कूटनीति

टिप्पणी

सुदूरपश्‍चिमदेखि सात समुन्द्र पारीसम्मकाले पत्याएका देउवा

चन्द्रशेखर अधिकारी |
असार २९, २०७८ २०:३५ बजे

काठमाडौँ : २००३ मा असिग्राम रुवाखोला हाल गन्यापधुरा गाउँपालिका-एक डडेलधुरामा जन्मेका शेरबहादुर देउवा २०२० मा विद्यार्थीकालमै कांग्रेसको राजनीतिमा होमिए । अनि उनी निरन्तर राजनीतिमै क्रियाशील छन् । अर्थात्, देउवा १९ वर्षदेखि कांग्रेसको राजनीतिमा ‘पूर्णकालीन’ रूपमै छन् ।

२०४८ को चुनावमा सुदुरपश्‍चिमलाई ‘कांग्रेसको गढ’ बनाएपछि एकैचोटि उनको उचाइ बढ्यो । त्यतिखेर राष्ट्रिय प्रजातन्त्र पार्टीको एक सिटबाहेक पूरैमा जन्मथलो सुदूरपश्‍चिममा कांग्रेसले पकड जमाउन देउवाको नाम काफी रह्यो ।


ADVERTISEMENT

सँगै, त्यही चुनावबाट शासन र कांग्रेस दुवैतिर उनको माथिल्लो तहकै राजनीतिक यात्रा सुरु भयो । ७५ वर्षमा पाँचौ पटक प्रधानमन्त्री बन्‍न लागेका देउवा २०४८ मा गृहमन्त्री हुँदा ४५ वर्षका थिए । गृहमन्त्री हुँदा उनी अविवाहित थिए । त्यतिखेरसम्म काठमाडौँमा न घरबार थियो, न परिवार नै । 

गृहमन्त्री हुँदाका देउवा स्मरण गर्दै विनोद सिजापती भन्छन्, ‘शेरबहादुर दाईको बस्‍ने/खाने कुनै ठेगान नगरी कांग्रेस भन्दै हिड्नुहुन्थ्यो ।’ सिजापती विद्यार्थीकालमा नेपाल विद्यार्थी संघमा देउवासँग नजिक थिए । देउवा गृहमन्त्री भएपछि विवाह गरे । उनको त्यो विवाहका सम्बन्धमा अनेकन किस्सा सुनाइएका हुन्छन् । वास्तवमा त्यतिबेला सुदुरपश्‍चिमको एक अधवैँशेलाई राष्ट्रसंघमा कार्यरत आरजु राणाले स्वीकार गरिन् र विवाह भयो ।

अनुभवी भएको हिसाबले उनले बाहिर मिलाउने र मुलुकमा पनि आवश्यक पर्ने खोप तत्काल ल्याउनेछन । खोपको विषयमा जनता पहिलो भन्‍न उनले सक्नुपर्छ ।

अझ यसरी भन्‍नु पर्ला, देउवाले गृहमन्त्री भएपछि मात्रै ‘घरजम’मा गएका हुन् । घरजम भएपछि उनले राजनीतिमा थप पछाडि फर्केर हेर्नु परेन । त्यसपछि उनी २०५१ मा पार्टी सभापति नभइकन संसदीय दलको नेता हुँदै २०५२ भदौ २६ मा पहिलो चोटि प्रधानमन्त्री भए । २०४६ को परिवर्तनपछि पाका नेतालाई पछि पार्दै देउवा प्रधानमन्त्री हुनु र त्यो पनि कांग्रेसमा, कम ‘चानचुने कुरा’ थिएन ।

देउवाबाट अहिलेका युवाले  सिक्नु पर्ने पाठ मध्ये एक यो पनि हो । त्यसो त उनी पञ्‍चायती शासकले देउवालाई नौ वर्ष जेल जीवन जिउन वाध्य पारेका थिए । उनी पञ्‍चायतकालमा भद्रगोल र महेन्द्रनगर जेलमा बसेका थिए ।

उनी कृष्णप्रसाद भट्टराईको सामिप्यमा रहेर राजनीति गर्ने व्यक्तिको रूपमा चिनिन्थे । देउवा २०५८ साउन ७ मा दोस्रो पटक प्रधानमन्त्री भए, जतिखेर कांग्रेस सुविधाजनक बहुमतमा थियो । माओवादी द्वन्द्व चरम अवस्थामा पुगेपछि संकटकाल लगाउने वा नलगाउने भन्‍ने विषयमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग बढेको झगडाले उग्र रूप लियो ।

त्यसपछि देउवाले २०५९ जेठ ८ मा प्रतिनिधि सभा विघटनको सिफारिश गरे । सँगै कांग्रेसले उनलाई साधारण सदस्यताबाट समेत निष्कासित गर्‍यो । त्यसपछि देउवाले २०५९ असारको पहिलो साता कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । प्रतिनिधि सभा विघटनसँगै देउवा चुनावी सरकारको काम चलाऊ प्रधानमन्त्रीमा परिणत भए । तर घोषित मितिमा चुनाव हुन नसक्ने स्थिति भयो ।

त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई ‘अक्षम’ घोषित गरी प्रधानमन्त्रीबाट बर्खास्त गरे, २०५९ असोज १८ का दिन । ज्ञानेन्द्रको त्यो कदमलाई ‘प्रतिगमन’ संज्ञा दिइयो । त्यसपछि शासन सत्तामा पञ्‍चायत र बहुदल दुवैमा प्रधानमन्त्री बनेका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । 

देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि राजा ज्ञानन्द्रले देउवालाई २०६१ जेठमा पुनः प्रधानमन्त्री बनाएका थिए । उनको त्यो तेश्रो प्रधानमन्त्रीकाल थियो । तर २०६१ माघ १९ मा देउवालाई फेरि हटाउँदै राजा ज्ञानेन्द्रले सक्रिय शासन सुरु गरेका थिए । 

देउवा लामो समयदेखि राज्य-संयन्त्रमा बसेका र आलोचित समेत भएका व्यक्ति हुनाले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा कुन बाटोमा हिँड्छन् भन्‍ने चासो छ । जम्बो मन्त्रिपरिषद्, सांसदलाई अधिक सुविधा जस्ता निर्णयका कारण उनी आलोचित हुँदै आए ।

त्यसपछि राजाको निरकुंशताविरुद्ध तत्कालिन सात दल र विद्रोही माओवादीले शान्तिपूर्ण जनआन्दोलन सफल भएसँगै लोकतन्त्र स्थापना भयो । सँगै चार वर्षअघि विभाजित कांग्रेस २०६४ असोजमा एकीकरण भयो । २०६४ पछि २०७४ सम्म ८ नेता प्रधानमन्त्री बने । यद्यपि देउवाका लागि ढोका खुलेको थिएन ।

उनको सत्तारोहणमा निकै लामो ‘ग्याप’ रह्यो । देउवा एकै पटक १३ वर्षपछि २०७४ जेठमा माओवादीसँग साझेदारीमा चौथो पटक प्रधानमन्त्री भए । चार पटक प्रधानमन्त्री भएका देउवाले भूमिसुधार, दलित जनजाति सुकुम्बासी आयोग, ‘कदमजंग’ लगायतका कार्यक्रम ल्याएका थिए । 

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्‍नाकोत्तर देउवा लण्डन स्कुल अफ इकोनोमिक्सका रिसर्च फेलो समेत थिए। ऐतिहासिक कालमा डडेल्धुरा जिल्लाको ‘पश्य गर्खा’ क्षेत्रमा सम्पन्‍न परिवारको रूपमा रहेको शेरबहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा देउवा, रजवार कूलका चिनिन्छन् । उनको परिवार जागिरदार परिवारको रूपमा ऐतिहासिक कालदेखि चिनिँदै आएको छ । 

डोटी राज्यकालमा डडेल्धुराको ‘पश्य गर्खा क्षेत्र’ यिनैको अधिनमा भएको उनको क्षेत्रबाट आउनेहरू सुनाउँछन् । उनी प्रसादसिंह देउवा रजवारका ६ छोरामध्ये जेठा छाेरा शेरबहादुर २०७२ फागुनमा सम्पन्‍न १३ औँ महाधिवेशनबाट कांग्रेसको सभापति बने। २०५७ मा पोखरामा सम्पन्‍न कांग्रेसको १० औं महाधिवेशनमा उनले गिरिजाप्रसाद कोइरालासँग सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए ।

त्यसबेलामा उनी पराजित रहे पनि २०७२ मा सभापति बन्न सफल भए । देउवा लामो समयदेखि राज्य-संयन्त्रमा बसेका र आलोचितसमेत भएका व्यक्ति हुनाले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा कुन बाटोमा हिँड्छन् भन्‍ने चासो छ । जम्बो मन्त्रिपरिषद्, सांसदलाई अधिक सुविधा जस्ता निर्णयका कारण उनी आलोचित हुँदै आए ।

देउवाको अन्तर्राष्ट्रिय छवि पनि ‘सकारात्मक’ छ । देउवालाई बाहिर कूटनीतिक वृत्तमा जथाभावी नबोल्ने, रिसाउने चिनिन्छन् । उनले अन्य नेताले जस्तो राजदूत भेटेको, दूतावासमा गएर संंवाद गरको विषयलाई  गौरवका रूपमा बाहिर ल्याउँदैन थिए । उल्टै राजदूतसँगका भेटका विषय सोध्दा उनी जंगिन्थे र भन्थे, ‘राजदूतहरू आइरहन्छन् । कहाँ जे पनि समाचार लायकका हुन्छन् । आउँछन्, गफिन्छन् कहिले काहीँ यसो वाइन-स्वाइन पनि खान्छन् ।’ 

‘मैले परराष्ट्र, रक्षा र अर्थलाई कहिल्यै सामान्य रूपमा लिन्‍न । त्यो क्षेत्रमा विशेष ज्ञान भएका व्यक्ति चाहिन्छ ।’ 

उनी कूटनीतिक मामिलामा निकै तौलेर बोल्छन् । त्यस्ता विषयमा जिम्मेवार रहनुपर्ने मान्यता उनको छ । रक्षा, कूटनीति र अर्थ सामान्य व्यक्तिको हातमा रहनु हुँदैन भन्‍ने मान्यता उनमा देखिन्थ्यो । उनले एक पटक खुलेरै भनेका थिए, ‘मैले परराष्ट्र, रक्षा र अर्थलाई कहिल्यै सामान्य रुपमा लिन्‍न । त्यो क्षेत्रमा विषेश ज्ञान भएका व्यक्ति चाहिन्छ ।’ 

उनको परराष्ट्र सल्लाहकार रहिसकेका डा. दिनेश भट्टराईले पनि देउवाको बाह्य छवि राम्रो रहेको उल्लेख गर्दै भन्छन्, ‘अनुभवी भएको हिसाबले उहाँले बाहिर मिलाउने र मुलुकमा पनि आवश्यक पर्ने खोप तत्काल आउनेछ । खोपको विषयमा जनतालाई पहिलो भन्‍न सक्नुपर्छ ।’

चिनियाँहरु आउँदा होस् या भारतीय आउँदा होस् देउवा भेट्ने पात्रमा परेका छन् त्यो उनको कूटनीतिक छवि र कांग्रेसको विरासतले हो । विश्‍वमा नेतृत्वको खडेरी परेको र ‘पपुलिजम’ हाबी भएको अवस्थामा देउवाले मिलाएर लैजान सक्छन् कि सक्दैनन्, गहन चासोको विषय हो । 



Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार