड्दा मन्त्रालयको क्लिअरेन्स चाहिन्छ तर त्यो पाटो पनि बिर्से ।
परराष्ट्र स्रोतका अनुसार मंगलबार परराष्ट्र सचिव भरतराज पौड्यालले अमेरिकी नियोग उपप्रमुखसँग यस विषयमा छलफल गरेका थिए । छलफलपछि परराष्ट्र मन्त्रालयले खतिवडालाई तत्काल कम्पनीसँग वार्ता गरेर चरणबद्धरूपमा थोरै परिमाणमा भए पनि खोप आपूर्तिको प्रक्रिया मिलाउन निर्देशन दिइएको हो । राजदूत खतिवडालाई महाशाखाबाट गएको निर्देशनपछि विभिन्न माध्यमबाट खोप तत्काल आउन नसक्ने हल्ला गराएको भन्दै अमेरिकी दूतावास अधिकारीले समेत चासो राखेका हुन्।
जोन्सन एण्ड जोन्सन मात्र होइन अर्को अमेरिकी खोप मोर्डनाले पनि तत्काल दिन नसकिने जानकारी दिएको भए पनि उसले भने केही न केही संख्या पठाउने विषयमा सरकार सकारात्मक छ । नेपालमा पनि अमेरिकी नियोग तथा अमेरिकी सहयोग नियोगमा जागिर खानेहरूले मोर्डना खोप लगाएका छन् । अमेरिकीले आफ्नो कूटनीतिक च्यानलबाट खोप ल्याएर आफ्नालाई लगाइसकेको हुनाले त्यो च्यानल प्रयोग गरेर खोप लगाउने व्यवस्था गर्न खोजेका हुन् ।
नेपाल सरकारले दोस्रो डोज केभिसिल्ड दिन नसकेपछि कतिपयलाई कोभिसिल्ड पनि दिएको थियो । यसअलावा कोभिसिल्ड र भेरोसेल कुनै पनि नलगाएकालाई र तिनका परिवारलाई मोर्डना नै लगाइएको छ । नेपालमा मोर्डना लगाउनेको जमात् पनि रहेको त्यही पाटोबाट स्पष्ट भएको हो ।
खोपको अर्डर अनुसार उपलब्ध गराउन पर्ने हुनाले आगामी सात महिना दिनै नसकिने उसले जनाएकाले पनि त्यसमा सरकार दौडधूपमा लागेको हो । यतिबेला अर्को कम्पनी नोभ्याक्सपनि आफ्नो खोप परीक्षण र प्रयोग अनुमतिमा छ त्यसले पनि बाहिर ल्याएपछि प्राथमिकताका आधारमा खोप उपलब्ध गराउने छ ।
सरकारले डब्लुएचओको कोभ्याक्स कार्यक्रममार्फत आउने खोपबाहेक अन्य खोप खरिद गर्ने भनेको भए पनि त्यसअनुसार ल्याउन सकेको छैन । नेपालले चीनबाट पनि खोप ल्याउने भने पनि त्यो प्रक्रिया पनि अघि बढेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रको पनि कुनै अर्थ नरहेपछि सरकार खोप कूटनीतिमा अलमलिएको हो । सरकारले अमेरिका मात्र होइन भारत, चीन, रसिया, बेलायत र युराेपका अन्य मुलुकका राजदूत वा कार्वाहक राजदूतलाई खोपमा पहल गर्न ताकेता गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले कोभ्याक्स संयन्त्रमार्फत नेपालसहितका अन्य मुलुकलाई खोप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको भए पनि त्यो खोप कहिले आउने हो स्पष्ट छैन । यही अंग्रेजी महिनाभित्रमा अमेरिकाले कोभ्यास कार्यक्रममार्फत खोप उपलब्ध गराउने बताए पनि कहिले आउने स्पष्ट छैन् । सँगै कति खोप नेपाल आउने पनि स्पष्ट छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया