कूटनीति

टिप्पणी

संविधान रोक्न मोदीको दूत बनेर आएका जयशंकरको ट्‍वीटले कुटनीतिमा तरंग

चन्द्रशेखर अधिकारी |
असोज ११, २०७८ सोमवार २१:५१ बजे

काठमाडौँ - राष्ट्रसंघको ७६ औँ महासभाको साइडलाइन वार्ता लगत्तै भारतीय विदेशमन्त्री यस जयशंकरले नेपाल–भारत सम्बन्धलाई ‘विशेष सम्बन्ध’को रूपमा थप अघि बढाउनु पर्ने सन्देश दिएपछि काठमाडौँमा बहस सुरु भएको छ । दुईपक्षीय सम्बन्धबारे पूर्वव्यूरोक्रेटले विशेष भन्ने विशेषण लगाएपछि कूटनीतिक र रणनीतिका मामिलाका जानकारहरू आश्चर्यमा परेका हुन् । भारतले ५० वर्षपछि पुनः त्यही शब्द विदेशमन्त्रीको मुखबाट बाहिर ल्याएको छ । 

सन् १९७० मा तत्कालिन भारतीय विदशमन्त्री दिनेश सिंहले यही शब्द बाहिर ल्याउँदा काठमाडौँमा हंगामा भएको थियो । त्यतीबेला विदेशमन्त्री सिंह एक कदम पछि हट्दै नेपालसँग भारतको सम्बन्ध युनिक रहेको बताउन पुगेका थिए । हुन पनि अन्य मुलुकसँग भन्दा फरक सम्बन्ध भारतसँग छ । संस्कृति होस या खुला सीमा । त्यो नियाल्दा फरक सम्बन्ध भन्न त मिल्छ तर विशेष सम्बन्धको अर्थ अर्कै लाग्नेछ ।  


‘नेपाल भारत सम्बन्ध युनिक वा फरक छ भन्ने रूपमा व्याख्या गर्न सकिन्छ । तर विशेष सम्बन्ध भन्न मिल्दैन,’ कूटनीतिक क्षेत्रमा काम गरिरहेकाहरूले भने, ‘पहिले पनि यस विषयमा भारतीय विदेशमन्त्रीले बोल्दा नेपालमा भारत विरोधी नारा जुलस नै भएको थियो । सरकारले फरक स्टेटमेन्ट दिएको थियो ।’  

भारतीय व्युरोक्रेसीमा नेपालसँगको सम्बन्धलाई विशेष सम्बन्धको संज्ञा दिइएको छ । त्यही संज्ञामा अडेर त्यहाँका केही कर्मचारीहरूले यस्तो भन्ने गरेका छन् । तर त्यो नेपालको लागि सहज विषय होइन । किनकी नेपालले सबैसँग समान र समदुरीको सम्बन्ध राखेको छ । यद्यपि नेपालले आफ्नो कूटनीतिक यात्रा भने छिमेकबाट सुरु हुने भनेको छ । 

यस्ता विषयमा राजनीतिक व्यक्तिले बोल्दा ध्यान दिनुपर्ने हुन्छ । किनकी नेपाल भारत सम्बन्ध साच्चै संवेदनशील छ भन्ने विषय व्युरोक्रेसीमा बसेर काम गरिसकेका विदेशमन्त्रीलाई जानकारी नभएको होइन । तर, उनले यस्ता विषयमा बोलेर फरक सन्देश विश्व समुदायलाई दिन खोजेका हुन् । नेपाल र भारतबीच कैयन विषयमा भएका पत्राचारको उत्तरसमेत नआएको अवस्था छ । 

दुई मुलुकका प्रवुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन नबुझेको अवस्था छ । तर, भारतले अहिले सम्बन्ध विशेष भन्दै त्यस्ता कुरालाई फरक ढंगले अघि बढाएको सन्देश दिन चाहेको धारणा कूटनीतिक क्षेत्रमा काम गरेकाहरूको छ । परराष्ट्र अधिकारीले पनि यो विषयलाई असहज भनेका छन् । भारतीय विदेशमन्त्रीले किन यसरी ट्विट गरे त्यो आफैँमा असहज छ । 

नेपाल र भारतको बीचमा अन्य मुलुकसँगको भन्दा फरक सम्बन्ध छ । जनस्तरको सम्बन्ध अत्यन्त राम्रो र अत्यन्त नराम्रो दुवै खाले छ । भारतले बेला बखतमा लगाउने नकाबन्दी होस या यहाँको आन्तरिक राजनीतिमा दिने चासोले गर्दा भारतप्रति जति राम्रो सद्भाव छ उति नै नराम्रो प्रभाव पनि छ । उक्त विषयलाई नेपाल र भारतबीचको विशेष सम्बन्धको रूपमा कसरी जयशंकरले व्याख्या गरे ? 

नेपालले पठाएको कूटनीतिक पत्रको उत्तर दिनु नपर्ने, कालापानी क्षेत्रबारे पेलेरै जाने अनि सम्बन्धलाई नयाँ आयम दिने भनेर तयार प्रतिवेदन बुझ्नै नपर्ने सम्बन्धलाई विशेष भन्ने की कस्तो भनेर धेरैले प्रश्न गरिरहेका छन् । परराष्ट्रका अधिक अधिकारीले यो विषयमा बहस नै छेडेका छन् । 

सहसचिवहरू यही विषय लिएर बहस गर्दै भनिरहेका छन्, ‘परराष्ट्र मन्त्री डा. खड्का शुक्रबार एअरपोर्ट ओर्लेपछि त्यहाँ नै यो विषय खण्डन गर्न लगाउन पर्नेछ । भारतसँग हाम्रो कुनै डकुमेन्टमा विशेष सम्बन्ध लेखिएको छैन ।’ नेपाल भारत सम्बन्धमा अनेकन विशेषण राखिन्छ । त्यो सबै यसरी डकुमेन्टेड हुँदैनन तर विदेश मन्त्रीले नै विशेष सम्बन्ध भनेर ट्विट गरेपछि यसमा चासो बढेको हो ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल र भारतको सम्बन्धमा अनेकन विशेषण लगाउन आवश्यक नरहेको बताए । ‘नेपाल भारत सम्बन्ध खेर गएको समय र दुरुपयोग भएको स्रोत–साधनको दुःख लाग्दो इतिहास हो । हामीले धेरै समय खेर फालिसक्यौ । स्रोत सधान दुई देशको हितमा हुनुपर्नेमा खेर फालेर विनास भोगिसकेका छौ,’ पूर्व परराष्ट्रमन्त्री पाण्डेले ने, ‘अब दुई देशको सम्बन्धलाई परिभाषित गर्न विशेषणको खोजी गर्न आवश्यक छैन । विगतको अनुभवले यस्ता विशेषण प्रतिउत्पादक हुने गरेका छन् । तसर्थ दुवै देशका सरकारले अहिलेको संवादहिनताको अवस्थालाई तोडेर दुई देशबीचको सम्बन्धमा पुनःविचार गर्नुपर्छ । इतिहासले छोडेका बुँदाहरूलाई बिसाउनु पर्छ र दुई देशको सम्बन्धलाई विश्वासमा जनस्तरको पत्यारमा उभ्याउनु पर्छ ।’ 

भारतीय व्युरोक्रेसीमा विशेष सम्वन्ध रहेको कुरालाई पाकिस्तान, बंगलादेश, श्रीलंका जस्तो होइन नेपालमा हाम्रो हैकम छ भन्ने सन्देश दिन खोजेको सधै देखिएको पूर्वकूटनीतिज्ञहरू बताइरहेका छन् । श्रीलंका बंगलादेश पाकिस्तानलाई जस्तो हेर्ने भन्दा नेपाललाई हेर्ने फरक दृष्टि छ अर्थात नेपाललाई भुटानी दृष्टि भन्न खोजेको हुनसक्ने उनीहरूको परिभाषा छ ।

भारतले भुटानसँगको सम्बन्धलाई विशेष भन्ने गरेको छ । त्यही शब्दावली नेपालसँगको सम्बन्धमा पनि जयशंकरले प्रयोग गरेका हुन् । नेपाल र भुटान हेर्ने एकै डेस्क राखेको भारतले त्यही खाले सन्देश व्यूरोक्रेसी मार्फत दिइरहेको छ । 

जयशंकर नेपालको संविधन रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर आएका व्यक्ति हुन । उनले त्यतीबेला नेपाली नेताहरूसँग गरेको व्यवहारले नेपालसँगको उनको सम्बन्ध र व्यवहार फरक रहेको मानिरहँदा उनैले विशेष सम्बन्ध भनेर विश्व समुदायमा फरक सन्देश दिएका हुन । राजनीति शास्त्रका प्राध्यपक श्रीधर खत्रीले नेपाल र भारतसँगको विषयमा यसता विशेषण प्रयोग भारतीय पक्षबाट हुने गरेको बताए ।

त्यसलाई नेपाली पक्षले काउन्टर दिनुपर्ने उनको सुझाव छ । कुनै डकुमेन्टेड होइन ट्विट गरेको देखे त्यो आवश्यक थिएन लेखिसकेका हुनाले नेपाली पक्षले हाम्रो कुरा त्यस्तो होइन भनेपछि खासै विवाद अघि बढाउन पर्दैन भन्दै उनले भने, ‘रोकिएका अन्य विषयहरूमा पहलकदमी गर्न आवश्यक छ ।’

अहिलेका परराष्ट्रमन्त्री डा. खड्का बुझेकै ब्यक्ति हुनाले उनले आफ्नो तर्फबाट धारणा राख्दा हुने सुझाव पनि उनको छ । भारतले ७० को दशकमा यस्तै विषय आफ्नो दुईपक्षीय बैठकपछिको वक्तव्यमा राख्न खोज्दा निकै असहजता आएको थियो । ७० ताकाका विदेशमन्त्री दिनश सिंहले यस्तै विषयमा बोल्दा निकै असहज भएको थियो  । यसशंकरसँगको वार्तामा डा. खड्काले पनि युनिक रिलेसन रहेको र विगतका असमझदारी चिर्दै अघि बढ्न पर्ने कुरा राखेका थिए । तर भारतीय पक्षले विशेष सम्बन्ध भन्दै फेरि असहजमा पार्ने र यहाँका नागरिक चिढ्याउने काम गरेको छ ।

नेपाल भारत सम्बन्ध छर्लङ्ग छ यसमा अनेकन विषय स्पष्ट पार्न पर्ने देखिदैन । सम्बन्धलाई सहज मात्र बनाए हुन्छ । अहिले भारत र नेपालबीच संवादहिनताको अवस्था छ । तर, विशेष सम्बन्ध भन्दै विदेशमन्त्रीले कस्तो सन्देश दिन खाजेका हुन् । यद्यपि नेपालले यतिबेला अन्तराष्ट्रिय अन्तरक्रिया अघि बढाएको छ । 


 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x