युरोपमा रहेका नेपाली राजदूतलाई खोपबारे प्रश्न गर्दै सरकार
काठमाडौँ - कोभिडविरूद्धको खोप उपलब्ध गराउन नसकेका मुलुकमा रहेका नेपाली राजदूतसँग सरकारले त्यहाँको अवस्था र नेपालले गरेको पहलबारे लिखित जानकारी माग्ने भएको छ । कतिपय युराेपेली मुलुकले अन्य देशलाई खोप उपलब्ध गराए पनि नेपालले नपाएको अवस्थालाई नियाल्दै सरकारले यसबारेमा जानकारी लिने तयारी गरेको हो ।
युरोपेली मुलुकबाट एक डोज खोप नेपाल आउन नसकेको विषयमा सरकारले छलफल गर्दै त्यस्तो निस्कर्षमा पुगेको हो । त्यहाँ रहेका राजदूतहरूले किन पहल गरेनन् वा के समस्या भयो भन्दै यस विषयमा जानकारी लिने भनिएको मन्त्रिपरिषद् स्रोतले बतायो ।
नेपालमा भारत, चीन र अमेरिकाबाट खोप अनुदानमा आइसकेको छ । त्यस्तै ती मुलुकबाट खरिद गरेर पनि खोप ल्याइएको छ । जापानबाट पनि अनुदानमा खोप आउने भएको छ । तर अन्य मुलुकबाट किन आएन त्यसमा सरकारले खोजी गर्न आवश्यक रहेको बताइदैं आएको थियो ।
सोमबार बसेको नियमित बैठकमा मन्त्रीहरूले खासगरी युरोपेली मुलुकबाट किन खोप आएन भन्दै सरकारले खोजी गर्न पर्ने आवस्था आएको भन्दै छलफल गरेका थिए । युरोपका अधिकांश मुलुकमा कूटनीतिक सेवाबाट गएका राजदूत छन् उनीहरू के गरेर बसिरहेका छन् भन्दै त्यसबारेमा मुख्य सचिव शंकरदास बैरागीमार्फत परराष्ट्रलाई सोध्न लगाउने भनिएको एक मन्त्रीले जानकारी दिए ।
ब्रसेल्स, बर्लिन, पेरिस, कोपनहेगन, जेनेभा, मड्रिट, मस्को र भियनामा रहेका दूतावासका नियोग प्रमुख तथा कार्यबाहक प्रमुखले किन खोपको पहल नगरेको भन्दै तत्काल सोध्न भनिएको छ । परराष्ट्र एक अधिकारीका अनुसार भने त्यस विषयमा मन्त्रालयले जानकारी दिएको हो । बेलयातमा पूर्वमुख्य सचिव नै राजदुत छन् । त्यहाँबाट खोप आउने घोषणा भएको धेरै भयो तर आउन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया