कूटनीति

अमेरिकी सहायक विदेशमन्त्री लुको सन्देश:

‘नेपाल र भारतसँग समानस्तरको सम्बन्ध चाहन्छ अमेरिका’

चन्द्रशेखर अधिकारी |
मंसिर ४, २०७८ शनिबार २०:३९ बजे

काठमाडाैँ - अमेरिकी सहायक विदेशमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै करिअर कूटनीतिज्ञ डोनाल्ड लुले भ्रमणका लागि दक्षिण एसिया रोजे । उनी माल्दिभ्स हुँदै नेपाल आइपुगे । दुवै मुलुकलाई भूराजनीतिमा रणनीतिक क्षेत्रका रूपमा लिइन्छ । अर्को कोणबाट हेर्ने हो भने, नेपाल र माल्दिभ्स जलवायु परिवर्तनबाट अधिक प्रभावित मुलुक पनि हुन् । हुनसक्छ, दुवै तथ्यलाई मध्यनजर गरेर लुले दक्षिण एसियाका दुई मुलुकका भ्रमण गरेका हुन् ।

जे होस्, लुको भ्रमणको विश्लेषण कूटनीतिक कोणबाटै गर्न जरुरी छ । वर्षौसम्म के भनिँदै आइयो भने- अमेरिकाले नेपाल मामिलामा भारतलाई स्थान दिएको छ; दक्षिण एसियामा अवस्थित नेपाललाई यस क्षेत्रको 'नेता मुलुक' भारतको चश्माबाट हेर्छ । यो दाबीलाई चिर्न सक्रिय छ अमेरिका । विशेषगरी पछिल्लो समय अमेरिकाबाट जे-जति भ्रमण भएका छन्, तिनले एक हदसम्मको सन्देश दिने प्रयास गरेका छन् । त्याे हाे- अमेरिकाका लागि नेपाल महत्त्वपूर्ण ‘पार्टनर’ हो । अनि नेपालसँग सम्बन्ध राख्दा भारतको घुमाउरो बाटो प्रयोग गर्ने होइन, सिधै वासिङ्टन डीसीले काठमाडौँलाई सम्पर्क गर्छ । यही सन्देशलाई मजबुत पार्नका लागि हुनसक्छ, लु भारतहुँदै नेपाल आएनन् । न त उनी नेपालबाट फर्किदाँ नयाँ दिल्ली नै ओर्लिए ।


यसअघिका भ्रमणमा अमेरिकी अधिकारी भारत ओर्लन छुटाउँदैन थिए । लुलेले भने यसो गरेनन् । बरु प्रष्ट भनिदिए- यसक्षेत्रका अन्य मुलुकलाई भारतसँग जोडेर नियाल्न मिल्दैन । 'हो, भारतसँग राजनीतिक तहमा अत्याधिक कुरा भइरहेको हुन्छ । दुई मुलुकका उच्चअधिकारी छलफलमा जुटिरहेका हुन्छन् । अमेरिका र भारतबीच उच्चस्तरको समझदारी छ । हामी यही स्तरको समझदारी भारतका छिमेकी मुलुकसँग पनि निर्माण गर्न चाहन्छौं ।’ बाइडन प्रशासनको विदेश मामिला हेर्ने अधिकारीमध्ये तेस्रो वरीयतामा पर्छन्, लु । यो जिम्मेवारी उनले दुई महिनाअघि पाएका हुन् । पहिलो वरीयतामा विदेशमन्त्री एन्टोनी ब्लिन्केन र दोश्रो वरीयतामा उपविदेशमन्त्री वेन्डी आर सर्मन छन् ।

अमेरिकी विदेश मन्त्रालयमा रही दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, मल्दिभ्स र श्रीलंका तथा मध्य एसियाका किर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तानसँगको सम्बन्ध विस्तार र सुदृढीकरण गर्नु उनको मुख्य जिम्मेवारी हो । दक्षिण तथा मध्य एसियाली मुलुकसँगको अमेरिकी विदेश नीति कार्यान्वयनमा उनले गर्ने रिपोर्टिङ र भूमिका महत्त्वपूर्ण रहन्छ । अमेरिकी कूटनीति सेवामा तीन दशक बिताएका उनी स्वभाविक रूपमा दक्षिण एसिया मामिला विज्ञ पनि हुन् ।

