एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्छौं : अमेरिका
काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेपाल र अमेरिकाबीच सन् २०१७ को सेप्टेम्बरमा हस्ताक्षरित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको संसदीय अनुमोदन नभए दुई देशबीचको सात दशक लामो सम्बन्ध पुनरावलोकन गर्ने बताएका छन् ।
एमसीसीले फ्रेबुअरी २८ सम्म उक्त सम्झौता अनुमोदन गर्ने अन्तिम समयसीमा तोकेको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेर उक्त समयसीमामा अनुमोदन नभए मार्चमा बस्ने एमसीसीको बोर्ड बैठकले यसलाई रद्द गर्ने बताइसकेको छ ।
एमसीसी सम्झौताको अनुमोदनलाई लिएर गठबन्धन दलहरूभित्र बेमेल देखिइरहेका बेला अमेरिकी सहायक विदेशमन्त्री लुले तीन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर एमसीसी सम्झौता टेबलु गर्न भइरहेको ढिलाईबारे जिज्ञासा राख्दै सम्झौता अनुमोदन नभए अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने बताएका हुन् ।
सहायक विदेशमन्त्री लु गएको नोभेम्बर महिनामा नेपाल भ्रमणमा आएर शीर्ष नेताहरुसँग भेटघाट र छलफल गरेका थिए । त्यसअघि सेप्टेम्बरमा एमसीसीकी उपाध्यक्ष फातेमा जेड सुमारले नेपालको राजनीतिक भ्रमण गरेकी थिइन् ।
दक्षिण एसिया क्षेत्रमा चीनको प्रभाव विस्तार भैरहेका बेला नेपालमा पनि अमेरिकासँगको अनुदान सहायता सम्झौतालाई लिएर ठूलो विवाद भैरहेको छ । यद्यपि संसदमा दर्ता भएको सम्झौता कार्यसूचीमा प्रवेश गरेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले उक्त सम्झौता कार्यसूचीमा ल्याउनबाट रोक्दै पहिले त्यसका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने भन्दै आएका छन् ।
गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीविरुद्ध सडक आन्दोलनमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया