कूटनीति

एमसीसी मुख्यालयले स्वीकार्यो एमसीसी अनुमोदन, ‘व्याख्यात्मक घोषणा’का बारे केही बोलेन

इकागज |
फागुन १८, २०७८ बुधबार १३:४८ बजे

फाइल तस्‍बिर

काठमाडौँ- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ । 

एमसीसी मुख्यालले वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा सोही दिन नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’ का बारे भने केही भनिएको छैन । 


‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई फेब्रुअरी २७ मा स्वीकार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

फागुन १५ गते सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालको माग अनुसार ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरिएको थियो । 

एमसीसी सम्झौतामा स्पष्ट नभएका बुँदालाई स्पष्ट पारी ‘व्याख्यात्मक घोषणा’ तयार पारिएको थियो । ‘व्याख्यात्मक घोषणा’ नेपालले एकपक्षीय रुपमा तयार गरेको थियो । सो ‘व्याख्यात्मक घोषणा’का बारेमा भने एमसीसी मुख्यालयले कुनै प्रतिक्रिया जनाएको छैन । 

एमसीसीले विज्ञप्तिमा कम्प्याक्ट अनुमोदन गर्ने निर्णय सधैं सार्वभौमसत्ता सम्पन्न नेपालसँग रहेको जनाइएको छ । 

‘कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा अघि बढाएको छ । यसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ,’ एमसीसीले भनेको छ । 

सन् २०१७ मा नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । 


Author

थप समाचार
x