कूटनीति

लोकतान्त्रिक मुलुकहरूको साथ अपरिहार्य : परराष्ट्रमन्त्री खड्का

चन्द्रशेखर अधिकारी |
असोज ६, २०७८ बुधवार १४:१९ बजे

काठमाडौँ- प्रधानमन्त्री बनेको ७२ दिनपछि शेरबहादुर देउवालले परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । बाध्यकारी अवस्था आइलागेपछि उनले परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न नसकेका देउवाले अन्तराष्ट्रिय जगतमा आफूलाई जोगाउन परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । उनले नियुक्त गरेका नयाँ परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बुधबार शपथ गराएर राष्ट्रसंघको ७६ औँ महासभामा सहभागिका लागि न्यूयोर्क पठाउन लागेका हुन् । 

यो अवस्था आउँछ भन्ने बुझेका प्रधानमन्त्रीले यसअघि नै नियुक्त गर्न पर्ने थियो । राष्ट्रसंघमा सहभागिताको साथै नेपाल सार्कको अध्यक्ष समेत रहेकाले त्यहाँ गराउने साइडलाइन परराष्ट्रमन्त्रीस्तरीय बैठक पनि सरकारको प्राथमिकतामा थियो । तर, सार्क बैठक यतिबेला अनिश्चित बनेको छ ।  नेपालले सार्कको बैठक राख्‍न पहल गरेको भए पनि शिखर सम्मेलन गराउन नपाएको पाकिस्तानले सहभागिता टुंगो नलगाएको र अफगानिस्तानको अवस्थाले गर्दा बैठक नहुने भएको हो । यद्यपि हरेक सार्क सदस्य मुलुकका प्रतिनिधिसँग भने नेपालले छलफल गर्नेछ । 


नेपालको अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो उपस्थिती देखाउन र साख बचाउन भए पनि राष्ट्रसंघमा सानो टिम पठाउन आवश्यक थियो । त्यसका लागि खड्कालाई नियुक्त गरेका हुन् । खड्का, परराष्ट्र सचिव, राष्ट्रसंघ महाशाखा प्रमुख र एक अधिकारी मात्र उक्त बैठकमा सहभागी हुन न्यूयोर्क जानेछन् । यो पटक कोभिड–१९ को प्रभावका कारण समस्यामा परेका अल्पविकसित मुलुकको अवस्थाबारेमा स्पष्ट हुन पनि आवश्यक छ । 

हुन त देउवाले साउनमा नै परराष्ट्र मन्त्रीमा खड्कालाई नियुक्त गर्ने बताएको भए पनि सत्ता गठबन्धनमा कुरा नमिल्दा समय लिएको हो । मंगलबार सत्ता गठबन्धनको बैठकमा खड्काको नाममा सहमति भएपछि उनलाई नियुक्त गरिएकाे हाे । खड्का उदयपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीमा अन्तराष्ट्रिय संघसंगठनमा मात्र होइन यसअघि सुशील काेइराला नेतृत्वकाे सरकारमा सहरी विकास मन्त्री र  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको समयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक वहन गरिसकेको अनुभव छ । भट्टराईका सल्लाहकार तथा सहयोगी पनि रहेर काम गरेका उनी शान्त स्वभाव र अर्थ एवं कूटनीतिका विज्ञ नेता हुन् ।  

अर्थशास्त्रमा पीएचडी खड्काले विकास कूटनीति, राजनीति, अर्थनीतिसम्बन्धी पुस्तक पनि लेखेका छन् । आज भन्दा २५ वर्षअघि नै ‘फरेन एड एन्ड फरेन पोलिसी मेजर पावर्स एन्ड नेपाल’  नामक उनको पुस्तक भारतबाट प्रकाशित गरिसकेका छन् ।  उनले परराष्ट्र मन्त्री भए लगत्तै इकागजसँग भनेका छन्, ‘गर्नपर्ने धेरै कामहरु छन् । तर प्राथमिकताको आधारमा गर्दै जाने हो । राष्ट्र हितलाई हेरेर सक्दो राम्रो गर्ने प्रयास गर्नेछु ।’  

अध्ययन नै नगरी, एक पटक राजदूत वा परराष्ट्रमन्त्री हुँदैमा नेपालमा कूटनीतिक पदवी पाएको देख्दा आश्‍चर्यमा पर्ने गरेका खड्कासँग सरकारबाट हुने अपेक्षा, नेपालको बिग्रँदो कूटनीतिक छवि, अन्तर्राष्ट्रिय चासोमा आफूले सक्रिय रुपमा काम गर्ने बताएका छन् । उनलाई नियुक्त गर्ने तयारी गरेकै दिन सरकारले राजनीतिक तवरबाट नियुक्त गरेका राजदूतलाई फिर्ता समेत गरेको छ । 

खड्का राष्ट्रसंघबाट फर्केपछि सबै जसो स्थानमा राजदूत नियुक्त गर्न पर्ने हुन्छ । उनले कस्ता व्यक्तिलाई सिफारिस गर्छन त्यसबाट नै उनको परीक्षा सुरु हुनेछ । उनले यसअघि भन्दै आएका कुरा र गराईमा तालमेल भयो भने पक्कै उनी उदाहरणीय परराष्ट्रमन्त्री हुनेछ । अर्थात्, उनले २५ वर्ष अघि लेखेको पुस्तकको अर्थ राख्‍नेछ । अन्यथा उनी पनि 'आए राम, गए राम'मा दर्ज हुनेछन् । 

