कूटनीति

अफगानिस्तान तनाव : नेपालीको उद्धार गर्ने अरु, गफ दिने परराष्ट्र !

इकागज |
भदौ ५, २०७८ शनिबार २०:१५ बजे

काठमाडौँ - अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको उद्धार भइरहेको र बाँकीलाई पनि ल्याउने प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि यसमा परराष्ट्र अधिकारी भन्दा पनि त्यही रहेका नेपालीको सहयोग र नेपालीलाई माया गर्ने विदेशीले सहयाेग गरेर उनीहरू काठमाडौँ ओर्लेका हुन् ।

परराष्ट्र मन्त्रालयले निकै ढिलो प्रक्रिया अघि बढाएको हो । अफगानिस्तानमा समस्या आउँछ भन्ने विषयमा सबै जानकार थिए । तर त्यसमा कुनै काम भने भएन । समस्या परेपछि परराष्ट्र मन्त्रालयले काम थाल्छ । त्यसअघि तयारी नै गर्दैन । यो रोगबाट मन्त्रालय मुक्त हुन सकेको छैन । यस विषयमा दिल्लीस्थित दूतावासलाई पनि सोध्‍न आवश्यक छ । त्यसतर्फ ध्यान नै दिएन परराष्ट्र मन्त्रालयले । 


उद्धारसम्बन्धित कम्पनीले गरेको भए पनि परराष्ट्र अधिकारी बैठक बसेर यहाँ क्‍वारेन्टिनमा राखेर उद्धार गरेको बताइरहेका छन् । अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू भइरहेको भन्दै आएको पनि पाँच दिन भइसकेको छ ।  

मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको शनिबार बसेको बैठकमा त्यहाँ उद्धार हुन बाँकी भएका नेपालीलाई मित्र राष्ट्रहरुसँगको समन्वय अनि नेपाल सरकारले गर्ने स्वेदश फिर्ताबारेमा छलफल भएको जानकारी दिइएको छ । अधिक सबै उद्धार कार्य नेपाल सरकारले भन्दा पनि त्यहाँ रहेका विदेशी कम्पनी र दूतावासले नै गरेको छ । 

शनिबार टर्किस एयर तथा  जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् । हालसम्म कूल ५ सय ४ नेपाली अफगानिस्तानबाट उद्धार भई काठमडौँ आइसकेका छन् । सबै जसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् । 

नेपाल फर्केपछि भने अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको पनि जनाइएको छ । 

कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ५ बजेसम्म ३ सय १७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएका छन् । उद्धारको लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगि सकेकाहरूको विवरण रुजु गरी उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा समेत अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x