कूटनीति

चिनियाँ राष्ट्रपतिलाई टोलीले बुझायो प्रतिवेदन

नेपालमा पश्चिमा शक्ति हावी हुन सक्‍ने चीनको चिन्ता

चन्द्रशेखर अधिकारी |
पुस १७, २०७७ शुक्रवार २०:२९ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनपछि उत्पन्न अवस्था मूल्यांकन गरी सत्तारुढ नेकपालाई एक गर्ने कार्यादेशसहित आएको उच्च चिनियाँ राजनीतिक कार्यदलले नेपाल सम्बन्धी रिपोर्ट राष्ट्रपति सि चिनफिङको कार्यालयलाई बुझाएको छ । 

उनीहरू चीन फर्केपछि दुई साता ‘क्वारेन्टिन’मा बस्न पर्ने भएकाले प्रत्यक्ष नभई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुखमार्फत् उक्त प्रतिवेदन चिनियाँ राष्ट्रपतिको कार्यालयमा पुगेको हो ।


त्यही प्रतिवेदनका आधारमा चिनियाँ राष्ट्रपति सिले नेकपाबारे पछिल्लो दृष्टिकोण तय गर्ने बेइजिङस्थित चिनियाँ विदेश विभागअन्र्तगतका एक उच्च अधिकारीले जानकारी दिए । ती अधिकारी नेपाल आउने टोलीमा सामेल नभए पनि बेइजिङबाट दक्षिण एसियाली मुलुक नियाल्छन् । 

नेपाल भ्रमणबाट फर्केका राजनीतिक उच्च कार्यदलको प्रतिवेदन राष्ट्रपति कार्यालय पुगेको जानकारी दिँदै ती अधिकारीले भने, ‘नेकपा टुटिसकेकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सीपीसीको चिन्ता हुनु स्वभाविक हो । हाम्रो निकट सम्बन्ध र विचार समेत उस्तै हुँदा त्यसमा पक्कै नेतृत्वले सोच्नेछन् ।’

नेपालमा राजनीति अस्थिरता निम्तिएको खण्डमा पश्चिमाले धेरै खेल्न सक्ने बुझाईसहित चीनको चासो बढ्ने गर्छ । चीनको अझै पनि तिब्बतको विषयमा आशंकित छ । यहाँबाट त्यसमा केही हुन्छ कि भन्नेमा चीन सँधै सजग देखिएका छ । त्यही विन्दुबाट चीनले नेपालमा आफ्नो धारणा राखेको स्पष्ट छ ।

तत्काल नेपालमा केही भई हाल्ने अवस्था नभएकाले दुई सातापछि बेइजिङ फर्केका टोलीसँग राष्ट्रपति सिले भेट दिँदै थप स्पष्ट हुनेछन् । टोली बुधबार फर्केपनि अझै बेइजिङ पुगेको छैन । दुई साताबाहिर बसेर उक्त टोली बेइजिङ छिर्नेछ । 

टोलीले आफ्नो भ्रमणको गाथा भने तयार परेर त्यसको बुँदागत विश्लेषण समेत पठाइसकेका छन् । कतिपय भेटमा राजदूत होउ यान्छी समेत नरहेकाले उनीहरूको आफ्नै प्रकारको रिपोर्ट बनेको बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘उनीहरू अवस्था विश्लेषण गर्न गएका हुनु । त्यसैले त्यो रिपोर्ट बुझाउनु स्वभाविक नै हो ।’   

उनीहरूको प्रतिवेदनमा, नेपालको पछिल्लो अवस्था, पश्चिमा प्रभाव, छिमेकप्रति नेपालको धारणा, नेतृत्वको फरक मत, नेकपाका दुई खेमा मिल्न सक्ने अवस्था, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्र्तगतका परियोजना अघि बढाउने विषयको प्रगति, प्रतिपक्ष धारणा, तिब्बतीहरूको गतिविधि, कर्मचारीतन्त्रको साथ लगायतका दश बुँदा समेटिएको जानकारी दिइएको छ । 

त्यसअतिरिक्त टोलीले त्यही विषयलाई भएका वार्ताहरूको सँगालो अनि आफ्नो विश्लेषणमा स्पष्ट उल्लेख छ । नेपालमा एक दलसँग भर पर्ने अवस्था छैन भन्ने प्रतिवेदनमा उल्लेख बुझिएको छ ।

सीपीसीका उपमन्त्री नेतृत्वको ६ सदस्यीय कार्यदल (सीपीसीका चार सदस्य र अन्य दुई) चार दिने भ्रमण सकेर बुधबार बेइजिङ फर्केको थियो । टोली फर्केपछि बेइजिङस्थित नेपाली दूतावासको धारणा पनि लिएको थियो । टोलीले नेपालभित्रको राजनीतिक समस्या र त्यसको समाधानका पाटो बारेमा अध्ययन गरेको थियो ।
उच्चस्तरीय टोलीले भ्रमणका क्रममा सत्तारुढ दलका दुवै खेमाका नेताहरूसँग घर घरै पुगेर भेटेका थिए । टोलीले सत्तारुढको दुई खेमाबाहेक प्रमुख प्रतिपक्ष दल अन्य प्रतिपक्ष दलका नेताहरूलाई पनि भेटेका थिए । 

‘उच्चस्तरीय टोलीले दुई मुलुकका दलबीच अन्तरक्रिया, बीआरआई अन्तर्गतको सहयोग र आपसी चासोका विषयमा छलफल गरेको स्पष्ट छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा विहिबार भनेका थिए, ‘दुई मुुलुकको परम्परागत मित्रतालाई थप प्रगाढ बनाउन, पार्टीहरूबीच सहयोग आदान–प्रदानलाई अझ बलियो बनाउने, बीआरआई अन्तर्गतका परियोजनाहरू अघि बढाउने विषयमा छलफल भयो ।’

सीपीसी सयौँ वर्षगाँठ मनाउने तयारीमा रहेकाले नेपालको तर्फबाट उनीहरूले बधाई तथा शुभकामना पाएका थिए । सत्तारुढ दल नेकपा विभाजित भएको बेला सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली म्याराथुन शैलीमा आएर भेटघाटमा व्यस्त रहेका थिए । 

नेकपा र सीपीसीबीच स्कुल सहकार्य समेत चलेको थियो । उक्त विषयमा अन्तर्राष्ट्रिय तवरमा चर्चा भएको थियो । विभाजनका लागि पूर्णतः तयार अवस्थामा रहेका नेकपाको एकता कायम राख्न चीनले अन्तिम प्रयास गरेको थियो । त्यसकै लागि चिनियाँ टोली नेपाल आएको पुष्टि भइसकेको छ ।

उनले भेटेका नेताहरूसँग उनले राखेको जिज्ञासालाई बाहिर ल्याउँदै उपमन्त्री गुओले नेकपाको विभाजन रोक्न कुनै सम्भावना बाँकी छ कि भनेर सोधेको विषय पनि आफैँमा चर्चित भएको थियो । दुई खेमामा चिरा परेका नेकपा अझै पनि कुनै मिलनविन्दु हुन सक्छ कि सक्दैन भनी जिज्ञासा नेकपाबाट बाहिर आएको थियो ।

उक्त टोलीले आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसको भोलिपल्ट उक्त टोलीले अन्य नेताहरूसँग भेट गरेको थियो । टोलीले यहाँ रहँदा नेकपाका नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटासँग भेटेका वार्ता गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत अन्य नेताहरूसँग पनि भेटवार्ता गरेका थिए ।

उनीहरूले अन्य दलका नेतासँग भेट गर्दा चिनियाँले सबै दलसँग उत्तिकै सम्पर्क राख्ने उल्लेख गरेको थिए । तर नेपालमा राजनीतिक दलहरूबीच सहकार्य हुन नसकेको विषयमा निकै चिन्तित चिनियाँ नेतृत्वले राष्ट्र हितमा काम गर्न पर्ने बताएका थिए ।

नेपाली नेतृत्वले मुलुक भन्दा व्यक्तिगत कहित हेरेको विषयमा पनि घुमाउरो शैलीमा धारणा राखेका थिए । पूर्व राजदूत डा. दिनेश भट्टराईले पनि उक्त टोलीले निकै गम्भीर रुपमा छलफल गरेको बताउँदै भने, ‘चीन यतिबेला ‘उल्फ वारियर डिप्लोम्यासी’ अन्र्तगत रहेर अतिरिक्त सक्रिय हुँदै आएको छ । यसलाईक नेपालका नेतृत्वले सामान्य रुपमा लिन हुँदैन ।’


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x