नेपाल-चीनबीच 'रणनीतिक साझेदारी'को अठोट
नेपालका नेताहरु र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागबीच भएको भर्चुअल छलफल।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीनबीच रणनीतिक सहयोगात्मक साझेदारी बढाउँदै लैजाने बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा राष्ट्रप्रमुख र सरकार प्रमुखले शुभकामना सन्देश दिंदै त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
उक्त कार्यक्रममा उनीहरुको शुभकामनासहित अन्य छलफल पनि भएको थियो । नेपाल–चीन दुवैले द्विपक्षीय सम्बन्धको विकास र समृद्धिका लागि अटुट मित्रतापूर्ण स्तरोन्नति गर्दै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा हातेमालो गर्ने अठोट ब्यक्त गरेका छन ।
भएका दुई प्रमुख नाका नै सहज ढंगले सञ्चालनमा आउन नसकिरहेका बेला राष्ट्रप्रमुख र सरकार प्रमुखले नेपाल चीन सीमामा थप नाका सञ्चालनमा ल्याई जनताको आवागमन र व्यापार सहजीकरण गर्नुपर्ने बताए । चिनियाँ पक्षबाट उक्त, विषयमा सहयोगको अपेक्षा समेत नेपालले गरेको छ ।
कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको सन्देश पढेका थिए । कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईलगायत नेताहरुको सहभागिता थियो । सबैजसो सहभागीले धारणा राखेका थिए ।
त्यस्तै चीनको तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतको सहभागिता थियो । चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवका अवसर पारेर चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलन आयोजना गरेको थियो ।
सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने भन्दै उक्त कार्यमा चीन तर्फबाट पनि सहयोगको अपेक्षा नेपालले गर्दै आएको छ । नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने त्यस्ता विषयमा चीनको सहयोग अपरिहार्य रहेको धारणा सहभागीहरुको थियो ।
हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनबीच संयुक्त परामर्श संयन्त्रले नियमित संवाद गराउने अपेक्षा पनि दुवै नेतृत्वको छ ।
नेपाललाई भूपरिवेष्टितबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट जोड्न चीनको पनि भूमिका रहने भन्दै त्यसतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई साकार तुल्याउन पनि आवश्यक रहेको राष्ट्रपतिको सन्देशमा छ, ‘व्यापक पूर्वाधार विकास र पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो औँल्याउँदै पूर्वाधार निर्माण र सम्पर्क सञ्जालको विकास बीआरआई एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवद्र्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध छ ।’
राष्ट्र र सरकारप्रमुख दुवैजनाले नेपाल र चीन प्राचीन सभ्यता र समृद्ध संस्कृतिद्वारा अनुप्राणित मैत्रीपूर्ण सम्बन्धमा आबद्ध असल छिमेकी भएको उल्लेख गर्दै भनेका छन, ‘नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहिआएको छ । तिब्बत, ताइवान, हङकङ एवम् सिन्जियाङसम्बन्धी मामिलामा चीनप्रति नेपालको पूर्ण साथ र समर्थन छ । नेपालले आफ्नो भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन दिएको छैन र भविष्यमा पनि हुन दिने छैन ।’
भर्चुअल कार्यक्रममा बोन्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट भएका आयोजनाहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए । ‘राष्ट्रपति सीको भ्रमणका समयमा हस्ताक्षर २० सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कूटनीतिक महत्व छ । त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबीच भएको समझदारी विशेष महत्वको छ’, उनले भने, ‘यसबाट नेपालले लामो समयदेखि रेलसँग जोडिनका लागि
देखेको सपनामात्र साकार हुने छैन, हाम्रो छिमेकी चीनको वैभव र उच्च आकांक्षालाई पनि एकसाथ विश्वसामु उजागर गर्नेछ ।’ कोभिड–१९ को महामारीले केही विलम्ब भएकोतर्फ चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले दुवै देशका सरकारले सम्झौता गरेका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाउन समर्थ हुने विश्वास व्यक्त गरे । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बीआरआईले अघि सारेका आयोजनाहरूको सफलताले विशेष महत्व राख्ने तिमिल्सिनाले जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया