कूटनीति

परराष्ट्रमा एकैपटक ५ सहसचिव बढुवा, कोठा र गाडीको अभाव

६ जना अधिकृत पनि उपसचिवमा बढुवा हुँदै, कसरी होला व्यवस्थापन ?

इकागज |
असार २०, २०७८ आइतबार १९:५३ बजे

काठमाडौँ : परराष्ट्र मन्त्रालयले तीन दिनमा पाँच नयाँ सहसचिव पाएको छ । सरकारले मन्त्रालयको कोटा नै घटाएर आफू निकट मानिसलाई बाहिरबाट राजदूत बिनाएपछि ती सह–सचिवलाई  बस्ने स्थान र  गाडीको व्यवस्था मिलाउन असहज हुने देखिएको हो । 

परराष्ट्र मन्त्रालयको सबै जसो शाखा पूर्ण जस्तै रहेको अवस्थामा पाँच सहसचिव एकै पटक बढुवा भएका हुन् । जेष्ठता र आन्तरिक कार्यसम्पादनका आधारमा उनीहरूको बढुवा भएको हो । वरिष्ठता र पुल दरबन्दीको किचलोले मुद्दामा गएका कारण थप एक वर्ष ढिलागरी उनीहरू सहसचिव भएका हुन् ।


यसपटक बढुवा भएका चार सहसचिव लुम्बिनी प्रदेश (गुल्मी, पाल्पा, अर्घाखाँची र दाङ) का हुन् भने एक जना सहसचिव प्रदेश-१ (झापा) का हुन् । सहसचिव भएपछि मात्र पोष्टिङ जाने मनस्थिती बनाएर पाँच वर्षदेखि बढुवा होला भनेर मन्त्रालयमा कार्यरत तेजबहादुर क्षेत्री सहसचिव भएका छन् । उनीसँगै सुधीर भट्टराई (हाल ब्रसेल्स) र घनश्याम लम्साल (हाल दक्षिण अफ्रिका) दुई दिनअघि बढुवा भएका छन् ।

त्यसैगरी कृष्णचन्द्र अर्याल र धनबहादुर ओली पनि सहसचिव भएका छन् । अर्याल जापानबाट फर्केका हुन भने ओली बंगलादेशबाट फिरेका हुन् । यस वर्ष परराष्ट्र मन्त्रालयले निकै पहिले नै पाउनु पर्ने सहसचिव मुद्दा मामिला हुँदै एक वर्ष ढिलाई भएको हो । सामान्य प्रशासन मन्त्रालयसँग कुरा नमिलेपछि उनीहरुको बढुवा ढिलाई भएको हो । पुल दरबन्दीको विषयमा सामान्यले किचलो झिकेपछि यो समस्या बल्झिएको थियो ।

समस्या तन्किदै सर्बोच्च अदालतसम्म पुग्यो । अदालतले पुरानो दृष्टान्तलाई नै सदर गरेपछि बढुवा प्रक्रिया अघि बढेको थियो । राष्ट्रपति कार्यालय, युरोप-अमेरिका, साउद इस्ट एसिया एण्ड प्यासिफिक र क्षेत्रीय संगठन हेर्ने महाशाखामा  सहसचिव पदस्थापना हुनसक्छन् । तर अन्य स्थानमा सबै पूर्ण छन् । अनि प्रतिस्पर्धाबाट पनि दुई सहसचिव असोज भित्र आउँदैछन् । उनीहरूलाई कसरी व्यवस्था गर्ने ? कहाँ राख्‍ने ? त्यसकाे याेजना बनाउन आवश्यक छ ।   

तर, लोकसेवा आयोगका तत्कालिन अध्यक्ष उमेश मैनालीले आफू जानेबेला भएको भन्दै म्याद छोट्याएर प्रक्रियामा नलैजाँदा थप समस्या उत्पन्न भएको थियो । नयाँ अध्यक्ष नियुक्तिसँग प्रक्रिया अघि बढेको हो । परराष्ट्रमा व्याच प्रणाली नहुँदा २०५४ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेकाहरु बल्ल सहसचिव हुन पुगेका छन् । 

यसअघि नै कैयन व्याचीहरू सहसचिव भइसके । कूटनीतिक सेवालाई प्रतिशपर्धी बनाउने र त्यसमा साच्चै करिअर कूटनीतिज्ञ बनाउन खोज्ने हो भने शाखागत ग्रुम गर्दै व्याच प्रणालीमा जानै पर्छ । बीचमा लिने प्रशिक्षणको आवश्यकता पर्ने विषयमा कैयन सुझाव दिएको भए पनि सबै दराजमा थन्किएका छन् । अहिले सहसचिव भएका सबै कार्यबाहक राजदूत भइसेका छन् । नियोग उपप्रमुख, विभागको निर्देशक भएर काम गरिसकेका छन् । उनीहरू ०५४मा शाखा अधिकृत र ०६६मा उपसचिव भएका हुन् । उनीहरुको अनुभव पूर्ण रहेको भए पनि त्यो अनुरुपको प्रशिक्षण सरकारले दियो कि दिएन त्यो सोचनिय विषय भने छ ।

अबको दुई दिनमा ६ शाखा अधिकृत उपसचिवमा बढुवा हुनेछन् । त्यो प्रक्रिया पनि यही सहसचिवको दरबन्दीसँग नै जोडिएको थियो । बढुवा हुनेमा कुल मगर, सिवानी बस्नेत, ललिता सिलवाल, सविता नकर्मी, सिता वस्नेत र मुदिता बज्राचार्य रहेका छन् । 


Author

थप समाचार
x