कूटनीति

सामन्त-सन्देश : सन्देह बढ्यो कि कूटनीति चुलियो ?

इकागज |
कात्तिक ७, २०७७ शुक्रबार ११:२६ बजे

काठमाडौं : भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख सामन्तकुमार गोयल नेतृत्वको टोलीले झन्डै आधा दिन काठमाडौं बितायो । टोलीको आगमन महत्पूर्ण थिएन तर काठमाडौंका लागि तय गरिएको २० घण्टे कार्यक्रम गुप्त राखिनु महत्वपूर्ण रह्यो । 

गोयल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकोबाहेक अन्य कार्यक्रम बाहिरिएन । भेटघाटको गुप्त कार्यक्रमभन्दा पनि हाम्रो नेतृत्वको हैसियतलाई उदांगो पार्ने काम भएको छ ।


गोयलका काउन्टरपार्ट अनुसन्धान विभागका प्रमुख हुनुपर्ने हो । तर, उनको भेटघाटको शैली हेर्दा गोयल यहाँको कार्यकारी प्रमुखको काउन्टरपार्ट झैँ देखिए । त्यसैले उनको गतिविधि र हाम्रो नेतृत्वले विदेशीलाई दिने स्थानको विषयमा बहस हुन आवश्यक छ । 

कूटनीतिक आचारसंहिताको विषय उठाउने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब के र कुन आधारमा आचारसंहिता जारी गर्ने ? अन्य निकायलाई कसरी कूटनीतिक आचारसंहिताको विषय सरकारले सिकाउने ?

गोयल प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष प्रतिनिधि भएर नेपाल आएको भए यो स्तरको छलफल र भेटघाट स्वाभाविक थियो । तर, एकजना गुप्तचर प्रमुख आएर झन्डै पौने घण्टा मुलुकको कार्यकारी प्रमुखसँग छलफल गर्ने अनि त्यसलाई शिष्टाचार भेटको संज्ञा दिने शैली आफैमा ‘अकूटनीतिक’ र ‘अव्यावहारिक’ छ । हो, मित्रराष्ट्रसँग यस प्रकारको छलफल हुन आवश्यक छ तर त्यसको पनि आफ्नै ‘विधि’ र ‘प्रोटोकल’ हुन्छ । खुफिया एजेन्सीका मानिसले प्रधानमन्त्री तहमा गएर भेट्नुलाई सामान्य रूपमा चित्रण गर्न मिल्दैन ।

सत्तारूढभित्रै आलोचना

सत्तारूढ दलका प्रभावशाली नेता भीम रावलले ट्विट गर्दै यो भेटलाई नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत रहेको ठहर गरे । 

भारतीय गुप्तचर रअ प्रमुखसँगको प्रधानमन्त्रीको भेट कूटनीतिक मर्यादाविपरीत रहेको बताउँदै रावलले त्यस्तो भेटप्रति गम्भीर आपत्तिसमेत जनाएका छन् । 
कूटनीतिक क्षेत्रका व्यक्तिले पनि उनको यो शैलीको भ्रमण र भेटवार्तालाई असहज भनेका छन् । परराष्ट्र अधिकारीहरूले पनि राजनीतिज्ञलाई जे गर्न पनि छुट हुँदा यस्तो अवस्था आएको प्रतिक्रिया दिएका छन् ।

छिमेकी होऊन् या मित्रराष्ट्र, सबैको भेटवार्ता पारदर्शी नै हुनुपर्छ । तर, यसो भन्दैमा जुन स्तरसँग पनि भेटवार्ता आवश्यक छैन । प्रधानमन्त्री ओलीले आफ्ना सहयोगीसँग मन्त्रालयले नै भ्रमणदेखि सबैको चाँजो मिलाउने अनि मन्त्रालयले आफूलाई जानकारी नभएको सन्देश दिने कार्य राम्रो होइन ।

यसले के देखाउँछ भने परराष्ट्र मन्त्रालय पनि खुफिया एजेन्सीकै काउन्टरपार्टका रूपमा रहेको संकेत गर्छ । दुईपक्षीय सम्बन्ध विस्तारमा सबैको आ–आफ्नो भूमिका हुन्छ । तर, छद्म कुराकानीले कूटनीतिक नेतृत्वमा अविश्वास पैदा हुन्छ ।

सत्तारूढ दलका नेताहरूले यो भ्रमणबारे चासो राखेका छन् । किन प्रधानमन्त्रीले यसप्रकारको भेटवार्ता गर्छन् ? अनि, उनले कसरी अबका दिनमा आफूलाई राष्ट्रवादीको कित्तामा उभ्याउँछन् ? उनको छेउछाउमा रहेका बिचौलियाहरू आफूले नै भ्रमण गराएको भन्दै हिँडेका छन् । यो सबै प्रक्रिया हेर्दा मुलुकलाई प्रधानमन्त्रीले होइन, बिचौलियाहरूले चलाइरहेको आभास हुने दलका नेताहरूले बताए ।

डेढ घण्टा पूजापाठमा बिताएका उनले त्यसको करिब आधा समय बालुवाटारमा नै बिताए । उनी बालुवाटार, खुमलटार र कोटेश्वर मात्र होइन, बुढानिलकण्ठसमेत पुगेको सुरक्षा अधिकारीहरू सुनाउँछन् । तर, बालुवाटरले मात्र उनको भेटघाट पुष्टि गरेको छ । खुमलटार र कोटेश्वरले त भेटघाट नै नभएको भन्नसमेत भ्याए ।

गोयल सफल, कूटनीति विफल

प्रधानमन्त्री तहसम्म भएको गोयलको भेटले उनी आफ्नो मिशनमा सफल भएका छन् । कुनै एक निकायका प्रमुखले छोटो समय लिएर अनौपचारिक रूपमा आउँदा समेत उच्चस्तरको भेट पाउनु चानचुने होइन । 

यो भेटले दुई कुराको संकेत गर्छ । त्यो हो सत्तारूढ दलमा संकट चुलिँदो छ । कि भने भारतसँग सरकारको साठगाँठ पुन ‘रअ’मार्फत नै अघि बढ्दै छ । यसअलावा अन्य कुनै कुराको संकेत देखिँदैन ।

‘रअका प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

भेटका क्रममा ओली र गोयलबीच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरू वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा कुराकानी भएको पनि थापाले लेखे ।

‘यो राम्रो संकेत होइन, कूटनीतिक संयन्त्र असफल हुँदा वा शिथिल हुँदामात्र खुफिया एजेन्सी हाबी हुने हो,’ परराष्ट्र अधिकारीले भने, ‘कि हाम्रो कूटनीतिक निकाय असफलप्रायः भयो भन्नुपर्‍यो, अन्यथा यसप्रकारको शैली राम्रो होइन । यो त लैनचौरले पनि बुझ्नुपर्ने विषय हो ।’ यही धारणालाई बल दिँदै पूर्वराजदूत डा. दिनेश भट्टराईले पनि कूटनीति शिथिल भएकै हो त भन्दै प्रश्न गरेका छन् ।

सत्तारूढ दलभित्र अहिले संकट चुलिँदो छ । उनीहरूको पार्टी फुटको संघारमा छ । नेतृत्व परिवर्तनको संघार पनि उत्तिकै छ । यस्तो अवस्थामा भएको यो भेटले अर्को तरंग ल्याउन सक्छ । यद्यपि यो भेट र भ्रमण पक्कै चानचुने भने होइन । किनकि उनले भारतीय गुप्तचर प्रमुखलाई भेट्नुअघि प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत राखेका थिए । त्यो बैठकमा प्रतिरक्षा नीति तय भएको थियो । यसैले यस्ता विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने राजनीतिक नेतृत्वको धारणा छ ।
कूटनीतिमा केही घण्टाको भ्रमणलाई ‘महत्व नदिएको’ भ्रमणका रूपमा हेरिन्छ । उनको भ्रमणबारे जानकारी भएकाहरूले पनि जानकारी नभएको बताए । जसले जर्दा नेपालमा उनको भ्रमण के हो र किन हो भन्नेमा सन्देह रह्यो । राजनीतिक दलका शीर्ष नेताहरूले गोयललाई नभेटेको भन्दै खण्डन गर्नुपर्ने अवस्था आयो । यस्ता व्यक्ति आउँदा सरकारको सम्बन्धित निकायले यस प्रकारको भ्रमण हो भनेर स्पष्ट पार्न आवश्यक छ ।

उनी बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका र भोलिपल्ट बिहान (बिहिबार) १० बजे नयाँ दिल्ली फर्किए । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले ‘रअ’का प्रमुख काठमाडौँ आउनुको मुख्य कारण स्पष्ट नभए पनि विभागको समन्वय रहेको पुष्टि गरे । 

‘यो औपचारिक भ्रमण होइन, उहाँको धार्मिक भ्रमण हो तर नेपाल–भारत सम्बन्ध शिथिल रहेको अवस्थामा उनको भ्रमणले ऊर्जा दिनेछ,’ ती अधिकारीले दाबी गरे । नाकाबन्दी हुँदा जसरी सेनाले भूमिका निर्वाह गरेको थियो । अहिले नेपाल–भारत संवाद खासै नहुँदा रअले भूमिका निर्वाह गरेको हो ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्को सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा सार्वजनिक नभई शिष्टाचार भेट हुनु र यसको विभिन्न कोणबाट बहस हुनु राम्रो विषय होइन । 

गोयलको भ्रमण सम्बन्धमा नेपाली सेना जानकार नरहेको बताए पनि उच्च अधिकारीसँग भेटवार्ता गरेको उल्लेख छ । नेपाल र भारतबीच सीमा विवाद रहेको र नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन् । 

गोयलको यो भ्रमणले त्यो कार्यलाई चिरेको छ । हुन त गोयल नेपाल आएको यो पहिलोपटक होइन । उनी यसअघि सन् २०१९ को जुलाईमा आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए । 


Author

थप समाचार
x