चिनियाँ मुलका लु चिनियाँ, हिन्दी उर्दूलगायत आधादर्जन भाषामा राम्रो दख्खल राख्छन् । उनी यसअघि पनि पटक-पटक नेपाल आएका थिए । पाकिस्तानको पेशावरस्थित अमेरिकी नियोगमा कार्यरत रहँदा लु आफ्नो महिला साथीसँग सन् १९९३ मा नै नेपाल घुम्‍न आएका थिए । सन् १९९० को दशकामा आफूले पहिलाे पटक नेपाल भ्रमण गरेको पनि सुनाउन भ्याए, लुले । सार्वजनिक बसमा ती महिला साथीसँग जनकपुर र सौराह घुमेको स्मरण गर्दै उनले भने, ‘नेपाल गरिब मुलुक होइन । सामान्य तारतम्य मिलाए नेपालले विकासमा फड्को मार्नसक्छ । नेपाल त्यसबेलाभन्दा अहिले विकसित छ । तर, विकासको गति भने सुस्त छ ।’ 

नेपाल अमेरिकाको पुरानो मित्र मुलुक रहेकाले यहाँको विकासमा सहकार्य गर्न अमेरिका तयार रहेको लुको भनाइ छ । तर यस्तो प्रतिबद्धता जनाइरहँदा उनल ठट्टै -ठट्टामा महत्त्वपूर्ण विषय पनि उक्काउन भ्याए । ‘अहिलेको विश्व मिसइन्फरमेसन र डिसइन्फरमेसनबाट प्रताडित छ । यसको हावा नेपालमा पनि पसेको भान भइरहेको छ । के भन्दा आमनागरिक रमाउँछन् त्यही भनिदिने अनि लेखिदिने । तर आफूले बोलेको र लेखेको कुराले कालन्तरमा कस्तो असर पर्छ, यसमा चाहिँ ध्यान नदिने,’ लुले भने । नेपालमा सडक र ऊर्जा पूर्वाधार विकासका लागि अमेरिकी अनुदान मिसिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौताबारे भएको प्रचारले आफू दुःखी रहेको लुको भनाइ छ । 

नेपाल ओर्लिएको भोलिपल्ट नै लु बौद्ध गुम्बा पुगे । बौद्ध भ्रमणमा धार्मिक उद्देश्य देखिए पनि लुको यो कदम राजनीतिक हो । यसलाई सांकेतिक सन्देशका रूपमा पनि बुझ्‍न सकिन्छ । तिब्बती धार्मिक नेता दलाई लामाको साथ नछाडेको अमेरिकाका लुले बौद्ध भ्रमण गरी आफूहरूको तिब्बती रणनीति परिवर्तन भएको छैन भन्‍ने हो । भलै लु आफू बौद्धमार्गी हुन् । 

नेपाली पत्रकारहरूसँगको कुराकानीमा लु एमसीसीवरिपरि घुमिरहे । अमेरिकी अनुदानलाई फरक ढंगले व्याख्या गरी प्रचार गरिरहँदा अमेरिकी प्रशासनसँग चित्त नबुझाएका नेपाली भ्रममा पर्ने उनले धारणा राखे । । ‘अहिले यहाँ एमसीसीबारे जे प्रचारबाजी भएको छ, त्यही हो डिसइन्फरमेसन भनेको । किनकी, यथार्थ एकातिर छ तर बहस अर्कोतिर गराइएको छ,’ सामान्य तवरमा गम्भीर कुरा उठाउँदै उनले भने, ‘सम्बन्ध चिस्याउन र बिगार्न ठूलो मुद्दा नै आवश्यक पर्दैन । धेरै मुलुक एमसीसी सहयोगका लागि आग्रह गरिरहेका छन् ।'  एमसीसी सम्झाैता यदि नेपालले नलिने हो भने अमेरिकालाई धन्यवाद दिँदै फिर्ता गरे हुने उनले संकेत गरे ।

हुन त यस्ता अनुदान स्वीकार गर्ने वा नगर्ने अधिकार सार्वभौम सम्पन्‍न मुलुकको सरकार र संसद्‍मा निहित हुन्छ । तर यसको गलत व्याख्या गर्ने र नचाहिँदो हल्ला गर्ने काम भनेको रातारात चर्चा कमाउनका लागि गरिने हो । नेपाल भ्रमण सम्पन्‍न गरेर फर्कनुअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीको निवासमा हँसिलो मुद्रामा प्रस्तुत भएका उनले नेपाललाई अमेरिकाले उच्च प्राथमिकतामा राखेको पनि प्रष्ट पारे । यसअघि दुई मुलुकमा राजदूत भइसकेका वरिष्ठ अमेरिकी अधिकारी बुधबार साँझ काठमाडौं ओर्लिएका थिए ।

उनले पहिलो र अन्तिम दिनको बिहान आफ्ना दूतावासका अधिकारीहरूसँग दुईपक्षीय छलफल गरेर बिताए । राजदूत बेरी आफ्नो साथी रहेको र उनले नेपाल आउन आवश्यक रहेको सन्देश दिएकाले पनि आफ्नो पहिलो विदेश भ्रमणमा नेपाल पारेको लुले बताए । हुन पनि बेरी नेपालप्रति राम्रो सद्‍भाव राख्‍ने अमेरिकी राजदूत हुन । घुमफिरमा रुचाउने बेरी नेपालको विकासमा अमेरिकी सहयोग आवश्यक छ भनेर अमेरिकी विदेश मन्त्रालयमा लवी गरिहन्छन् ।

