कूटनीति

बेइजिङ र न्यूयाेर्कका नियोग उपप्रमुख फर्कदै

इकागज |
असार २२, २०७८ मंगलबार १७:२५ बजे

काठमाडौँ : उत्तरी छिमेकी चीन र राष्ट्रसंघका लागि नेपाली नियोग (न्यूयोर्क) मिसनका उपप्रमुखद्वय सुशील लम्साल र घनश्याम भण्डारी कार्यकाल सकेर फर्कदै छन् । परराष्ट्र मन्त्रालयमा निकै आश गरिएका र पछि परराष्ट्र सचिवका रूपमा हेरिएका दुवै जना परराष्ट्रका युवा (सेवा प्रवेशको छोटो समयमा प्रतिशपर्धामा अगाडि) सहसचिव हुन् ।

उनीहरू दुवैको बेइजिङ र न्यूयोर्क कार्यकाल अब्बल रहेको निश्कर्ष पनि परराष्ट्र मन्त्रालयको छ । चीनमा प्रायः सहसचिवहरू नियोग उपप्रमुखको रूपमा जान रूचि नदेखाउने र चीन गइहाले पनि दुई वर्षमात्र बस्‍ने गर्छन् । तर लम्साल आफैँले चार वर्ष बस्‍नेगरी जान इच्छा देखाएर त्यो हिचकिचाहट बन्द गराएका थिए । उनी आगामी महिना फर्कदै छन् । लम्साल अमेरिकी फुलब्राइट स्कलर पनि हुन् ।


उनको चीन पोष्टिङले नै त्यहाँ गएका राजदूतहरू भाग्यमानी ठहरिए । नियोग उपप्रमुख बलियो भयो भने राजदूतलाई हाइसन्चो नै हुन्छ । लिलामणि पौड्याल हुन् या अहिलेका महेन्द्र पाण्डे दुवैलाई सहजता उनैले दिलाएका हुन् । चिनियाँ भाषामा समेत पारंगत र कूटनीतिक डिलमा अब्बल उनै लम्साल चार वर्षे कार्यकाल सकेर फर्कदै छन् । तर परराष्ट्र मन्त्रालयले उनको स्थानमा पठाउने अर्को व्‍यक्‍ति तय गर्न सकेको छैन ।

उता न्यूयोर्कका लागि नियोग उपप्रमुखमा गएका घनश्याम भण्डारी पनि आफ्नो व्याच २८ जना अधिकृत प्रवेशमा प्रथम भएका व्यक्ति हुन् । उनी पनि आफ्नो व्याचबाट प्रतिशपर्धामा उत्रदै उपसचिव हुँदै सहसचिव भएका हुन् । त्यसपछि केही समय युराेप अमेरिका महाशाखा हेरेर उनी न्यूयाेर्कस्थित नेपाली नियोगमा प्रमुख भएका हुन् ।

उनकी श्रीमती ललिता पनि सोही सेवामा उनकै व्याचकी हुन । उनी यसपटक उपसचिव हुँदैछिन् । सरकारले श्रीमान र श्रीमतीको पोष्टिङ एकै मुलुकमा गर्न सकेको भए सायद उनी अहिले फर्कने थिएनन् । तर, त्यसो नहुँदा उनी दुई वर्ष बसेर फर्कन लागेको अड्कल प्रशासनको छ । उनी जाँदैमा कनि्डसन राखेर गएका थिए । न्यूयोर्क जान तछाँड मछाड नै हुने गर्छ । त्यसो त उनी अब राजदूत हुने लाइनमा पनि छन् । 

यद्यपि उनले जाने समयमा नै मेरो श्रीमतीसँगै नहुने भए आफू दुई वर्षका लागि त्यहाँ रहने भनेर गएका थिए । बीचमा श्रीमती पनि मन्त्रालयले पठाएको भए चार वर्ष त्यहाँ रहने थिए । प्रायः कूटनीतिक सेवामा श्रीमान-श्रीमती रहँदा दुवैलाई एकै स्थानमा सरुवा गर्दा घर भाडा र पारिवारिक भत्ता समेत बच्‍ने हुनाले त्यसमा सकेसम्म मिलाउने भनिन्छ ।

यहाँ मन्त्री निकट र अन्य शक्ति केन्द्र निकटलाई मिलाउँदा राम्रो मुलुकको पोष्टिङमा समस्या पर्ने गरेको छ । भण्डारीले यसविषयमा बोल्न नचाहे पनि परराष्ट्र प्रशासनमा उनले फर्कने चाह राखिसकेको जानकारी दिइसकेकाे परराष्ट्रका अधिकारीले बताए ।  उनीहरू फर्केपछि परराष्ट्र मन्त्रालयको महत्वपूर्ण महाशाखा युरोप-अमेरिका, दक्षिण एसियाली संगठन वा अन्य महत्वपूर्ण महाशाखा हेर्ने जानकारी परराष्ट्र अधिकारीहरूले दिए ।

परराष्ट्रको दुई तीन महाशाखाबाहेक अन्यमा राम्रा ड्राफ्ट गर्न सक्ने सहसचिवको समेत अभाव भएको भनिरहँदा उनीहरूले त्यसको पूर्ति समेत गर्ने छन् । सहसचिवको लाइन नै लाग्‍ने अवस्था भए पनि पूर्ण ड्राफ्ट गर्न सक्नेको अभाव नै रहेको अधिकारीहरू बताउँछन् ।

प्रणाली बनाउँदा सरकारको अघिल्ला नेतृत्वहरू चुक्दा यस्तो अवस्था आएको हो । परराष्ट्रले दुई दिन अघि मात्र पाँच सहसचिव पाएकाे छ । दुई सहसिचव आन्तरिक प्रतिशपर्धा र समावेशी काेटाबाट आउँदैछन् । 
 


Author

थप समाचार
x