कूटनीति

येझाउ नेतृत्वको चिनियाँ टोली राजनीतिक भेटघाटमा

राष्ट्रपतिसँग भेटेपछि अहिले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफलमा

इकागज |
पुस १२, २०७७ आइतबार १८:३४ बजे

काठमाडौँ : चिनियाँ राष्ट्रपति सि चिनफिङको सन्देश बोकेर आएको चिनियाँ राजनीतिक टोलीले राष्ट्रपति विद्योदवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । टोली काठमाडौँ ओर्लेलगत्तै राजदूत होउ यान्छीको व्रिफिङपछि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग एक घण्टा लामो भेटवार्ता गरेपछि प्रधानमन्त्री भेट्‍न बालुवाटार पुगेको हो । 

टोलीले राष्ट्रपति भण्डारीसँग प्रतिनिधि सभा विघटन, नेकपा भित्रको कलह लगायतमा अडेर लामो छलफल गरेको थियो । त्यसपछि टोली दुई खेमाका नेता भेट्ने शैलीमा आरम्भमा प्रधानमन्त्री ओलीलाई भेट्‍न बालुवाटार पुगेको थियो । अहिले टोली बालुवाटारमा प्रधानमन्त्रीसँग लामो छलफलमा रहेको र थप छलफल साेमबार वा मंगलबार गर्ने भनिएको छ ।


नेकपामा आएको फुटबाट चिन्तित बनेको चिनियाँ कम्युनिस्ट पार्टीले पुनः दल मिलाउन टोलीलाई काठमाडौँ पठाएको हो । प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गरेर निर्वाचनको घेषणापछि चीन अचम्मित भएको यो भ्रमणले पुष्टि गर्छ ।

चिनियाँहरू पद छाडेर भएपनि एकता कायम राख्‍न सुझाव दिइरहँदा यो तहको छलफलमा जुटेका हुन् । टोलीले नपालको पछिल्लो राजनीतिक घटना क्रमबारे जानकारी लिँदै दुई चिरा भएका कम्युनिष्टलाई मिलाउन सिको निर्देशनमा नेपाल आएको हो । 
 
प्रधानमन्त्रीसँग बालुवाटारमा टोलीका सदस्यहरूले नेपालको पछिल्लो अवस्थाबारे छलफल गरेर राष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम छ । टोलीले कुनै तवरबाट नेकपा मिलाउने सुत्र दिन पनि सक्ने प्रधानमन्त्री निकटकाहरू बताउँछन् । 
 
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको ६ सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार अपरान्ह काठमाडौं आइपुगेको हो । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी नदिएपनि टोलीले दुतवासमा व्रिफिङ लिएर भेटघाट प्रधानमन्त्रीबाट नै थालेको हो ।

चार दिनसम्म टोलीले राजनीतिक भेटघाट गरेर स्वदेश फर्कने छ । टोलीको भेटघाट  र सुत्रले चिरा परेको नेकपा पुर्नमिलन कसरी होला हेर्न बाँकी छ। यद्यपि टोली सदस्यहरूले त्यसका लागि भरपुर प्रयास भने गर्नेछन् । 

चीनको यो तहको नेताको टोलीले प्रधानमन्त्रीलाई भेटेर नेपाल चीन सम्वन्ध होइन नेपालको राजनीतिक दलको विषयमा बहस गर्छ भने त्यो आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हो कि होइन यसबारेमा पनि फरक बहस सुरु भएको छ । प्रतिनिधि सभा विघटन हुँदा औपचारिक रूपमा एक शब्द नबोलेको चीनले यो तहको छलफल गर्नुलाई परराष्ट्र मन्त्रालयले स्वभाविक मानेको छैन ।
 
प्रधानमन्त्रीपछि टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल  तथा दोस्रो तहका नेतालाई पनि भेट्ने छ । टोलीले राजनीतिक नेतृत्व बाहेक सेनाका उच्चअधिकारीसँग पनि भेटघाट गर्ने अधिकारीहरू बताउँछन् ।

टोली ०७४ फागुनमा पनि नेपाल आएको थियो । त्यसको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । टोलीले नेपाल कम्युनिष्ट पार्टीसँग प्रशिक्षण समेत सुरु गरिसकेको थियो ।
 
टोलीको भ्रमणको तयारीसँगै पछिल्लो अवस्थाबारे चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै अध्यक्षहरूलगायत नेकपाका शीर्ष नेताहरूलाई भेटेकी थिइन् । भेटमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्‍ने बढी चासो राखेकी थिइन् ।

भारतले नोट गरेको जानकारी दिएपनि चीनले संसद् विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर चिनियाँ विचारकहरूले भने चिन्ता व्यक्त गर्दै नेपाल पुन पहिलेकै जस्तो राजनीतिक दुस्चक्रममा फर्केको उल्लेख गरेका छन् । 


Author

थप समाचार
x