कूटनीति

सन् २०२० नियाल्दा

कोभिड-१९ देखि ट्रम्पमाथिको महाअभियोगसम्मका चर्चित घटना

प्रविणबिक्रम कट्‍वाल |
पुस १६, २०७७ २०:४५ बजे

० कोभिड-१९
कुनै भाइरसले विश्‍व परिवर्तन गर्ला भन्‍ने अनुमान सायदै कसैले गरेको थियो । २०१९ को डिसेम्बरमा पुष्टि भएको कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणले विश्‍वलाई प्रभावित गर्दा, यस वर्षभरीमा १८ लाख नागरिकले ज्यान गुमाइसकेका छन् । गत अक्टोबरसम्ममा विश्‍वको १० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको तथ्यांक सार्वजानिक हुँदै गर्दा लाखौं मानिस गरिबीको रेखा मुनी धकेलिएको तथ्य पनि अगाडि छ ।  

न्युजिल्यान्ड र भियतनाम जस्ता मुलुकले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने कार्यमा तुलनात्मक सफलता हासिल गरेपनि अमेरिका लगायतका मुलुकमा भने अवस्था अझै भयावह छ । कोरोना भाइरसले विश्‍वका धेरै मुलुकका सरकारको अर्कमण्यतालाई उदाङगो बनायो । यस महामारीका विरुध्द लड्न विकास गरिएको खोपलाई अनुमति दिएर प्रयोग सुरु गर्ने काम अघि बढे पनि तल्लो तहसम्म कहिलेदेखि उपलब्ध हुने भन्‍ने टुङगो छैन । यस किसिमको भाइरसले विश्‍वलाई फेरि पनि अक्रान्त बनाउने नै छ । त्यसको नियन्त्रणका लागि अहिलेको विश्‍वले कति पाठ सिकेको छ । त्यो भविष्यले बताउने नै छ ।  


ADVERTISEMENT

० बेलारुसमा भएको आन्दोलन
कुनैबेला सोभियत संघको सदस्य रहेको बेलारुसमा यस वर्ष धाँधली रहित र्निाचनको माग सहित हजारौ नागरिक सडकमा ओर्लिए । युरोपका अन्तिम तानाशाह भनिएका अलेक्जेन्डर लुकसान्कोले अगस्ट ९ मा आफुले राष्ट्रपतीय निर्वाचनमा ८० प्रतिशतमा मत प्राप्त गरेको दाबी गरेपछि बेलारुसमा आन्दोलन सुरु भयो । लगातार छैठौं पटक बेलारुसको राष्ट्रिपति बन्‍ने दाउमा रहेका लुकसान्कोको दाबीलाई विपक्षि र बेलारुसका अधिकांश नागरिकले त खारेज गरे नै, अन्तराष्ट्रिय समुदायले पनि उनको दाबीमा सत्यता देखेन ।

विपक्षि उम्मेदवारलाई निर्वाचनमा भाग लिन अवरोध गर्ने र भाग लिएकालाई विभिन्‍न आरोप लगाएर गिरफ्तार गर्ने रणनीति लिएका लुकसान्कोले करिब १७ हजार आन्दोलकारीलाई पक्राउ गरेको बताइन्छ । छिमेकी रुसको सर्मथनमा लुकसान्काले आन्दोलनलाई बलपुर्वक नियन्त्रणमा लिए पनि युरोपियन युनियनले बेलारुसलाई प्रतिबन्ध लगायो । त्यस्तै, अ‍ेमरिका र बेलायत लगायतका मुलुकले पनि लुकसान्कोलाई ताजा निर्वाचनमा जान भने । आन्दोलन मत्थर भएको जस्तो देखिए पनि बेलारुसमा उत्पन्‍न आक्रोश निवारण भइसकेको छैन । त्यसकारण, सन् २०२१ मा बेलारुसको आन्तरिक राजनीतिमा फेरी तरङगित हुने सम्भावना ज्युदै छ ।

० अमेरिका र इरानबीचको तनाव
वर्षौदेखि तनावग्रस्त रहेको अमेरिका र इरानबीचको सम्बन्ध २०२० मा झन् खराब बन्यो । जनवरी ३ मा अमेरिकी ड्रोनको आक्रमणमा परी इरानी कमाण्डर कासिम सुलेमान मारिएपछि इरानले पनि जवाफ फर्कायो । प्रतिक्रिया स्वरूप, इरानले छिमेकी इराकमा रहेका अमेरिकी सेनाका बेसहरूप्रति लक्षित गरी रकेट प्रहार गर्‍यो । तनाब यतीमै मत्थर भएन । अप्रिलमा पर्सियन गल्फमा इरानका तर्फबाट अमेरिकी जहाजको आगमनमा अवरोध सिर्जना गरियो ।

अवरोध जारी भए, अमेरिकाले जवाफी कारबाही गर्ने धम्की राष्ट्रपति ट्रम्पबाट आयो । लामो दुरीका क्षेप्यास्त्र विकासमा निरन्तर लागिपरेको इरानले २०२० मै पहिलो सैन्य भू-उपग्रह निर्माणमा सफलता हासिल गर्‍यो । त्यसैबीच अ‍ेमरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गर्‍यो । युरोपेली मुलुकले कोभिड-१९ का कारण खराब इरानी अर्थतन्त्रमा थप प्रतिबन्ध नलगाउन अमेरिकालाई आग्रह गरे पनि ट्रम्पले वास्ता गरेनन् ।

गत नोभेम्बरमा इरानका प्रख्यात आणविक वैज्ञानिकको हत्या भएपछि इरानले आणविक कार्यक्रमलाई थप बलियो बनाउने निर्णय लियो । इरानी वैज्ञानिकको हत्या कसले गरेको भन्‍नेमा स्वतन्त्र पुष्टि नभए पनि आरोप इजरायलमाथि छ । अमेरिका र खाडीकै अर्को शक्ति इजरायलसँग इरानको सम्बन्ध थप बिग्रदै गएको अवस्स्थामा अर्को वर्ष पनि त्यस क्षेत्रमा युध्दको सन्त्रास कायमै रहनेछ ।

० तेलको मूल्यमा हेरफेर
यो वर्ष तेल उत्पादन गर्ने मुलुक र कम्पनीहरूका लागि खराब रह्यो । कोभिड-१९ का कारण तेलको माग घटिरहेको अवस्थामा तेल आपुर्ति गर्ने मुलुकहरूको समूह ओपेक र आपेक प्लसमा तेल मुल्यमा स्थिरता ल्याउन भन्दै तेल उत्पादन घटाउन प्रस्ताव राखियो । तर ओपेक सदस्य मुलुक साउदी अरबले राखेको उक्त प्रस्ताबलाई ओपेक प्लस सदस्य मुलुक रुसले इन्कार गर्‍यो ।

विश्‍वमा धेरै तेल उत्पादन गर्ने मुलुकहरूको सूचिमा साउदी र अमेरिकापछि तेस्रो स्थानमा रहेको रुसले तेल उत्पादन घटाउने प्रस्तावमा सहमति नदिएपछि थप अन्यौलता छायो । तर केही समयपछि साउदीले आफूले निर्यात गर्ने तेलको मूल्य घटाउँदै उत्पादन पनि बढायो । जसले गर्दा अन्तराष्ट्रिय तेल बजारमा तेलको मूल्य थप घट्यो । र, अप्रिलमा अमेरिकी तेल बजारले इतिहासकै कम मूल्यमा बेच्‍न बाध्य भयो । नोभेम्बर आइपुग्दा भने तेलको मूल्य बढ्यो ।

ओपेक र ओपेक प्लसबीच तेलको उत्पादन घटाउने सहमति कायम भएपछि तेलको मूल्य केही हदसम्म स्थिर बन्यो । अझै पनि साविकको भन्दा तेलको मूल्य ३० प्रतिशतले कम भएको बताइन्छ । त्यसैले तेल उत्पादन गरेर अर्थतन्त्रलाई बलियो बनाएका मुलुकहरूकालागि आउँदो वर्ष पनि उत्साहजनक हुने देखिँदैन ।

इन्फोग्राफ्स : यमन मानन्धर

० अब्रहाम सहमति
समस्याग्रत रहने खाडीबाट यस वर्ष सुखद समाचार पनि नआएको होइन । तर कुनै पनि खबर कुनै पक्षकालागि सुखद भए अर्को पक्षका लागि दुःखद पनि हुनसक्छ । यस्तै प्रकृतिको रह्यो संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायललाई मान्यता दिएको खबर । अमेरिकी मध्यस्थतामा यूएई र इजरायले सहमती गरेको भनिरहँदा प्यालेस्टिनका नागरिकको मनमा भने चिसो पस्नु स्वभाविक थियो ।

वेस्ट ब्याङकमा आफ्ना नागरिकका लागि वस्ती विकास गरिरहेको इजरायलले राष्ट्रका रूपमा अगस्ट १३ मा यूएईबाट मान्यता पाउँदा अमेरिकी राष्ट्रपति ट्रम्प खुशी देखिए । उता बहराइन, सुडान, र मोरोक्कोले पनि इजरायललाई मान्यता दिने घोषणा गरे । त्यसो त सेप्टेम्बर १५ मा ह्वाइटहाउसमा एक कार्यक्रम आयोजना गरी ‘अब्रहाम एर्कड’ को घोषणा गरियो ।  जसले गर्दा खाडीमा इजरायल र मुस्लिम मुलुकबीच सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको छ ।

अहिलेकालागि यूएई लगायतका केही मुलुकले मात्र इजरायललाई मान्यता दिई अब्रहाम एकर्डमा हस्ताक्षर गरे पनि कालान्तरमा साउदी अरब समेत त्यस सहमतिमा आइपुग्‍ने अपेक्षा गरिएको छ । प्यालेस्टिन र उसका जनताले यस सहमतिलाई विरोध गरिरहे पनि त्यसतर्फ ध्यान दिइएको छैन । इजरायललाई मान्यता दिए वापत अमेरिकाले यूएईलाई हतियार बेच्‍नेछ । त्यस्तै, अमेरिकाले आन्तरिक राजनीतिले जेलिएको सुडानमाथि प्रजातन्त्रिक व्यवस्थाको सृदृढिकरणमा लागि दबाब दिनेछैन भने मोरोक्कोले पश्‍चिमी सहाराका भूमिमा राखिरहेको दाबीमाथि आँखा चिम्लिदिनेछ । 

० जर्ज फ्लोइडको हत्या
अमेरिकामा व्याप्त रहेको जातीय विभेद र रंगभेदी व्यबहारमाथि बहस हुँदै आएपनि अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएपछि त्यस मुलुकमा आन्दोलन चर्कियो । प्रहरीले फ्लोइडको हत्या गरेपछि अमेरिकामा सुरु भएको प्रदर्शन युरोप, दक्षिण अमेरिका र अफ्रिकासम्म फैलियो ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकामा मात्र होइन, आफ्नो मुलुकमा पनि रंगभेद साच्चैको समस्याका रूपमा रहेको बताए । उता चीन र इरान जस्ता मुलुकले अमेरिका आफैँ जातीय विभेद र रंगभेदी व्यवहारले जेलिए पनि अरु मुलुकलाई मानवअधिकारका विषयमा पढाउँदै हिँडेको भन्‍न भ्याए ।

० वातावरणीय समस्या र प्रकोप  
यस वर्ष पनि वातावरण सम्बन्धि समस्या आइ नै रहे । डढेलो, आँधी, खडेरी लगायतका समस्याले विश्‍वका अधिक मुलुकलाई असर गर्‍यो । वर्षको सुरुवात अस्ट्रेलियाको डढेलोबाट सुरु हुँदा अमेरिकाका पश्‍चिमी भाग पनि त्यस समस्याबाट अछुतो रहेनन् । त्यस्तै, अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्वी एसियाली मुलुकहरूले शक्तिशाली आँधीको सामना गर्नुपर्‍यो । उता अमेरिका मात्र होइन, कयौं अफ्रिकी मुलुकहरू खडेरीको मारमा परे ।

यस वर्ष कोभिड-१९ का कारण कार्बन उत्सर्जनमा कमी आएपनि २०२१ मा आर्थिक गतिविधी बढ्ने हुँदा वातावरणमाथि पर्ने नकारात्मक प्रभाव नयाँ बिन्दुमा पुग्‍नेछ । चीनले २०२१ मा कोइला प्रयोग हुने सयौं पावर प्लान्टको विकास गर्ने तर्फ अघि बढिरहेकाले पनि ‘कार्बन न्युट्रल’ विश्‍वको परिकल्पना फेल हुने अवस्थामा छ ।

 ० चीनको बढ्दो महत्वकांक्षा र आक्रमकता
चीन विश्‍व राजनीतिमा जिम्मेवार ‘स्टेक होल्डर’ का रूपमा अगाडि आउने अनुमान गरिए पनि विश्‍वको दोस्रो अर्थतन्त्रले २०२० मा देखाएको आक्रमकताले त्यस्तो अनुमानलाई गलत सावित गरिदिएको छ । वर्षभरी नै चीन विवादमा आइरह्यो । चीनले ‘उल्फ वारियर डिप्लोमेसी’ अंगिकार गरेको भनियो । जस अनुरूप चिनियाँ राजनीतिक व्यवस्था र सरकारको क्रियाकलापको आलोचना गर्नेमाथि उसका अधिकारीहरू सामाजिक सञ्जालमार्फत खनिने गरेको देखियो ।

अप्रिलमा अस्ट्रेलियाले कोभिड-१९ कसरी सुरु भयो र फैलियो भन्‍ने बारेमा स्वतन्त्र छानबिन गर्नुपर्ने माग राख्दा चीन एसिया प्रशान्तीय मुलुकसँग ब्यपार युध्द सुरु गर्ने मुडमा पुग्यो । त्यस्तै, जुनमा चीन र भारतका सीमा सुरक्षा दस्ता एकआपसमा भिडे । त्यसको एक हप्तापछि चीनले हङकङमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित नयाँ नियम लागु गर्‍यो । जसको उद्देश्य, हङकङमा चलिरहेको आन्दोलनलाई नियन्त्रणमा लिनु थियो ।

अमेरिकाले ताइवानसँग सम्बन्ध समधुर बनाउने तर्फ अघि बढिरहँदा, चीन आक्रोशित देखियो । साथै, चीनले उइगुरमाथि नियन्त्रण राख्‍न कठोर कदम चाल्न पनि बन्द गरेन । कोभिड-१९ बाट प्रभावित आर्थिक अवस्थालाई पुनर्जागृत गर्ने कार्यमा तुलनात्मक सफलता हासिल गरेपनि चीनको अमेरिका र युरोपियन मुलुकहरूसँगको सम्बन्धमा सुधार हुने संकेत देखा परेन । 

० अमेरिकी निर्वाचन
यस पटकको अमेरिकी निर्वाचन धेरै कोणबाट विशेष रह्यो । सन् १९०० यता सबैभन्दा धेरै मत (६६.७ प्रतिशत) खस्यो । कुल १५ करोड ५९ लाख अमेरिकी मतदाताले मतदानमा भाग लिँइरहँदा झण्डै १० करोडले हुलाक/इमेल मार्फत मत दिए । मत जो वाइडनको पक्षमा रह्यो । वाइडनसँग पराजित भएको प्रस्ट हुँदा पनि ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहे ।

डिसेम्बर १४ मा इलेक्ट्रोल कलेजले वाइडनलाई औपचारिकरूपमा राष्ट्रपति घोषित गरिसकेको अवस्थामा आगामी वर्षबाट अमेरिकाको विदेश नीति कस्तो हुने भन्‍ने बहस सुरु भइसकेको छ । बहुपक्षीय फोरमको महत्वलाई नर्कादै, अमेरिका पहिलो लगायतको पपुलिस्ट (लोकरिझ्याई) नारा अगाडि सारेका ट्रम्पभन्दा वाइडन कती फरक देखिनेछन्, हेर्न बाँकी छ ।  

