कूटनीति

इन्डो-प्यासिफिक क्षेत्रको चुरो बुझ्‍न आवश्यक : विज्ञ

‘इन्डो-प्यासिफिकमा सुरक्षा र आर्थिक चुनौतिहरू’ पुस्तक सार्वजनिक

इकागज |
पुस ६, २०७७ सोमबार १७:१ बजे

काठमाडौँ : बदँलिदो अन्तराष्ट्रिय राजनीतिक परिवेशसँगै इन्डो-प्यासिफिक क्षेत्रको महत्वलाई नेपालले गम्भिरतापूर्वक नियाल्नुपर्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । नेपालभित्र इन्डो-प्यासिफिक क्षेत्रको बहस र भूराजनीतिक विषयको चर्चा अधिक हुँदै आएपनि यसको गाम्भिर्यताको चुरोमा राजनीतिक नेतृत्व पुग्‍न नसकेको आरोप यस क्षेत्रको अध्ययनमा लागेका विज्ञहरूको छ ।
   
हुनत पछिल्लो विश्‍व राजनीतिमा यसको बहस फरक कोणबाट भइहेको अवस्थामा नेपालभित्र पनि त्यो कोर्षले प्रवेश गराउन परेको उनीहरूले बताए । सरकारी भन्दा पनि गैरसरकारी क्षेत्रबाट नेपालमा पनि यसबारेमा भिन्‍न कोणबाट छलफल अघि बढेका छन् ।

सोमबार काठमाडौंमा कन्सोरटियम अफ साउथ एसियन थिङ्क ट्याङकस् (कोसाट) र कोर्नाड एडेनर स्टिफटुङले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा इन्डो प्यासिफिक यसबारे छलफल भएको हो । कार्यक्रममा दक्षिण एसियाली केन्द्र (सीसास) का प्रमुख तथा परराष्ट्र मामिला जानकार डा. निश्‍चलनाथ पान्डेले अमेरिका र चीनबीच बढ्दो रणनीतिक द्वन्द्वका कारण बन्‍ने गठबन्धनका कारण नेपाल जस्तो मुलुक असजिलोमा पर्ने बताए । ‘दुई शक्तिशाली मुलुक आमनेसामने हुँदा राजनीतिक मात्र होइन आर्थिक हिसाबले पनि विश्‍वलाई असर पर्छ,’ उनले भने, ‘हिन्द र प्रशान्त महासागर वरिपरिका साना मुलुक अमेरिका वा चीनसँग आर्थिक रूपमा जोडिएकाले अब बन्‍ने गठबन्धनमा उनीहरूले एउटा पक्षको सर्मथन गर्नैपर्ने अवस्था आउन लागेको छ । जुन नेपाल जस्तो मुलुकका लागि सुखद समाचार होइन ।’


बदँलिदो अन्तराष्ट्रिय राजनीतिमा एसियाको केन्द्रमा रहने र चीन-भारतबीचको सीमा समस्या, साउथ चाइना सिलगायतका मुद्दाहरूका कारण दक्षिण एसिया र दक्षिण पूर्वीएसियाका मुलुक थप चपेटामा पर्ने उनको धारणा छ ।

कार्यक्रममा जर्मनीको हाइडलबर्ग विश्‍वविद्यालयसँग सम्बध्द शुभरता मित्राले चीन र भारतबीचको सम्बन्धले एसियाको भविष्य निर्धारण गर्ने बताए । उनले विश्‍वको बढ्दो प्रतिशपर्धामा खासगरि साना मुलुकको अस्तित्व संकटमा पर्ने हुनाले त्यसमा सचेत हुन आवश्यक रहेको बताए । सांग्रिला होटलमा आयोजित कार्यक्रमा जर्मनीबाट जुम मार्फत सम्बोधन गर्दै भने, ‘वर्तमान विश्‍व प्रतिष्पर्धात्मक छ । यसमा सबैले आफ्नै प्रकारको रणनीति तय गर्छ । त्यस्ता रणनीतिहरूमा कुन मुलुकले कसरी फाइदा लिने एथेष्ट गृहकार्य नेपाल जस्तो भूराजनीतिक मुलुकले तय गर्न सक्नुपर्छ ।’
 
पूर्वराजदूत डा. शम्भुराम सिम्खडाले इन्डो प्यासिफिक क्षेत्रबारे अमेरिकामा अब हुने राष्ट्रपति जो वाइडन मौन रहेको बताए । यसबाट त्यो क्षेत्रको विषय कसरी अघि बढ्छ भन्‍ने आंकलन गर्न सहज नरहेको भन्दै नेपालले यसलाई पर्ख र हेरको नीतिका रूपमा लिनुपर्ने उनको भनाइ थियो । 
 
कार्यक्रममा परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानका उप-कार्यकारी निर्देशक डा. रुपक सापकोटाले इन्डो प्यासिफिक क्षेत्रबारे वृहत अध्ययन आवश्यक रहेको बताए । सिंगापुरमा रहेको कोनार्डको रिजनल कार्यालयका रिसर्च अधिकृत मेघा शर्माले पनि इन्डो प्यासिफिकबारे थप बहस आवश्यक रहेको बताइन । 

महत्वबारे कार्यक्रममा कोसाट र हाइडलवर्ग विश्वविद्यालयले संयुक्तरूपमा तयार पारेको ‘इन्डो प्यासिफिकमा सुरक्षा र आर्थिक चुनौतिहरू’ नाम गरेको पुस्तक विमोचन भएको थियो । नेपाल, भारत, चीन, बंगलादेश, जर्मनी लगायत मुलुकका परराष्ट्र मामिला सम्बन्धि जानकार तथा शोतकर्ताहरूले लेखेको शोधहरूलाई समावेश गरी पुस्तक तयार पारिएको हो ।    
 


Author

थप समाचार
x