कूटनीति

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी परेन

इकागज |
कात्तिक २८, २०७८ आइतबार १४:२८ बजे

काठमाडौँ - संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित तीन राजदूतविरुद्ध व्यक्तिगत उजुरी नपरेको जनाएको छ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले उजुरी आव्हान गरे पनि नपरेको हो । 

दुई हप्ताअघि १६ कात्तिकमा भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको समितिले संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो ।


उनीहरूविरुद्ध उजुरी दिन समितिले दिएको १० दिनको समयमा व्यक्तिगत उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

‘प्रस्तावित राजदूतहरूविरुद्ध व्यक्तिगत उजुरी परेन । एउटा समावेशी प्रतिनिधित्व भएन भन्दै उजुरी परेको छ’, सभापति कर्णले भने । 

उनका अनुसार अब २ मंसिरपछि उनीहरूको सुनुवाइ हुनेछ । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले तीनजनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएमा नियुक्ति प्रक्रियाअघि बढ्ने संवैधानिक व्यवस्था छ । 
 


Author

थप समाचार
x