तर, अमेरिकी निर्वाचनमा पराजित ट्रम्पले निर्वाचनको मतपरिणामलाई स्विकार गर्न गरेको आनाकानीले विश्‍वका विभिन्‍न मुलुकमा रहेका तानाशाहरूलाई जनताको जनादेश नमाने पनि हुन्छ भन्‍ने सन्देश राम्रै दिएको र त्यसको प्रभाव पनि देखिन थालेको छ ।

० अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको त्यो महाअभियोग
सामान्यतया अमेरिकी राष्ट्रपतिमाथि महाअभियोग लगाइएको घटना वर्षभरी घटेका घटनाहरूमध्ये सर्वाधिक चासोका साथ हेरिएको हुनुपर्ने हो । तर यसपटक यो घटनालाई अरु घटनाक्रमले ओझेलमा पारिदियो । तर पनि सकिनै लागेको यस अंग्रेजी वर्षमा विश्‍वभर घटेका घटनाको सूचि बनाउँदा ट्रम्पमाथि लगाइएको महाअभियोगलाई समावेश गर्नैपर्छ ।

आउँदो जनवरी २० मा ह्वाइटहाउस छाड्नु पर्ने बाध्यतामा रहेका ट्रम्प अमेरिकी इतिहासमा महाअभियोग सामना गर्ने तेस्रो राष्ट्रपति बने । यसअघि आन्ड्रिउ जोनसन र बिल क्लिन्टनलाई महाअभियोग लगाइएको थियो । अख्तियारको दुरूपयोग र कंग्रेसको काम कारबाहीमा अवरोध सिर्जना गरेको भन्‍ने आरोपका साथ ट्रम्पमाथि लगाइएको महाअभियोगलाई अमेरिकी सिनेटले अस्विकार गर्‍यो ।

छुटाउँनै नसकिने थप घटनाः
जनवरीः बेलायतले युरोपियन युनियन औपचारिकरूपमा छाडेको ।

फेब्रुरअरीः भारतीय राजधानी नयाँदिल्लीमा नागरिकता सम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनमा करिब ५३ जनाको मृत्यु ।

मार्चः टर्कीले सिरिया भूमिमा गरेको सैन्य आक्रमण र त्यसैबखत रुसी सेनाको आक्रमणमा परी ३६ जना टर्कीस सेनाको मृत्यु ।

अप्रिलः उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उनको मृत्यु भएको हल्ला ।

मेः इजरायलमा लामो समयदेखि रहेको राजनीतिक समस्या नयाँ सरकार बनेसँगै अन्त्य ।

जुनः उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको सिमानामा रहेको सम्पर्क कार्यालय ध्वस्त । उक्त कार्यलय दुई कोरियाबीचको दुतावासका रूपमा परिचित ।

जुलाईः टर्किस राष्ट्रपति रेजिप तायिप एद्रोगनद्वारा संग्रहालयका रूपमा रहेका हाजिया सोफियालाई मस्जिदमा रूपान्तरण गर्ने घोषणा । सन् १९३४ अघि पनि हाजिया सोफिया मस्जिद नै रहेको । 

अगस्टः रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रहेका एलेक्से नाभाल्नीलाई हवाईजहाजमा यात्रा गरिरहेका बेला विष दिइएको । 

सेप्टेम्बरः अर्मेनिया र अजरबैजानका सेनाबीच नार्गानो काराबखमा युध्द ।

अक्टोबरः बोलिभियामा भएको संसदीय र राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति इभो मोरालेसको पार्टी शक्तिमा फर्केको ।

नोभेम्बरः इथोपियाको केन्द्रीय फौजले उत्तरी राज्य टिगरायमाथि गरेको आक्रमण । 

डिसेम्बरः रुसबाट आफ्नो सिस्टममा साइबर आक्रमण भएको अमेरिकी सरकारको स्विकारोक्ति ।

(अमेरिकी थिङक ट्याङक काउन्सिल अन फरेन रिलेसन्सले तयार पारेको रिर्पोटमा आधारित )



Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार