कूटनीति

प्रधानमन्त्री खान र राजदूत अधिकारी भेटवार्ता

नेपालसँग मिलेर काम गर्न चाहन्छौँ : पाकिस्तानी प्रधानमन्त्री

इकागज |
असोज ६, २०७८ बुधबार २०:५९ बजे

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई थप अघि बढाउँदै मजबुद सहकार्य गर्ने जनाएका छन् । उनले पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई शिष्टाचार भेट दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् । यस क्षेत्रको शान्ति र विकासमा सहकार्य गर्न आवश्यक रहेको पनि उनले बताए ।

पाकिस्तानले अफगानिस्तानको विषयमा नेपालसँग स्पष्ट धारणा माग्दै न्यूयोर्कमा हुने सार्क विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी नहुने बताएको भोलिपल्ट अधिकारीलाई प्रधानमन्त्री खानले भेटेका हुन् ।  यद्यपि राजदूत अधिकारीले पहिलेदेखि नै उनलाई भेट्न खोज्दै थिए ।


सार्क अध्यक्ष नेपालले आयोजना गर्ने सार्क विदेश मन्त्रीस्तरीय बैठकमा अफगानिस्तानको पूर्ववर्ती सरकारको दूत सहभागी नहुने ग्यारेन्टी नेपालले गर्नुपर्ने असजिलो माग पाकिस्तानले राखेको थियो । त्यसमा नेपालले आफू स्पष्ट हुन नसकेको बताएपछि बैठक नै रोकिएको हो । 

बैठक रोकिएको सार्वजनिक भएकै दिन नेपालका राजूतलाई प्रधानमन्त्री खानले भेटेका हुन् । यद्यपि बैठकमा त्यस विषयमा भने छलफल नभएको र यो बैठकमा दुईपक्षीय हितका विषयमा छलफल भएको राजदूत अधिकारीले बताए ।  राजदूत अधिकारीका अनुसार प्रधानमन्त्री खानले दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न मिलेर काम गर्ने जानकारी उनले दिए ।

सार्क विदेश मन्त्री स्तरीय बैठक रोकिएको जानकारी आफूले पत्रिका पढेर थाहा पाएको समेत उनले बताए । पाकिस्तालने दुईपक्षीय सम्वन्धलाई अझ सुदृढ गर्न चाहेको जानकारी दिएको छ । दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको पनि खानले राजदूतलाई बताए । उक्त अवसरमा खानले नेपाल समकक्षी शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए । 

इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा अन्य दुई पक्षीय विषयमा पनि कुराकानी भएको थियो । राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जहिले पनि सौहार्दपूर्ण रहेको उल्लेख गर्दै नेपालले पनि सधै दुई पक्षीय सम्बन्धलाई थप सुदृद्ध र परिस्कृत गर्दै अघि बढाउन चाहेको जानकारी गराएका थिए । 


Author

थप समाचार
x