लु बिहीबार साझँबाट राजनीतिक भेटघाटमा सक्रिय रहे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र शुक्रबार दिउँसो प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । सबै भेटघट निकै हँसमुख तरिकामा भयो नि भन्‍ने प्रश्‍नको जवाफमा लुको जवाफ थियो, ‘नेपालीहरू खुला रूपमा आफ्नो कुरा राख्नुहुन्छ । जुन मलाई पनि मनपर्छ ।’

उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ र अमेरिकी राजदूत बेरीसँगै शुक्रबार स्वदेश फर्कनुअघि केही पत्रकारसँगको अन्तरक्रियामा लुले भनेका थिए, ‘अमेरिकाले नेपाललाई सिधा हेर्छ । नेपालको पनि अन्य मित्र हुन्छन् र अमेरिकाको पनि अन्य मित्र हुन्छन् । तर विदेशीसँगको सम्बन्धबारे निर्णय लिने त्यही मुलुकका नेताले हुन् । अमेरिकी अनुदान एमसीसी कार्यान्वयन गर्न दुई वर्ष ढिलो भइसकेको छ । यो निकै आकर्षक विकास परियोजना हो । यो परियोजना संसारका कमै मुलुकले पाएका छन् । नेपालले यस परियोजनाबाट फाइदा उठाओस् भन्‍ने मेरो व्यक्तिगत चाहना पनि हो ।’

एमसीसी संसद्‍मा छलफल भएर नै पारित भएमा राम्रो हुने उनको धारणा थियो । लोकतन्त्रमा जति ढिलो भए पनि बहस र छलफल हुनु राम्रो पक्ष हो । एमसीसीको विषयलाई लिएर नेपाल सरकारले पठाएको पत्रको जवाफ एमसीसी मुख्यालयले दिइसकेको अवस्थामामा गलत समाचार बाहिर आउन नहुने उनले बताए ।
भेटघाट निकै उत्साहपूर्वक सम्पन्‍न गरे पनि एमसीसी मामिलामा ढुक्क भएर अमेरिका फर्किएनन्, लु । माओवादी अध्यक्ष दाहालसँग भएको छलफलमा अलिक उत्साहित भएको बताएका उनले सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट जुरेन । नेपाललाई नभेट्दा प्रश्‍न उठ्ने तथ्यबारे उनी जानकार नै थिए । जानजान नेपाललाई नभेटेको दाबी प्रस्तुत हुने हो भने यसलाई गलत प्रमाणित गर्ने तर्क उपलब्ध छैनन् । 

संसद्‍मा विचाराधीन एमसीसी सम्झौताबारे प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष ओलीले फरक-फरक धारणा व्यक्त गरेका कारण पनि लु ढुक्क हुन नसकेका हुन् । लुसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले सम्झौतालाई अनुमोदन गर्ने प्रतिबद्धता जनाए भने गठबन्धन सरकारका अर्का नेता दाहालले गठबन्धनमा छलफल गरेर राष्ट्रिय सहमतिपछि अघि बढाउने कुरा राखे ।

ओली यसअघि प्रधानमन्त्री हुँदा एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरिएको भए पनि अहिले भने उनले एमसीसीलाई भोटको राजनीतिसँग जोडेका छन् । ओली एमसीसीबारे सरकारले आफूसँग सल्लाह नै नगरेको भन्दै यस विषयमा पार्टीले निर्णय लिने बताइरहेका छन् । एमसीसीका विषयमा लु ढुक्क नभए पनि जाँदा-जाँदै उनले अमेरिका नेपाललाई कसरी हेर्छ भन्‍नेबारे स्पष्ट संकेत गरे ।

नेपाल ठूलो मुलुक हो तर आफूभन्दा झन् ठूला मुलुकका बीचमा रहेकाले मात्रै नेपाललाई सानो देखिएको भन्दै लुले भने, ‘नेपालमा अमेरिकाको चाहना भनेको आर्थिक विकास र उन्‍नतिमात्रै हो । सम्पन्‍न नेपाली हेर्न चाहन्छ अमेरिका । तर यसका लागि प्रयत्न गर्ने नेपालले नै हो, नेपाली नेताले नै हो । हामीले त साथ दिनेमात्र हो ।’ उनले ऋणमा मुलुक बनाउने कि अनुदानको सही सदुपयोग गर्ने, त्यो नेपाली नेताको हातमा रहेको पनि स्पष्ट पारे । तस्बिरहरू - चन्द्रशेखर अधिकारी / इकागज र परराष्ट्र मन्त्रालय


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x