कूटनीति

शीतल निवासमै सीको चार वर्ष पुरानो पुस्तकको लोकार्पण किन ?

इकागज |
असोज ७, २०७८ बिहीबार २०:२४ बजे

काठमाडौँ - राष्ट्रपति भवनमा शीतल निवासमा बिहीबार अलि फरक दृश्य देखियो । विषय त सामान्य थियो, पुस्तक विमोचन । तर, पुस्तक चाहिँ कुनै नेपालीको थिएन, छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको थियो । पुस्तक पनि नयाँ होइन, चार वर्ष अघिको हो भने दुई वर्ष पहिले नै यो पुस्तक नेपालीमा अनुवाद गरिएको हो ।

सीको पहिलो भाग सन २०१४ मा आएको थियो । उनको भाषणको संगालो हो । यसको दोस्रो भाग २०१८ को पहिलो महिनामा नै आएको थियो । सीको ‘सी चीनफिङ : चीनको शासन व्यवस्था खण्ड-२’ को नेपाली संस्करण लोर्कापण र खण्ड-३ को अंग्रेजी संस्करणको परिचात्मक कार्यक्रम गरिएको हो । पुस्तकको लोकार्पण राष्ट्रपति कार्यालयमा गरियो ।


जुन दृश्य शीतल निवासमा कार्यरत सरकारी अधिकारीहरूले असहज पारामा लिए । लोकार्पणका लागि चिनियाँहरूले राष्ट्रपति भवनभित्रै आफ्नै तवरले स्टेज तयार पारेका थिए । बिहीबार नेपालका हुनाहार भनिएका केही कूटनीतिज्ञहरूलाई समेत साक्षी राखेर त्यहाँ पुस्तक राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत होउ यान्छीसँगै उभिएर लोर्कापण गरेकी हुन् ।

चिनियाँ राष्ट्रपतिको विचारलाई नेपालीमा अध्ययन गर्न पाउने अवस्था श्रृजना गर्ने काम भने चीन अध्ययन केन्द्रले गरेको हो । यसअघिको पहिलो पुस्तक पनि सोही केन्द्रले अनुवाद गरेको थियो । तर, कार्यक्रमको आयोजक चीन अध्ययन केन्द्र होइन । चिनियाँ राज्य परिषद् सूचना केन्द्रले कार्यक्रम आयोजना गरेको हो । यसलाई चिनियाँ प्रोपोगाण्डा डिपार्टमेन्टको रूपमा उनीहरू नै अर्थ्याउँछन् ।  राष्ट्रपति भवनभित्र चिनियाँ राजदूतले सबैको सहमति मिलाएर यो तहको कार्यक्रम गरेकी हुन् ।

चीनको राष्ट्रपतिका पुस्तक कुनै होटलमा गरेर राष्ट्रपतिलाई निम्ता दिन सकिन्थ्यो । राष्ट्रपति भवन भित्रै किन गरेको भन्ने प्रश्नमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू  पाँँच वर्ष अघि पनि राष्ट्रपति भण्डारीले  शीतल निवासमा कार्यक्रम गरेको भन्दै तर्किए । त्यतीबेला चीन हाम्रो छिमेक र गरेको अनुरोधलाई नकार्न नमिल्ने भन्दै राष्ट्रपति कार्यालयले जनाएको थियो ।  

राष्ट्रपतिका प्रेस सल्लाहकार टिक ढकालले पहिले पनि यस्तै कार्यक्रम गरिएकोले यसपटक पनि गर्न दिइएको जानकारी दिए । यसलाई अन्य हिसावबाट हेर्न नमिल्ने भन्दै उनले भने, ‘नेपाल चीन सम्बन्धलाई यस प्रकारको कार्यक्रमले हितै गर्छ । पक्कै नराम्रो गर्दैन । तर अर्थ अनेक लगाउन सकिन्छ ।’

राष्ट्रपति भवनको प्रांगणमा पनि होइन भवनभित्रै कार्यक्रम भएको भन्दै यस विषयमा परराष्ट्रका केही अधिकारीले असहमति राखे पनि राष्ट्रपति समक्ष कुरा पुर्‍याउन भने सकेनन् । हुनत परराष्ट्रका एक सहसचिवको टोली राष्ट्रपति भवनमा नै बस्छ । तर टोलीले पनि यस विषयमा खासै ध्यान दिन नभ्याएको र पहिले पनि भएको भन्दै त्यसमा केही फरक नपर्ने दृष्टिले धारणा परराष्ट्रलाई पठाएको छ ।

अझै लोकार्पणमा राष्ट्रपतिले चिनियाँ राजदूतको प्रशंसा निकै रोचक थियो । नेपाल चीन सम्बन्ध उचाईमा पुर्‍याउन राजदूत होउ यान्छीले निर्वाह गरेको भूमिकाको वेली विस्तारले राजदूत नै आश्चर्यमा परिन् सायद, एक पूर्व कूटनीतिज्ञल सुनाए ।  

राष्ट्रपतिको राजनीतिक सल्लाहकार लालबाबु यादबले राष्ट्रपति सीको पुस्तक भएकाले लोकार्पण गरिएको र अन्य कोणबाट सोच्‍ने काम नै नभएको बता ए । उनले भने, ‘यसको कूटनीतिक इम्प्याक्टको विषयमा छलफल गरेर मात्र भन्न सक्छु ।’ यतिबेला स्पष्ट हुनुपर्छ प्रधानमन्त्री स्वयं राष्ट्रपतिको सल्लाहकार हुन । त्यस्तै परराष्ट्रमन्त्री स्वयं राष्ट्रपतिका कूटनीतिक सल्लाहकार हुन् । 

यस्ता विषयमा उनीहरूले पनि ध्यान दिनुपर्छ । आलंकारिक राष्ट्रपतिको कतिपय गतिविधिले झट्ट हेर्दा हित हुने भनिए पनि बाह्य कोणबाट खोक्रो परेको हुनसक्छ । राष्ट्रपति इन्स्टिच्युसन हो यसमा हुने कार्यको मूल्यांकन अनेक कोणबाट हुन्छ । राष्ट्रपतिका वरपर बस्‍ने र सल्लाह दिनेहरूले केही अब्बल थिए होलान तर कतिपयले त सल्लाह उचित दिने भन्दा आफ्ना 'दूनो' सोझ्याउने काममा लागि परेका हुन्छन् । त्यो अहिले मात्र होइन विगतदेखि नै हो । 

कतिपय सल्लाहकारहरुले राष्ट्रपतिको मुखबाट राजदुतले खोजेको कुरा सुनाउने काम गरेका हुन्छन् । अदृष्यमा राजदूतसँग छलफल गरेर आफ्नो काम मिलाएर  राष्ट्रपतिलाई यसो भन्दा ठिक हुन्छ भनेर सुनाउने समेत गरेका उदाहरण परराष्ट्र अधिकारीहरूसँग छन् । यस्ता विषयमा आफ्ना सल्लाहकार भन्दा पनि महाशाखा प्रमुखहरुलाई बोलाएर राष्ट्रपति स्वयंले सोध्‍न पर्ने हुन्छ ।  छिमेक र शक्ति राष्ट्रको विषयमा गम्भीर हुनैपर्छ ।

यसको अनुवाद चीन अध्ययन केन्द्रले गरेको र त्यो पुस्तक केन्द्रले चिनियाँ दूतावासलाई हस्तान्तरण गरेको हो । चीन अध्ययन केन्द्रका प्रमुख एवं पूर्व राजदूत सुन्दरनाथ भट्टराईले पहिले पनि गरेको हुनाले अहिले पनि चिनियाँ दूतावासको पहलमा राष्ट्रपति कार्यालयमा कार्यक्रम भएको हो । चीन अध्ययन केन्द्रले तेस्रो पुस्तक पनि अनुवादको प्रक्रियामा गएको भट्टराईले जानकारी दिए । 

चीन नेपालको छिमेकी हो । चीनसँग सहकार्य गर्नुपर्छ त्यसको अर्थ सबै उसले भनेको मान्नुपर्छ भन्ने होइन भन्दै परराष्ट्र अधिकारीले सुनाए यस विषयमा परराष्ट्र मन्त्री अमेरिकाबाट फर्केपछि मन्त्रालयमा छलफल हुनेछ । यसअघि परराष्ट्र मन्त्री नहुँदा र प्रधानमन्त्रीले सिधा हेर्न नभ्याउँदा यस्तो अवस्था आएको हो । 
 


Author

थप समाचार
x