कूटनीति

ज्ञवालीले संयुक्त आयोग बैठकपछि मोदीसँग भेटवार्ता  गर्ने

इकागज |
माघ १, २०७७ बिहीबार २०:५८ बजे

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा छन् । उनले दूतावासको औपचारिक व्रिफिङपछि नेपाली प्रवासीहरूसँग अन्तरक्रिया गरेका छन् । मन्त्री ज्ञवालीले उनीहरूको समस्या र चासो बाह्रखम्बास्थित नेपाली दुतावासमा सुनेका हुन् । त्यहाँको पछिल्लो अवस्थाबारे उनलाई भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी गराएका छन् । आचार्यले विहिबार नै भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरबणेसँग भेटवर्ता गरेका थिए । 

आचार्यबो व्रिफिङ लिनु अघि ज्ञवालीले केही राजनीतिक नेताहरूसँग आफू बसेको होटल ताजमानमा भेटवार्ता गरेका थिए ।  यद्यपि त्यो अनौपचारिक र व्यक्तिगत भेटवार्ता भएको भन्दै बाहिर ल्याइएको छैन । औपचारिक बैठक शुक्रबार सुरु हुने भए पनि अनौपचारिक छलफलको लागि उनी विहिबार नै त्यसतर्फ लागेका हुन् । नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकका लागि उनको यो भ्रमण तय भएको भनिए पनि यसको राजनीति सन्देश पनि रहेको छ । 


यस्तो राजनीतिक अवस्थामा नेपालबाट यसप्रकारको भ्रमण हुन नहुने भनिरहँदा उनी दिल्ली पुगेका हुन् । नेपालमा विकसित राजनीतिक घटनाक्रमपछि भ्रमण भएकाले पनि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यतिबेला सरकार कामचलाउ अवस्थामा छ । तर, सरकारले निकै जोडबल गरेर भ्रमणको तयारी गरेको हो । उनले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दैछन भने शुक्रबार बिहान आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् ।

हैदरवाद हाउसमा समकक्षीसँग भेटवार्तापछि त्यही संयुक्त आयोगको बैठक सुरु हुनेछ । जानु अघि ज्ञवालीले सीमा समस्या, सन् १९५० को सन्धिलगायत लामो समयदेखि नसुल्झिएका विषय समाधानका लागि ठोस मार्गचित्र बनाउने प्रयत्‍न हुने बताएका थिए  । उनले समस्याहरूलाई चिरेर बलियो विश्‍वासको जग बसाउने तर्फ भ्रमण केन्द्रित हुने पनि बताएकाले त्यसमा नै उनको जोड रहने बताइए पनि उनको अर्को राजनीतिक एजेण्डा पनि छ । जुन उनले बाहिर अझै भनेका छैनन् ।  

त्यो हो मोदीलाई ओलीको सन्देश सुनाउने र अहिलेको अवस्थाबारे बुझाउने प्रयास गर्ने । त्यसका लागि उनले शुक्रबार साँझ मोदीसँग भेट गर्नेछन् । औपचारिक बैठक अघि सामान्यतया शिष्टाचार भेट हुने प्रचलन छैन । जसरी नेपालमा आउनेहरूले भेटवार्ता नै माथिल्लो शिराबाट गर्छन बाहिर त्यो सम्भव हुन्‍न । संयुक्त आयोग बैठकका लागि परराष्ट्रमन्त्रीको हैसियतमा र पार्टीको तर्फबाट ओली खेमाको दूतको रूपमा दिल्ली गएका हुनाले पनि त्यो भेट तय भएको हो । 

उनले त्यहाँ नेपालको पछिल्लो अवस्थाबारे अवगत गराउने छन् । मोदीको कार्यालयले तालिका साँझसम्म नपठाएको कारण शनिबार बिहान पनि भेट हुन सक्ने भनिएको छ । दुतावास अधिकारीहरूले भने शुक्रबार साँझ नै भेट हुने बताएका छन् । दुईपक्षीय छलफल भन्दा पनि  भेट कस्तो हुने र भारतको प्रतिक्रिया के-कस्तो आउने भन्‍नेमा नै धेरैको ध्यान केन्द्रित छ । दूतावासका अधिकारीहरू पनि मोदीसँगको वार्ता र रेसपोन्स मह्त्वपूर्ण रहेको बताएका छन् । 

भारतले २०१९ नोभेम्बर २ मा नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको भूभाग समेटेपछि चिसिएको सम्बन्ध सुधारोउन्मुख भएपछि यो भ्रमण भएको हो । यसअघि भारतबाट तीन उच्चस्तरीय भ्रमण लगातार भएका थिए । भारतीय विदेश सविच, भारतीय स्थल सेना प्रमुख र भारतीय रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुखले नेपाल भ्रमण गरेका थिए ।

त्यसअघि नेपालले नक्सा सच्चाउनका लागि राजनीतिक र कुटनीतिक दुवै तहबाट भएको पहललाई भारतले वास्ता गरेको थिएन । जसको कारण सरकारले जेठ पहिलो साता भारतले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारत झन चिढिएको थियो । संसद्‍बाट नयाँ नक्सासहित संविधान संशोधन गरेपछि यो विषय थप पेचिलो बन्दै गएको थियो । त्यसयता नेपाल तर्फबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।

नक्सा प्रकरणपछि असहज बनेको सम्बन्धलाई सुधार हुँदै गर्दा त्यसलाई सकारात्मक वा नकारात्मक दिशा तर्फ लैजाने राजनीतिक छलफलले निर्क्यौल गर्नेछ । यो बैठकमा त यसअघि भएका विभिन्‍न झण्डै तीन दर्जन दुईपक्षीय संयन्त्रको समिक्षा हुनेछ भने त्यसमा कुनै निर्णयमा पुग्‍ने खाले छ भने त्यसको हस्ताक्षरको लागि बाटो खोल्ने काम यो संयुक्त आयोगले गर्छ । यद्यपि आयोग बैठकमा सम्झौता भने हुँदैन । त्यो अभ्यास पनि छैन ।

यो बीचमा दुईपक्षीय संयन्‍त्रका नियमित बैठक तथा छलफलसमेत अवरुध्द भएका थिए । सबै संयन्त्रको माथिल्लो बैठक हो यो । आयोगले राजनीतिक, सीमा, सुरक्षा, परियोजनालगायत नेपाल र भारतबीचका धेरै विषयलाई समेट्को छ । साथै बैठकमा प्रवुध्द व्यक्ति समूह (ईपीजी) प्रतिवेदन, व्यापार, ऊर्जा, पारवहन, सीमा, कोभिड-१९ मा सहयोग, पूर्वाधार, आपसी सम्पर्क, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायत विषयमा समिक्षा हुनेछ । यद्यपि सीमाको विषयमा दुई मलुकको परराष्ट्र सचिव स्तरीय बैठकले तय गर्ने भनेको कुनै प्रतिवेदन तय नहुँदा अहिले त्यो अघि बढ्ने देखिदैन ।

परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोलीमा भारतका लागि नेपाली राजदूत आचार्य, परराष्ट्र सचिव, स्वास्थ्य सचिवसहित उच्च सरकारी अधिकारीहरू समावेश छन् । शुक्रबार दुईपक्षीय छलफलपछि मोदी भेट्ने कार्यक्रम हुनेछ भने शनिबार बिहान पनि राजनीतिक भेटघाट गरेर दुई बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ । 


Author

थप समाचार
x