कतारको उपहार तीन मर्सिडिज कार
काठमाडौँ : मित्र राष्ट्र कतारले नेपाल सरकारलाई तीन मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयको प्रांगणमा आयोजित कार्यक्रममा कतारी राजदुत युसुफ विन मोहम्मद अल-हैलले कतार सरकारका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याललाई कारको साँचो हस्तान्तरण गरेका छन् । त्यही प्रांगणमा कतारले पाँच वर्ष अघि दिएका ११ गाडी मध्ये केही पार्क भइरहेका थिए ।
नेपाल सरकारले २०७१ मंसिरका सार्क शिखर सम्मेलन गर्न आफ्ना पाहुना ओसार्नका लागि भारतबाट कार भाडामा ल्याउन परेको देखेपछि कतारले त्यतीबेला मर्सिडिजकै ८ कार, दुई बस र एक पिकअप भ्यान सरकारलाई उपलब्ध गराएको थियो । उक्त कार पछि विमस्टेक शिखर सम्मेलनमा नेपालले उपयोगमा ल्यायो । सँगै विदेशी पाहुना नेपाल भ्रमणमा आउँदा होस या राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा पनि उक्त कार उपयोग हुँदै आएको छ ।
तर कतिपय कार विभिन्न निकायका ब्यक्तिले चढ्ने गरेका छन् । तर, पनि केही कार अझै परराष्ट्रले जोगाएर राखेको छ । कतारको विकासमा नेपालको पसिना परेको बताउँदै आउने राजदूतले नेपाल सरकरको काममा थोरै भएपनि सहजीकरणको लागि भन्दै ति कारहरू उपहकारका लागि दिएका हुन ।
परराष्ट्र सचिव पौड्यालले कतारले कार उपलब्ध गराएकोमा कतार सरकारलाई राजदूत मार्फत धन्यवाद दिएका छन् । कार उपहार प्राप्त भएकोमा मात्र होइन कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि उनले सम्पुर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न गरेको बताए ।
काठमाडौंमा भएका राजदूत मध्ये सक्रिय राजदूतको रुपमा देखिएका कतारी राजदूतले नेपालीहरुलाई कतारी नागरिक सरहको सुविधा कतारमा दिने गरेको बताउँदै नेपालको विकासमा कतार सधै सहयोगी रहने समेत बताउँदै आएका छन् । उनी नेपालको पर्यटन लगायतको क्षेत्रको विकासमा पनि नेपाल सरकारलाई सुझाउने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया