कूटनीति

सीमा समाधान र खोपको आश्‍वासन बोकेर फर्के ज्ञवाली

मोदीसँग शिष्टाचार भेट गर्न नपाएका ज्ञवाली खिन्‍न थिए

इकागज |
माघ ३, २०७७ शनिबार २०:१६ बजे

काठमाडौँ : भारतले मिचेको नेपाली भूभागको समाधान र कोभिड-१९ भ्याक्सिन (खोप) उपलब्धताको आश्‍वासन बोकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्केका छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली गएका थिए ।

नेपाल-भारत संयुक्त आयोग बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका भए पनि उनको मूल उद्देश्य राजनीतिक सन्देश दिँदै सरकारको वर्तमान ‘पोजिसन’ प्रष्ट पार्नु थियो । उनले नेपाल फर्कनु केही घण्टा अघि भारतीय रक्षामन्त्री राजनाथ सिँहसँग भेट गरि सीमा समस्या समाधान र अन्य सहयोगको आश्‍वासन लिएका हुन् ।


संयुक्त आयोग बैठकमा भने सीमा सम्बन्धी विषयमा खासै पहल नभएको देखिन्छ । उक्त एजेण्डालाई भारतले धेरै चासो नदिएको देखिएको थियो । हुनत, संयुक्त आयोग बैठक अघि पनि भारतीय समकक्षी एस जयशंकरसँग उनले छलफल गरेका थिए ।

‘नेपालसँगको सीमाको विषयमा छलफल गर्नसक्ने छौं भन्‍ने जानकारी राजनाथ जीले दिनुभएको छ,’ ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारसँग भने, ‘सीमामा भारतको पोजिसन मैले भनिरहन पर्दैन । हामी सहमतिमा पुगेको अवस्था पनि होइन ।’

संयुक्त आयोग र भारतीय रक्षामन्त्री सिंहसँगको भेटपछि सबैभन्दा ठूलो उपलब्धी सुनाउँदै भने, ‘अब हामी सीमा समस्यालाई छिटो समाधान गर्ने प्रतिबध्दता व्यक्त गरेका छौं । जहाँ-जहाँ सिमांकन गर्न बाँकी छ । जुन भागमा सीमा सम्बन्धी विवादहरू छन्, तिनीहरुलाई छिटो टुंग्याउनको लागि दुवै पक्ष सहमत भएका छौ ।’ यसबाट स्पष्ट हुन थप्दै उनले अब दुवै मुलुकबीचको अन्य सीमांकनसहित सुस्ता र कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रमा समाधानको प्रक्रिया अघि बढ्ने अवस्था सिर्जना भएको बताए ।

नेपाल र भारतबीचको सीमा समस्या समाधान गर्न भारतको तर्फबाट प्रतिबध्दता व्यक्त हुनुलाई आफूले सकारात्मक रूपमा लिएको उनले बताए । परराष्ट्रमन्त्रीले यसो भनिरहँदा संयुक्त आयोग बैठकपछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा यो विषय उनले भनेको ढंगले उल्लेख भएको छैन ।

उनले राजनाथसँग ‘डिफेन्स कोअपरेसन’ को विषयमा पनि छलफल भएको  बताए । खासगरि विपत व्यवस्थापनमा कसरी सहकार्यका साथ अघि बढ्ने विषयमा छलफल भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको छांगु जाने सडकका लागि आवश्यक पर्ने विष्फोटकमा सडक पारि र वारिको समन्वय मिलाउने काममा पनि छलफल भएको बताए । यसमा दुई सेनाबीच पहिले नै सहमति भए पनि रक्षास्तरमा सहमति गर्ने काम भएको हो । रक्षामन्त्री स्वयं प्रधानमन्त्री केपी शर्मा ओली भएकाले पनि उनको सन्देश उनले राजनाथलाई व्यक्त गरेका हुन् ।

मन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्धलाई मजवुद बनाउन केन्द्रीत रहेको र त्यसमा आफूले सफलता पाएको समेत बताए । नेपाल भारत सम्बन्धका आर्थिक, राजनीतिक सांस्कृतिकलगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजवुद बनाउन तथा बिकास यात्रालाई सफल बनाउने बिषयमा भ्रमण केन्द्रीत रहेको बताए । 

मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताए । उनले भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप तीनवटा पुल बनाउने सहमती भएको पनि मन्त्री ज्ञवालीले बताए ।

अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको भन्दै त्यसमा नेपालले केही अनुदान र केही खरिदमा खोप लिने विषयमा छलफल भएको बताए । बैठकमा ट्रान्मीसन लाईन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्‍चेश्‍वर परियोजनाको डीपीआर गर्ने लगाएतका बिषयमा सहमति भएको धारणा उनले राखे । रक्सौल-काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भ अगाडि बढाउने पनि सहमति भएको बताए । उनी सबै विषय बताइरहँदा खिन्‍न झै थिए । उनको प्रारम्भिक तालिकामा मोदी भेट्ने कार्यक्रम भए पनि भेट हुन नपाएकाले खिन्‍न देखिएको परराष्ट्रका अधिकारीले बताए । 


Author

थप समाचार
x