थिंक ट्यांकलाई व्यवस्थित गर्ने, राजदूतमा विज्ञहरुलाई पठाउने अझ खासगरि सिधा कुरा राख्‍न सक्ने सम्बन्धित मुलुक बुझेका व्यक्ति पठाउने लगायतको काम परराष्ट्रमन्त्रीले गर्नुपर्ने हुन्छ । परराष्ट्रको महाशाखालाई साच्चै महाशाखा जस्तो बनाउने, सहसचिव भएपछि कम्तीमा पनि पाँचवर्ष महाशाखा प्रमुख या नियोग उपप्रमुख भएर काम गरेको हुनुपर्ने जस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ । परराष्ट्र कर्मचारी हुँदैमा विज्ञ हुन्छन जता पठाए पनि काम गर्न सक्छन्न भन्ने भ्रमबाट मुक्त हुँदै उनीहरूको क्षमताको पनि मूल्यांकन गर्न आवश्यक छ । 

यस्तै विषयमा ध्यान नदिएको कारणले पनि होला नेपाली कांग्रेस नेतृत्वको सरकार बने पनि  जनतामा त्यति उत्साह देखिएको छैन । सरकार कसरी अघि बढ्ने भन्नेमा नै अलमल देखिएकाले नागरिक निराश छन् । यस्तो असजिलो समयलाई सहज बनाउन सरकारले निकै सोचविचार गर्न पर्ने हुन्छ । अप्रिय निर्णयहरु गर्न पर्ने हुन्छ । राजदूत फिर्ता गर्ने निर्णय हेर्दा अप्रिय लागे पनि त्यो राम्रो निर्णय थियो । 

राम्रोसँग आफ्नो कुरा समेत राख्न नसक्ने व्यक्तिलाई बेलायत जस्तो मुलुकमा राजदूत बनाएका थिए । पदमा राजदूत साट्ने काम परराष्ट्रबाटै भएको थियो । एनसेलदेखि अन्य अनेकनको स्वार्थ पुरा गराउन पटक पटक लाभको पदमा बसेकालाई राजदूत बनाएर अमेरिका पठाइएको थियो । त्यस्तै अन्य मुलुकमा पनि पार्टीमा सहयोग गरेको र सँगै जेलबसेको आधारमा मूल्यांकन गरेर राजदूत नियुक्ति गरेका थिए । यस्तो विषयमा भने डा. खड्का निर्भिक भएर निर्णय लिनुपर्छ । 

कोभिड–१९ को महामारी कायमै छ, कांग्रेस आफ्नै  दलको महाधिवेशन गर्नुपर्ने अवस्था छ । अब मुलुकको आवधिक निर्वाचन पनि गराउनुपर्ने अवस्था छ । निर्वाचनको मुखमा रहेको सरकारले धेरै विषयमा ध्यान दिएर अघि बढ्न आवश्यक छ । त्यसलाई मध्यनजर राख्दै छिमेक र तेस्रो विश्वसँगको सम्बन्धमा सन्तुलन ल्याउन आवश्यक छ । त्यो काम खड्काको जिम्मेवारीमा देउवाले सुम्पेका छन् । कूटनीतिक समुदायसँग राम्रो सम्वन्ध राख्दै आएका खड्काले एमसीसी, बीआरआई, भारतसँगको सम्बन्ध लगायतमा निकै ठूलो मेहनत गर्न पर्ने देखिन्छ । 

ल्याएको खोप वितरण गर्न नसकेको अवस्था छ । दातृ निकाय बेखुश भएको अवस्था छ । त्यसैले यसमा पारदर्शिता ल्याउन आवश्यक छ ।  यसअघिको सरकारले राष्ट्रवादी नारा घन्काएर काम भने खासै अघि नबढाएको अवस्थामा सरकारले धेरै मेहनत गर्न पर्ने देखिन्छ ।  कतिपय विषयमा राष्ट्रिय सहमति बनाएर अघि बढाउन आवश्यक रहेको अवस्थामा खड्काले काम गर्नपर्ने उनले बताए । 

लोकतान्त्रिक सरकार चाहिन्छ, अन्तर्राष्ट्रिय फेस चाहिन्छ भनेर कम्युनिस्टकै एक खेमाले सहयोग गरेर सरकार बनेकाे यो अवस्थामा खड्काले त्यसमा कस्तो भूमिका निर्वाह गर्ने हो उनको कार्यशैलीले बताउनेछ । उनले पटक पटक भन्दै आएका छन्, ‘लोकतान्त्रिक संस्कार भएको कांग्रेस पार्टीको नेताले कुनै पनि विषयमा तलमाथि गर्दैन । देउवाजी अन्तर्राष्ट्रिय समुदायले चिनेको व्यक्ति हुनुहुन्छ । म उहाँलाई सघाउन त्यही कित्तामा छु । जनताको मात्र होइन, लोकतान्त्रिक मुलुकको पनि आड भरोसा हामीलाई चाहिन्छ ।’ 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x