कूटनीति

शक्ति राष्ट्रको ‘पब्लिक र कल्चरल डिप्लोमेसी’: दसैंमा टीका र जमरा

इकागज |
असोज ३०, २०७८ शनिवार १०:२७ बजे

काठमाडौँ – विजया दशमी अर्थात दसैं । नेपालीहरूको महान चाड । नेपालीहरूले धुमधामसँग विजय दशमी मनाइरहदा शुक्रबार केही विदेशी कूटनीतिक नियोगमा पनि दसैंको रौनक देखियो । ‘उनीहरूले नेपालीहरूको दसैँमा 'सांस्कृतिक सदभाव’ राख्दै टीका र जमरा लगाएर मनाए ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले परिवार र दूतावासका सहकर्मीहरूसँग विजयादशमी मनाए भने नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले दूतावासका कर्मचारीहरूलाई टीका लगाइ दिएर दसैं मनाइन् । 


राजदूत बेरीसँगै युएड एड मिसन नेपालका निर्देशक शेपीदेह केभानसदले पनि टीका लगाउँदै दसैँको शुभकामना आदान प्रदान गरे। त्यसक्रममा मिसनका सदस्य र उनीहरूका परिवारहरूले समेत टीका लगाएका थिए ।

त्यसक्रममा राजदूत बेरीले दूतावास र मिसनका सहकर्मीहरूलाई टीका लगाइदिए । बेरीले एक भिडियो सन्देश जारी गर्दै दसैँ आफूलाई सबैभन्दा बढी मनपर्ने बेला भएको भन्दै विजयादशमीको अवसरमा सबै नेपालीमा शुभकामना समेत व्यक्त गरेका छन् । 

 

यस्तै राजदूत हउ यान्छीले दूतावासमा नेपाली सहकर्मीहरूसँग टीका लगाएर दसैं मनाइन्। त्यस अवसरमा उनले नेपालीहरूलाई बडा दसैंको शुभकामना व्यक्त गरेकी छन् । ‘मेरा नेपाली सहकर्मीहरूसँग दसैं मनाउन पाएकोमा खुशी छु। सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु’ उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेकी छन् ।

 


Author

थप समाचार
x