कूटनीति

गृहमन्त्री खाणसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेटघाट

इकागज |
माघ १४, २०७८ शुक्रबार १७:४६ बजे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शुक्रबार शिष्टाचार भेटघाट गरेकी छन् ।  गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य  र सहयोगका विषयमा छलफल भएको थियो । 

भेटमा गृहमन्त्री खाणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकासबारे गरेको सहयोगका लागि कृतज्ञता ज्ञापन गरे । त्यस्तै गृहमन्त्री खाणले लैंगिक र्हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको कामको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।


त्यस्तै गृहमन्त्री खाणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंशायोग्य रहेको बताएका थिए । त्यसैगरी गृहमन्त्री खाणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकहरूको सेवा सुविधाका लागि उठेका मागहरूको सम्बोधन गरिदिन पहल गर्न आग्रह गरेका थिए। 

भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताइन् । त्यस्तै राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्वोधन गर्न आफूले पहल गर्ने बताइन्। भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराएका थिइन् ।


Author

थप समाचार
x