कूटनीति

जापानले दिएको खोप मित्रताको प्रतिक : राजदूत

इकागज |
भदौ ७, २०७८ सोमबार १९:५७ बजे

काठमाडौँ - जापान सरकारले अनुदानमा उपलब्ध गराएको १६ लाख १४ हजार ७ सय ४० डोज एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख डोज उपलब्ध गराउने भने पनि त्यो भन्दा बढी खोप उपलब्ध गराएको हो । कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार नेपाल आइपुगेसँगै बाचा गरेको सबै खोप आइपुगेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । 

जापानले नेपाललाई एक असल मित्रको रूपमा यस्तो सहयोग गरेको पनि जनाएको छ । ‘यो सहयोग साथीत्वको एक प्रतिक हो । जापानले बोलेको भन्दा बढि नै खोप नेपाललाई दिन सकेकोमा खुसी छु,’ नेपालका लागि जापानी राजदुत किकुता युताकाले बताएको दूतावासले जनाएको छ । राजदूत किकुताले नेपाललाई अझै खोप नपुगेकोमा जापान जानकार रहेको र यस्तै सहयोग आगामी दिनमा गर्ने समेत बताए । 


यसअघि साउन २३ र २४ गते ९ लाख डोज र  भदौ ५ गते २ लाख ८ हजार ७ सय  डोज खोप नेपाल आएको थियो । फागुनमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो । 
 


Author

थप समाचार
x