कूटनीति

नेपाल ओर्लेको चिनियाँ टोली ब्रिफिङमा व्यस्त

इकागज |
पुस १२, २०७७ आइतबार १४:४९ बजे

काठमाडौँ : चिनियाँ राष्ट्रपति सि चिनफिङको सन्देश बोकेर चिनियाँ राजनीतिक टोली काठमाडौँ ओर्लेको छ । उनीहरू काठमाडौँ ओर्ले लगत्तै दुतावास पुगेर ब्रिफिङ लिन थालेका छन् । नेकपामा आएको फुटबाट चिन्तित बनेको चिनियाँ कम्युनिस्ट पार्टीले पुनः दल मिलाउन उक्त टोलीलाई काठमाडौँ पठाएको हो ।

उनीहरू नपालको पछिल्लो राजनीतिक घटना क्रमबारे जानकारी लिँदै दुई चिरा भएका कम्युनिष्टलाई मिलाउन सिको निर्देशनमा नेपाल आएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्व ६ सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएका हुन् ।


चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी नदिएपनि उनले दुतवासमा व्रिफिङ लिएर भेटघाटमा सक्रिय रहनेछन् । चार दिनसम्म उनीहरुले राजनीतिक भेटघाट गरेर स्वदेश फर्कने छन् ।

यहाँ रहँदा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छन् । टोलीले राजनीतिक नेतृत्व बाहेक सेनाका उच्चअधिकारीसँग पनि भेटभाट गर्नेछ ।

टोली ०७४ फागुनमा पनि नेपाल आएको थियो । त्यसको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।  टोलीले नेपाल कम्युनिष्ट पार्टीसँग प्रशिक्षण समेत सुरु गरिसकेको थियो ।

उनको भ्रमणको तयारीसँगै पछिल्लो अवस्थाबारे चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै अध्यक्षहरू लगायत नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरूमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्‍ने बढी चासो राखेकी थिइन् ।

भारतले नोट गरेको जानकारी दिएपनि चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर चिनियाँ विचारकहरूले भने चिन्ता व्यक्त गर्दै नेपाल पुन पहिलेकै जस्तो राजनीतिक दुष्चक्रममा फर्केको उल्लेख गरेको छ । 


Author

थप समाचार
x