कूटनीति

'ज्वाइँ सरकार'को निर्णयले सासू राजदूत पनि फिर्ता

इकागज |
असोज ६, २०७८ बुधवार १६:१ बजे

काठमाडौँ– मन्त्रिपरिषद्ले अघिल्लो सरकारले नियुक्त गरेका परराष्ट्रका कर्मचारी बाहेकका अन्य सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयसँगै जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि फिर्ता हुने भएकी छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघिल्लो पटक प्रधानमन्त्री हुँदा राप्रपाकी नेता समेत रहेकी राणालाई राजदूत नियुक्त गरेका थिए । बरु कांग्रेससँग निकट रहेर लामो योगदान गरेका प्राध्यापक डा. विश्वम्भर प्याकुर्‍याललाई श्रीलंका अनि डा. चोपलाल भुषाललाई बंगलादेशको राजदूत बनाइएको थियो । 

देउवाले नियुक्त गरेका राजदूत पूर्ववर्ती ओली सरकारले फिर्ता गरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट बनेर चीनको राजदूत बनेका लीलामणी पौड्याललाई पनि उनको कार्यकालको अन्त्यतिर ओली सरकारले फिर्ता बोलाएको थियो । कार्यकालको बीचमा राजदूतबाट फिर्ता बोलाइनु एक हिसाबले राजदूतहरूको मानमर्दन पनि हो, तर राजनीतिक नियुक्ती भएकाले सरकार परिवर्तन भएपछि स्वेच्छाले राजीनामा दिएर कतिपय आफैं फिर्ता आउने गरेका पनि छन् । डा. विश्वम्भर प्याकुर्‍याल राजीनामा दिएर श्रीलंकाबाट फर्केका थिए । 


देउवाकी सासू समेत रहेकी राणा भने कार्यकाल सकिएर पनि थप गरेर बसेकी थिइन् । पूर्ववर्ती ओली सरकारले सबै राजदूत फिर्ता बोलाएपनि राणालाई भने पदावधि थप गरेरै राखेको थियो । कतिपयले भने तत्कालीन प्रतिपक्षी दलका नेता देउवालाई खुसी पार्ने ओलीको चातुर्यको रूपमा पनि यसलाई व्याख्या गरेका थिए । त्यस्तै शर्मिला पराजुली ढकाल, ओमनको पनि अर्को व्यवस्था नभएसम्म भन्ने पत्र ओली सरकारबाट पाएकी थिइन् । 

यसअघि एमालेबाट मन्त्री बनिसकेका अमेरिकाका राजदूत डा. युवराज खतिवडा र चीनका राजदूत महेन्द्रबहादुर पाण्डेले गठबन्धन सरकार बनिसकेपछि पनि राजीनामा नदिइ बसिरहेका थिए । कोभिड-१९ महामारीका कारण अपनाइएको सुरक्षा सतर्कताका कारण हुलाकबाट अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका डा. खतिवडा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस पनि छिर्न नपाई फिर्ता हुने राजदूतमा परेका छन् । अर्का राजदूत महेन्द्रबहादुर पाण्डे भने चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई ‘नेपालमा भारतले जस्तो चीनले हस्तक्षेप नगर्ने’ अन्तर्वार्ता दिएर विवादमा आएका थिए । 

मन्त्रिपरिषद्को निर्णयले अब १२ जना राजदूत फिर्ता हुने भएका छन् । 

कहाँबाट को-को फिर्ता आउँदैछन् ? 

परराष्ट्र मन्त्रालय बाहिरबाट नियुक्तहरू

 प्रतिभा राणा– जापान 

महेन्द्रबहादुर पाण्डे– चीन 

डा. युवराज खतिवडा– अमेरिका 

नीलाम्बर आचार्य– भारत 

शर्मिला पराजुली ढकाल– ओमन 

बंशीधर मिश्र– बंगलादेश 

लोकदर्शन रेग्मी– बेलायत 

अन्जन शाक्य– इजरायल 

आङ्गफुटी शेर्पा– स्पेन 

डा. निर्मलकुमार बीके– दक्षिण अफ्रिका 

उदयराज पाण्डे– मलेसिया 

डा. नारद वाग्ले– कतार 

परराष्ट्र मन्त्रालयका कर्मचारीहरू जो फर्कनु परेन 

कृष्ण ढकाल– संयुक्त अरब इमिरेट्स 

अमृतबहादुर राई–  न्यूयोर्क राष्ट्रसंघ आवासीय मिसन 

मणीप्रसाद भट्टराई– जेनेभा राष्ट्रसंघ आवासीय मिसन 

दुर्गा भण्डारी– कुवेत (सेवा निवृत्त)

भृगु ढुंगाना– क्यानडा

दिपक अधिकारी - फ्रान्स (सेवा निवृत्त)

गणेशप्रसाद ढकाल– थाइल्याण्ड 

तपस अधिकारी– पाकिस्तान 

रामकाजी खड्का– जर्मनी 

गेहेन्द्र राजभण्डारी– वेल्जियम (युरोपियन युनियन)

जहाँ पहिलेदेखि नै खाली छन् 

श्रीलंका

म्यानमार 

रसिया

डेनमार्क

अस्ट्रेलीया 

अस्ट्रीया (भियना राष्ट्रसंघ आवासीय मिसन) 

ब्राजिल 

साउदी अरेविया 

इजिप्ट 

दक्षिण कोरिया

बहराइन 

 


Author

थप समाचार
x