कूटनीति

नेपाल-भारत 'ओभरसाइट मेकानिजम' बैठक

भारतीय सहयोगमा निर्माणाधिन परियोजनाको समिक्षा

इकागज |
साउन ३२, २०७८ सोमबार २०:३१ बजे

तस्बिर - भारतीय दूतावास

काठमाडौँ - भारतीय सहयोग तथा सहुलियत ऋणमा नेपालमा निर्माणाधिन परियोजना अनुगमन समितिको बैठक सोमबार काठमाडौँमा बसेको छ । नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको तर्फबाट भारतीय राजदूत विनय मोहन क्‍वात्राको नेतृत्वका टोली रहेका थिए । 

भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति अनुगमन गर्ने हेतु सन् २०१६ मा स्थापना गरिएको सो समितिको बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरूका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरूको उपस्थिति रहने गरको छ ।


एक वर्षपछि बैठक बसेको हो । गत वर्षको भाद्र एक गते बैठक बसेको थियो । पौड्याल परराष्ट्र सचिव भए यता यो पहिलो बैठक हो । २०७७ भदौ एक गते पछिका प्रगतिबारेमा बैठकमा छलफल भएको परराष्ट्र मन्त्रालयले बैठकपछि जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।  द्विपक्षीय सहकार्य परियोजनाहरूको विस्तृत रूपमा समीक्षा भएको बताइएको छ । कोभिडले थलिएका केही परियोजनाहरूको कार्यान्वयन प्रक्रियालाई थप तीव्रता दिने विषयमा दुवै पक्ष सहमत भएको जनाइएको छ  ।

कोभिड महामारीले निम्त्याएको अनेक अवरोधका बाबजुद पनि पछिल्लो एक वर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिबारे दुवै सह-अध्यक्षले बैठकमा जानकारी गराएका थिए । यसले दुई राष्ट्रबीचको द्विपक्षीय साझेदारीको शक्ति र प्रतिबद्धता र दुवै पक्षले एक अर्कालाई सहयोग र सहजीकरण गर्न देखाएको तदारुकतालाई स्पष्ट रूपमा झल्काएको पनि परराष्ट्र अधिकारीको धारणा छ ।

बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरू, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरूको प्रगतिबारे छलफल भएको थियो । 

यसअलवा अरुण-तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति र नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माण बारे पनि छलफल भएको थियो । परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पुर्‍याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने कुरामा सहमत भएका थिए । 

यसको अलावा भारतले नेपाललाई उपलब्ध गराएको औषधी, चिकित्सकीय उपकरण, बेड, आइसियु, भेन्टिलेटर र खोप लगायतका कोभिड-१९ सँग सम्बन्धित सहकार्यको समेत छलफल भएको थियो । ओभरसाइट मेकानिजमको अर्को बैठक दुवै पक्षलाई सहज हुने मितिमा जतिसक्दो छिटो आयोजना गर्ने जनाइएको छ । 


Author

थप समाचार
x